आईपीएलमा सट्टेबाजी खेलाएको आरोपमा सात जना पक्राउ
काठमाडौं : इन्डियन प्रियमिर लिग (आइपिएल) मा सट्टेबाजी खेलाएको आरोमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त कालिमाटीले भारतीय नागरिकसहित सातजनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा भारत घर भई कमलपोखरीस्थित होटल कोर्नाकको कोठा नम्बर १०५ बुक गरेर बस्ने कुलदिप शारण, भारतकै सञ्जिव शारण, भारत कानपुरका अजय गौतम, सिन्धुपाल्चोकका प्रदीप घिमिरे, काठमाडौं कुलेश्वरका उत्तम सापकोटा, सोल्टीमोडका अनिलकुमार बमसल र नवीन जैन छन्। प्रहरीले उनीहरुबाट एक लाख ८५ हजार एक सय २० रुपैयाँ बरामद भएको छ।
पक्राउ परेकाले आइपिएलमा अनलाइनमार्फत सट्टेबाजी खेलाएको प्रहरीको दावी छ। पक्राउ परेकामध्येका कुलदिप सट्टेबाजका नाइके भएको प्रहरीले जनाएको छ। कुलदिपले सट्टेबाज खेलाउनकै लागि होटल बुक गरेर बसेको जानकारी महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरेले दिए।