२३ वर्षपछि भाग्यश्री
मुम्बई : एउटा भनाइ छ, १२ वर्षमा खोलो पनि फर्किन्छ। तर बलिउड नायिका भाग्यश्रीको फिल्म नगरीमा कमब्याक हुन त्यसको करिब दोब्बर समय लाग्यो।
फिल्म ‘थलाइवी’ मार्फत अभिनेत्री भाग्यश्री २३ वर्षपछि हिन्दी फिल्ममा फर्किंदै छिन्। अभिनेत्री कंगना रनावतको पनि मुख्य भूमिका रहेको ‘थलाइवी’ कलाकार तथा राजनीतिज्ञ जय ललिताको जीवनमा आधारित फिल्म हो। यसको ‘फस्ट लुक’ पहिला नै सार्वजनिक भइसकेको छ।
अभिनेत्री भाग्यश्रीले थलाइवी फिल्मको सेटमा खिचिएको आफ्नो तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममा सेयर गर्दै लेखेकी छन्, ‘फेरि काम गर्न पाउँदा म असाध्यै खुसी छु।’ परम्परागत भेषमा देखिएकी उनले क्रिम रङको साडी लगाएकी छन्। उनी काममा फर्केको खबर सार्वजनिक भएसँगै उनका फ्यानले शुभकामना दिएका छन्। ‘मैने प्यार किया’ फिल्म हिट भएपछि भाग्यश्री कुनै समय अभिनेता सलमान खानकी नायिका भनेर चिनिन्थिन्।