नापी भएको ३२ वर्षपछि जग्गाधनी प्रमाणपत्र
अछाम : कालो कोट,खैरो दाउरा सुरुवाल,हातमा पन्जा र मुखमा मास्क लगाएका एक वृद्ध लौरीको सहारामा पीपलचौर मावीको प्राङ्गणमा यताउती हेर्दै हिँडिरहेका थिए। उनी घरी कुर्सीमा बस्थे । घरी लालपुर्जा वितरण भइरहेको ठाउँमा पुग्थे । सोमबार उनले जीवनमा नसोचेकै भयो । उमेरले ८५ वर्ष कटेका मेल्लेख गाउँपालिका–३ ठाँटीका चक्रबहादुर शाह सोमबार जग्गाधनी पुर्जा लिन विद्यालय पुगे ।
जीवनको उत्तरार्धमा पुगेका उनले लालपुर्जा पाए । गाउँमा लालपुर्जा पाउने हल्ला चलेको थियो । उनलाई यो कुराका विश्वास नै लागेको थिएन । ३२ वर्षदेखि भोगचलन गर्दै आएको जग्गाको उनी सोमबार मालिक बनेका छन् ।
हातमा समातेको जग्गाधनी पुर्जा देखेर उनी दंग थिए । उनले भने, 'निकै खुशीको लागेको छ । लालपुर्जा देखेकै थिएनौं, लालपुर्जा देख्छौं भन्ने त आस पनि थिएन । मर्ने बेला लालपुर्जा देख्न पाइयो उनले फिस्स हाँस्दै भने सर्बस्व पाएजस्तै भयो,कानुनी रूपमा हामीसँग नागरिकता छ तर बसोबास गरेको घरजग्गाको लालपुर्जा थिएन, अब आफ्नो घरजग्गाको मालिक बनियो।'
मन्दिरी देवी बुढा ७६ वर्षकी भइन् । राम्रोसँग हिँड्न र सुन्न नसक्ने उनी लौरीको सहाराले छोरासँगै लालपुर्जा लिन आइकी थिइन । चाउरी परेको अनुहार भरी लालपुर्जा पाउने चमक थियो । उनी हास्दै सबैलाई आज त लापुर्जा पाउने भन्दै थिइन । उनले भनिन्, ‘हामीले त सपना पनि सोचेका थिएनौं, लालपुर्जा पाउँछौं भनेर । चुनावमा भोट हाल्ने बेला लालपुर्जा दिन्छौं भनेका थिए । त्यत्ति बेला विश्वास लागेन । अहिले हातमा लालपुर्जा देख्यौं । सबैलाई धन्यवाद'
धौले नेपालीको श्रीमती बितेको ७ दिन भयो । श्रीमतीको किरियामा बसेका उनी लालपुर्जा लिन विद्यालय पुगेका थिए । श्रीमती बितेको पिडासँगै लालपुर्जा पाउने मन्द खुशी उनको अनुहारमा देखिन्थ्यो । लालपुर्जा पाउने कुराले पीडामा केही खुशी थपेको उनले सुनाए । उनले भने, 'उपचार गर्दागर्दै पनि श्रीमतीलाई बचाउन सकेन, दु:खमा थिए । वर्षौंदेखिको लालपूर्जा पाउने सपना पुरा भएकोमा खुशी लाग्यो।'
लालपुर्जा नहुँदा गाउँपालिकाले निकै समस्या भोग्नु परेको गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराले बताए । निकै ठूलो प्रयासपछि लालपुर्जा दिलाउन सफल भएको र चुनावमा गरेको एउटा महत्वपूर्ण बाचा पनि पुरा गरेको उनले बताए । उनले भने, 'ठाँटीमा सुविधा सम्पन्न स्वास्थ्यको भवनका लागि बजेट आएको थियो तर लालपुर्जा नहुँदा भवन निमार्ण नै गर्न सकेनौं यस्ता थुप्रै समस्या झेल्नु पर्यो।' वडा नम्बर ३ कुस्कोटमा पनि केही घरपरिवार लालपुर्जाबिहीन छन् त्यसका लागि पनि पहल भइरहेको बोहराले बताए ।
३२ वर्षसम्म तीनपटक जग्गाको नापजाँच हुँदा पनि ठाँटीका स्थानीयले धनीपुर्जा पाउन सकेका थिएनन्। ४०७ घरधुरीले कानुनी रूपमा जग्गा कारोबार गर्न पाएका थिएनन् । तत्कालीन ठाँटी गाविसमा २०४५ र ४६ मा पूरै जग्गा नाप नक्सा कार्य सम्पन्न भएको थियो।
श्रीमतीको किरियामा बसेका धौले नेपालीलाई लालपुर्जा हस्तान्तरण गर्दे गाउँपालिका अध्यक्ष लोकबहादुर बोहरा ।
तर, छिमेकी साबिको कुस्कोट गाविससँग सीमा विवाद हुँदा जग्गा दर्ता रोकिएको थियो। तत्कालीन दुई गाविस बीचको भेलाबाट ०५५ मा आधा–आधा जग्गा लिने सहमति भएको थियो ।
०५५ मा सबै जग्गाको नाप, नक्साको काम सम्पन्न भएको ठाँटीका शेरबहादुर शाहले बताए । मालपोत कार्यालयले जग्गा दर्ताका लागि सातदिने सूचना निकालेको थियो। मालपोत जाँदा कार्यालय प्रमुख नहुँदा दर्ता हुन नसकेको थिएन । देशमा सशस्त्र द्वन्द्व चल्यो।
०५८ मा सदरमुकाम ध्वस्त हुँदा भए भरका सबै प्रमाण नष्ट भए । उनले भने, 'लालपुर्जा नहुँदा समस्या भएको थियो अब सहज हुने भयो ।' माओवादीले आक्रमण गर्दा जिल्ला सदरमुकाममा रहेको नापी, मालपोत कार्यालय ध्वस्त भएको थियो। जग्गासम्बन्धी अभिलेख नष्ट हुँदा दर्ता प्रक्रिया अवरुद्ध बनेको थियो।