अनाम फिल्ममा आयुष्मानसँग वाणी
मुम्बई : बलिउड अभिनेत्री वाणी कपुर आफ्नो आगामी फिल्मको सुटिङका लागि चण्डिगढतर्फ लागेकी छन्। यो अनाम फिल्ममा उनको अपोजिटमा आयुष्मान खुराना देखिनेछन्। यो फिल्मको निर्देशन अभिषेक कपुरले गर्दै छन्। अभिषेकले ‘रक अन र केदारनाथ’जस्ता क्लासिक फिल्मको निर्देशन गरिसकेका छन्।
यो फिल्मको सुटिङ चण्डिगढबाट सुरु हुँदैछ। सुटिङका लागि वाणी घरबाट हिँडिसकेकी छन्। त्यहाँ पुगेर क्वारेन्टाइनमा बस्नुपर्ने भएकाले पनि उनी पहिले नै घरबाट हिँडेको बताइएको छ। वाणी पहिलोपटक आयुष्मानको अपोजिटमा देखिन लागेकी हुन्। उनको यो जोडी २०२१ मा पर्दामा देखिने बलिउडको नयाँ अनस्क्रिन जोडी हुनेछ।
वाणीले भर्खरै फिल्म ‘बेलबटम’को सुटिङ सकाएकी छन्। यो फिल्ममा उनी अक्षय कुमारको अपोजिटमा देखिने छिन्। अब उनी आयुष्मान अभिनीत यो अनाम फिल्ममा काम गर्न लागेकी छन्। यो एउटा प्रोग्रेसिभ लभ स्टोरी फिल्म हुने बताइएको छ। वाणीले यो फिल्मका लागि निकै तयारी गरिरहेकी छन्। उनी निर्देशक अभिषेक कपुरसँग काम गर्न पनि निकै उत्साहित देखिएकी छन्।
फिल्मका बारेमा वाणीले भनिन्, ‘यो मनलाई छुने निकै प्यारो फिल्म हो। म अभिषेकसँग काम गर्न चाहन्थेँ किनकि उनका फिल्मले मलाई निकै प्रभावित पारेका छन्। यस्तै आयुष्मान हाम्रो पुस्ताका प्रतिभाशाली कलाकार हुन्। उनीसँग काम गर्न पाउनु पनि मेरा लागि राम्रो अवसर हो।’