बलिउड अभिनेत्री कंगना रनौतविरुद्ध मुद्दा दायर
नयाँदिल्ली : बलिउड अभिनेत्री कंगना रनौतविरुद्ध कर्नाटाकस्थित तुमकुरु जिल्ला प्रहरीमा मुद्दा दर्ता भएको छ ।
प्रहरी अधिकारीका अनुसार कंगनाको एक ट्वीटर अभिव्यक्तिका कारण उनीविरुद्ध शुक्रबार मुद्दा दर्ता गरिएको हो । तुमकुरुको पहिलो तहको न्यायिक मेजिस्ट्रेटको अदालतका वकिल रमेश नाइकले मुद्दा दर्ज गरेका थिए ।
सीआरपीसीको धारा १५६ (३) अन्तर्गत उनीविरुद्ध मुद्दा दायर गरिएको बताइएको छ । हालै नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले लागु गरेको कृषि विधेयकबारे कंगनाले ट्वीट गरेकी थिइन् । सोही विरुद्ध मुद्दा दर्ता भएको हो ।
कंगनाले ट्वीटरमा लेखेकी थिइन्, ''प्रधानमन्त्री जी, कोही सुतिरहेको छ भने उसलाई उठाउन सकिन्छ । गलत बुझाइ हुनसक्छ । उसलाई सम्झाउन सकिन्छ । तर जो सुतेको अभिनय गरेको हुन्छ, नसम्झिएको अभिनय गरेको हुन्छ, उसलाई तपाईँले सम्झाउदैमा के फरक पर्ला र ? यो उही आतंकी हो, सीएए (संशोधित नागरिकता कानुन) बाट एक जनाको पनि नागरिकता गएन बरु उनीहरुले रगतको नदी बगाइदिए ।'
नाइकले भने उक्त ट्वीटबाठ आफ्नो भावनामा ठेस पुगेको बताए । यसपछि नै नाइकले कंगनाविरुद्ध मुद्दा दायर गरेका थिए । कंगनाले पछिल्लो समय सामाजिक सञ्जाल र मिडियामा मोदी सरकारको प्रशंसा र बचाउ गर्न थालेकी छन् ।
सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा भने उनी विवादित पनि बनिन् । सुशान्तकी पूर्वप्रेमिका रिया चक्रवर्तीमाथि कंगनाले हत्याको आरोप लगाएकी थिइन् । जुन सावित हुन सकेन । यसवाहेक सार्वजनिक बहसमा खुलेर सरकारको प्रशंसा गर्दैआएकी छन् । जब कि केही वर्षअघिसम्म उनी मोदी सरकारको विरोध गर्ने गर्थिन् ।