रामेछापमा थप २३ जनामा कोरोना भाइरस संक्रमण
काठमाडौं : रामेछापमा एकैदिन थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले मंगलबार ११ जना महिला र १२ जना पुरुष गरी २३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।
उनीहरु सबैको जिल्लाबाट स्वाब संकलन गरेर पीसिआर विधिबाट परीक्षण गर्न प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला धुलिखेल पठाइएको थियो।
थापाका अनुसार मन्थली नगरपालिका- १ का पुरुष ७ जना (४९,४६,१९,३२,२४,२४,५८ वर्षीय) र महिला १० जना (४५,३९,२६,१३,३५,२४,३६,१५,५४,२८ वर्षीया) गरी १७ जना, वडा नं. ८ का ७१ वर्षीय पुरुष, वडा नं. १२ को २१/२१ वर्षीय पुरुषलाई कोरोना संक्रमण देखिएको छ। योसँगै मन्थली नगरपालिकामा मात्रै २० जनामा कोरोना भाइरस संक्रमित थपिएका छन्।
त्यसैगरी लिखु तामाकोसी गाउँपालिका-१ को ३४ वर्षीया महिला, वडा नं ६ को ३९ वर्षीय पुरुष र सुनापति गाउँपालिका-५ का एक शिक्षकमा कोरोना संक्रमण देखिएको छ।
मंगलबार मन्थली नगरपालिका-८ चिसापानीका वडाअध्यक्ष राजकुमार श्रेष्ठ, वडा सचिव लगायतलाई पनि संक्रमण देखिएको छ। स्वास्थ्य कार्यालयका अनुसार संक्रमण देखिनेमा प्राथमिक स्वास्थ्य केन्द्रका एक जना, नेपाल विद्युत प्राधिकरणका एक जना, राष्ट्रिय वाणिज्य बैंक मन्थलीका दुई जना, तामाकोसी बोर्डिङ मन्थलीका दुई जना, लिखु हाइड्रोपावर-३ सिरिसेका दुई जना कर्मचारीसमेत रहेका छन्।