आउँदै, सरासर घर जाँदै
धनगढी : कैलालीको गौरीगंगाका डायमन्ड कलेलसहित ८४ जना सोमबार भारतको सिमलाबाट घर फर्किएका छन्। गौरीफन्टा नाकामा भेटिएका उनीहरूमध्ये आधाजसोले मास्क लगाएका थिएनन्। नाकामै अटो, विंगर (माइक्रो बस) बुक गरी उनीहरू सिधै घर हानिए।
जब कि भारत कोरोना भाइरस संक्रमितका हिसाबले विश्वकै दोस्रो स्थानमा छ। त्यस्तो जोमिखयुक्त मुलुकबाट आए पनि न क्वारेन्टाइनमा राखिएको छ न त सम्बन्धित व्यक्तिले स्वास्थ्य सावधानी अपनाएको देखिन्छ। नेपालमा कोरोनाको सुरुआती चरणमा क्वारेन्टाइनको व्यवस्थापन गरिएको थियो। त्यति बेला पनि हुल हुल नेपाली भारतबाट फर्किएका थिए।
‘दसैं सुरु हुन चार दिन मात्र बाँकी छ। को क्वारेन्टाइन बसोस्’, कलेलले भने, ‘यसअघि पनि २४ दिन क्वारेन्टाइन बसें। न पीसीआर भयो न त खान नै राम्रो पाएँ। दसैंका मुखमा को क्वारेन्टाइनमा बसोस्।’ कलेलको समूह चैतको लकडाउनका बेला भारतबाट नेपाल फर्केको थियो।
सिमलाका साहुले साउनमा स्याउ टिप्न बोलाएपछि उतै गएको थियो। अटो, विंगर वा अरु सवारी साधनले उनीहरूलाई छाडिसकेपछि स्वास्थ्य सुरक्षाका कुनै उपाय अवलम्बन गरेनन्। पाइए बाटोमै नभए धनगढी बजारमै भए पनि ती सवारी साधन अरु यात्रु बोकिरहेका छन।
‘बालबच्चा पाल्नै प¥यो। ६ महिनासम्म घरमै बसें। यही कमाइ खाने आधार हो। जोखिम भए पनि के गर्ने ? पेटका लागि जोखिमै मोलेर पनि सवारी चलाउनै पर्छ’, अटो चालक टेकराज भट्टले भने। उनले लकडाउन खुलेपछि अटोलाई एकपटक पनि विषाणुरहित बनाउने काम नगरेको सुनाए। ‘के ले पो मर्छ कोरोना ? थाहा छैन। अनि के छर्किने ? अटो चलाएदेखि डिसेन्ट्राइज गरेको छैन’, उनले भने।
उनले अब सरकारका नियम पालन गर्नेहरू आधा पनि नरहेको जिकिर गरे। ‘यस्तै हो भन्ने लागिरहेको छ। भारतबाट आएकाहरूलाई हेर्नोस् न, कतिले मास्कनै लगाएका छैनन’, उनले भने, ‘कसरी अरु मानिस सुरक्षित हुन्छन् ?’
बाजुराको त्रिबेणी नगरपालिका ७ छताराका गोपे चदारा परिवारसहित भेटिए। उनी भारतको राजधानी दिल्लीमा चौकीदारी गर्दा रहेछन्। लकडाउन सुरु हुनुभन्दा दुई महिनाअघि भारत गएका उनी दसैंका लागि बालबच्चासहित घर फर्किएको उनले सुनाए। ‘क्वारेन्टाइन बस्न कसैले केही भनेको छैन’, उनले भने, ‘अब सिधै घर जाने हो।’
भारतबाट फर्किरहेका नेपाली कोही पनि क्वारेन्टाइनमा बसेको देखिँदैन। सुदूरपश्चि प्रदेशको सामाजिक विकास मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसार प्रदेशभरी १ हजार २ सय ६९ जना क्वारेन्टाइन बसेका छन। भारतबाट दैनिक १ हजार ५ सयदेखि २ हजार जना आइरहेका छन्। त्यत्तीकै संख्यामा भारत पनि गइरहेका छन्।
गौरीफन्टा नाकामा प्रवेश गर्ने बिन्दुमा भदौबाट कञ्चनपुरका सुरक्षाकर्मी खटिएका छन। भारतबाट फर्किनेहरू १०–१५ मीटरमै कैलालीमा प्रदेश गर्छन। त्यसपछि उनीहरूको, गन्तब्य यात्राको ब्यवस्थापन कैलाली प्रसासनले गराउदै आएको छ। तर लकडाउनका बेलाजस्तो सीमाबाट सिधै क्वारेन्टाइन लैजाने क्रम बन्द भएको छ। बस समितिहरूले, सीमामै बसहरू राखे पनि धेरै नागरिक अटो, विंगरजस्ता साना सवारी साधनमै गन्तब्य जान थालेपछि जोखीम बढेको छ।
‘भारतबाट स्वदेश फर्केका नागरिकका लागि हामीले सीमा क्षेत्रमै बसको ब्यवस्था गरेका छौं’, सुदूरपश्चिम यातायात प्रालीका अध्यक्ष पदम सापकोटाले भने, ‘तर अहिले कोरोनाको डर मरिसकेकाले मानिसहरू सीमाबाट अटोमा आएर बसपार्क पनि आउने गरेका छन। जस कारण जोखिम उच्च भएको छ।’
लामो दुरीको यातायात खुलेपछि को भारतबाट आएको हो ? को कसको कन्टयाक्टमा छ ?
कसैलाई केही पनि थाहा छैन। सबैले मनपरि हिसाबले यात्रा गरिरहेका छन्।
बरिष्ठ फिजिसियन डा. शुभेषराज कायस्थले दसैं तिहारका बेला सबैभन्दा बढी संक्रमण फैलिने खतरा रहेको बताए। ‘भारतबाट आएकाहरूलाई क्वारेन्टाइन छैन। होम आईसोलेशनमा बसेकाहरू सबैले इमानदारीका साथ घरमा बसेका छैनन’, डा. कायस्थले भने, ‘सम्पर्कमा आएका ब्यक्तिहरू आईसोलेट पनि भएका छैनन। यस्तोमा संक्रमणको दर उच्च हुने नै भयो।’
उनले दशैं र तिहारका बेला भारतबाट फर्किनेहरूका कारण कोरोनाको उच्च जोखिम रहेको बताए। ‘भारतमा दैनिक ८० हजार कोभिडका केस डायग्नोसिस भइरहेको छ। त्यसमै दशैंका लागि फर्किने नेपालीको लर्को छ’, उनले भने, ‘नेपालमा उनीहरूका लागि क्वारेन्टाईनको भरपर्दो ब्यवस्था छैन। अनी दशैं तिहारका बेला एकअर्कोको सम्पर्कमा पनि बढी जाने गर्छन्। यसले अवस्था गम्भिर हुनसक्छ।’
सुदूरपश्चिममा आइतबारसम्म ९१ हजार ३ सय ६८ जनाको स्वाब जाँच गरिएकोमा ८ हजार ४६ जना संक्रमित पुष्टि भएका छन। प्रदेशभरी आईतबारसम्म ११ सय ६३ जना संक्रिय संक्रमित छन भने १९ जनाको ज्यान गएको छ।