नीतिमा होस् कांग्रेस बहस
नीतिमा केन्द्रित भयौं भने नेतृत्वबीचको आपसी झैझगडा, व्यक्तिवादी चरित्र र विकृति न्यूनीकरण हुन्छ
नेपालका राजनीतिक दलहरूमध्ये जेठो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस नीति र नेतृत्व चयन गर्ने महत्वपूर्ण महाधिवेशनको पूर्वसन्ध्यामा उभिएको छ। पार्टी स्थापनाकालदेखि हालसम्म ७७ वर्षको लामो इतिहासमा अनेकौं संघर्ष, शान्ति र संविधान निर्माण, संरक्षण र सम्बद्र्धनको नेतृत्व लिएको कांग्रेस संघीयता कार्यान्यवनपछि प्रतिपक्षमा उभिएको छ। मुलुकसामु थुप्रै चुनौतीका चाङ छन्। एकातर्फ पार्टीको राष्ट्रिय महाधिवेशन गर्नुपर्ने अहं दायित्व छ भने अर्कोतर्फ जनताको जीवनरक्षा र जनजीविकाको सम्बोधन। कोभिड–१९ ले थला पारेको विषम परिस्थितिमा फागुनमा हुने कार्यतालिका प्रभावित भई अर्को कार्यतालिका अनुरूप महाधिवेशन तयारीमा जुट्नुपर्ने अवस्था छ। यसबीचमा अब कांग्रेसको नेतृत्व कसले लिने भन्ने बहस सुरु भएको छ, तर समग्र मुलुक र जनताका लागि अब कांग्रेसले लिने नीति कस्तो हुने भन्ने बहसले प्राथमिकता नै पाएको छैन। कांग्रेसमा आमूल रुपान्तरणको खाँचो छ जसका लागि पार्टी निर्माणको स्पष्ट मार्गचित्र एवं नीतिगत स्पष्टता आवश्यक छ।
नयाँ संकल्प, प्रतिबद्घता, नयाँ सोच र दृढ इच्छाशक्तिका साथ अप्ठेरो परिस्थितिमा पनि समस्यासँग जुध्ने र राष्ट्रको नेतृत्व लिन सक्ने कांग्रेस पार्टी बनाउन नेतृत्वलाई होइन नीतिलाई प्रधान ठान्ने दूरदर्शी नेताको खाँचो छ।
हरेक पार्टीको अभीष्ट सत्तामा पुग्ने हुन्छ। सत्तामा पुग्नका लागि त्यस पार्टीले लिने नीति, विधि, पद्धति, कार्ययोजना, जनताप्रतिको जिम्मेवारी र दायित्व आदिले नै प्रमुख भूमिका खेल्छन्। प्रतिपक्षमा उभिएको बेला हुन लागेको चौधौं महाधिवेशनमा नीतिगत बहसलाई प्राथमिकता दिन सक्यौं भने मात्र त्यसलाई हाँक्ने नेतृत्व स्वतः हाम्रोसामु आइपुग्छ। राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई मूलमन्त्र मानी लोकतन्त्र प्राप्ति र जनताको सार्वभौमसत्ताका लागि कांग्रेसले निर्वाह गरेको भूमिका महत्वपूर्ण छ। फेरि मुलुक कांग्रेसतर्फ आशावादी बन्दै गएको छ तर नेतृत्व भने कसरी सभापति र पदाधिकारी बन्ने भन्ने रसाकस्सीको दौडमा मात्र सीमित हुन पुगेको छ। यो मुलुक र पार्टीको भविष्यका लागि घातक छ।
नेपाल आन्तरिक र बाह्य गरी दोहोरो रूपमा बहुपक्षीय द्वन्द्वतर्फ उन्मुख छ। कोरोना महामारीका साथै आफूभित्र अनेकौं चुनौती र दुश्चक्रमा फस्दै गएको छ। महाव्याधिमा पनि सरकार अकर्मण्य र असंवेदनशील हुँदा आम नागरिक निराश भएका छन्। नागरिकले अभिभावकत्व खोजिरहँदा कांग्रेसले भने सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न पनि सकेको छैन। वर्तमान नेतृत्व महाधिवेशन कसरी गर्ने, कसले नेतृत्व लिने भन्ने छटपटीमा मात्र केन्द्रित हुँदा आन्तरिक द्वन्द्व, वैमनस्यता मौलाएको छ। केही असन्तुष्टिका स्वर सतहमा पोखिएका छन्। अबको बहस कांग्रेसले नागरिकलाई हेर्ने दृष्टिकोण, सबैलाई समेट्ने नीति, जिम्मेवारी र दायित्वलगायत प्रमुख मुद्दामा हुनुपर्छ।
कांग्रेसको विगतको भूमिका
२००७ सालको युगान्तकारी परिर्वतनसँगै २०७७ सालसम्म आइपुग्दा कांग्रेस तत्कालीन र दीर्घकालीन रणनीति र कार्ययोजनाको आधारमा विजय र पराजयको भागीदार भएको छ। पार्टी स्थापनाकालमा प्रजातान्त्रिक व्यवस्थाको स्थापना उद्देश्य भए पनि वि.सं. २०१२ सालमा प्रजातान्त्रिक समाजवाद कांग्रेसको सैद्धान्तिक आधार तय भयो। वि.सं. २०१५ सालमा कांग्रेसले फराकिलो बहुमत प्राप्त गर्नुको कारण राणाशासनविरुद्ध स्पष्ट नीतिगत व्यवस्था र बीपी कोइरालाको नेतृत्व एवं उनको समाजवादी कार्यक्रम नै थियो। वि.सं. २०४८ सालमा कांग्रेस सरकारमा पुग्नेमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको सफल नेतृत्व एवं ३० वर्षीय पञ्चायती शासन अन्त्यका लागि कांग्रेसले खेलेको अहं भूमिका नै थियो। २०५१ सालको मध्यावधि निर्वाचनमा कांग्रेस पार्टीभित्र नीतिगत बहसभन्दा आन्तरिक खिचातानी बढी हुनुले संसद्मा दोस्रो ठूलो दल हुन पुग्यो। २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा पनि दोस्रो हुन पुग्यो। तत्कालीन माओवादी सशस्त्र संघर्षको ्धङधङी सकिएको थिएन। त्यसैले कांग्रेस अगाडि आउन सकेन। तर पहिलो संविधानसभा संविधान दिन असफल भयो। २०७० सालमा कांग्रेस सत्तामा पुग्न सफल भयो। उसैको नेतृत्वमा मुलुकले संविधान प्राप्त गर्यो तर २०७४ को निर्वाचन गराएर संघीयता कार्यान्वयन गर्ने बेलामा कांग्रेस आज प्रतिपक्षमा उभिन पुगेको छ। त्यसैले कांग्रेसलाई पुरानै अवस्थामा पुर्याउने हो भने पार्टीलाई नीति र भविष्यमुखी तथा राष्ट्रलाई समृद्ध बनाउने अभियानलाई अब नेतृत्वले प्राथमिकता दिनुपर्छ।
नीतिको आवश्यकता किन ?
मान्छे भनेको विचारले प्रेरित हुने, विचारले संगठित हुने, नीतिले आकर्षित हुने, क्रियाशील प्राणी हो। त्यसैले जनतालाई सुखसुविधा दिन, अन्याय हुन नदिन, समस्याबाट जोगाउन र असमानताको खाडल अन्त्य गर्न विभिन्न नियम, व्यवस्था, ऐन, कानुन र प्रक्रिया तय गरिएका हुन्छन्। यस प्रक्रिया अवलम्बन गरी जनतालाई आकर्षित गर्ने विधि नै नीति हो। नीति र विधिले नै पार्टीमा ऊर्जा, जीवन्तता, गतिशीलता, संगठनमा सशक्तता आउने गर्छ। त्यो संगठनलाई चलायमान बनाउने नेतृत्व पनि सुदृढ, सशक्त र प्रभावकारी हुनुपर्छ। नेतृत्वमा शिथिलता, अस्पष्टता र दुविधा प्रकट भयो भने नीति ओझेलमा पर्न जान्छ र नेतृत्वमा व्यक्तिवादी चरित्र हावी हुन पुग्छ। संगठन कमजोर भयो भने त्यसलाई क्रमशः बढाउन सकिन्छ तर नीति र विधिले प्राथमिकता पाएन भने त्यो पार्टीको भविष्य अन्धकार हुन्छ। नेपाली कांग्रेस भन्नेबित्तिकै बीपीको गरिब जनता र किसानमुखी एक हल गोरु, एउटा गाई र सानो घर भन्ने नीतिलाई सम्झने गरिन्छ। त्यो कुरा कांग्रेसले चुनावमा मात्र सम्झने र सरकारमा जाँदा बिर्सन्छ भन्ने आरोप लागेको छ, यसबाट अब कांग्रेस मुक्त हुन जरुरी छ। त्यसैले कांग्रेसले बीपीका तीन मुख्य केन्द्र लोकतन्त्र, समाजवाद र मेलमिलापलाई चाहे सरकारमा जाँदा होस् वा बाहिर रहँदा, पार्टीको राजनीतिक जीवनमा आत्मसात् गर्न सक्नुपर्छ। तब मात्र जनताको केन्द्रविन्दु कांग्रेस बन्न सक्छ। त्यसैले अब संकल्प, प्रतिबद्धता, नयाँ सोच र दृढ इच्छाशक्तिका साथ अप्ठ्यारो परिस्थितिमा पनि समस्यासँग जुध्ने र राष्ट्रको नेतृत्व लिनसक्ने कांग्रेस पार्टी बनाउन नीतिलाई प्रधान ठान्ने दूरदर्शी नेताको खाँचो छ।
नीतिमा किन केन्द्रित हुने
कांग्रेसले इतिहासमा धेरै परीक्षा दिइसकेको छ। हरेक परिवर्तनमा कांग्रेसको नेतृत्वदायी भूमिकाले सन्तोषजनक परिणाम पनि प्राप्त भएका छन्। अबको परीक्षाको घडीमा पनि कांग्रेस सफल हुन मुलुकलाई नयाँ मार्ग प्रशस्त गर्न, चुनौतीको सामना गर्ने सामथ्र्य राख्न, जनताका आशा र भरोसालाई बर्करार राख्न र कांग्रेसलाई पुनर्जीवन दिन नेतृत्वमुखीभन्दा नीतिमुखी पार्टी बनाउनु आजको आवश्यकता हो। त्यसैले नीतिमा केन्द्रित भयौं भने नेतृत्वबीचको आपसी झैझगडा, व्यक्तिवादी चरित्र र विकृति न्यूनीकरण हुन्छ। नीति स्पष्ट भयो भने नेतृत्व स्वतः सफल हुन्छ। जनताको सरोकार नीति हो, कुन नेता आउँछन् भन्ने होइन। पार्टीले लिएको नीतिको आधारमा नै जनताले समर्थन र विरोध गर्छन् र निर्वाचनमा मत प्रकट गर्छन्। नीतिलाई प्राथमिकता दियौं भने व्यक्तिवादी चरित्र र गुटबन्दीमा न्यूनीकरण हुन्छ।
त्यसैले कांग्रेसको अबको प्राथमिकता विकल्प होइन संकल्प, आश्वासन मात्र होइन प्रतिबद्धता, नेतृत्वको बहस मात्र होइन नीतिगत बहसको प्रारम्भ हो। व्यक्तिवादी होइन, नीति र विधि प्रदान पार्टी बनाउन सक्यौं भने विद्यमान दण्डहीनता, भ्रष्टाचार, बेथितिविरुद्ध लड्न तागत मिल्दछ र पार्टीका नेता तथा कार्यकर्तामा पनि सहमति, सहकार्य र एकताको भावना जागृत हुन्छ।