संरक्षित हुँदैन अहंकारी शक्ति
इतिहासको सँघारमा उभिएर तमासे र रमिते बन्ने छुट कसैलाई पनि हुँदैन।
घुम्दैफिर्दै रुम्जाटार। बालुवाटार, खुमलटार, कोटेश्वर, सिंहदरबार, धुमबाराहीबाट सुर्खेत यात्रा गर्दै नेपाली राजनीति फेरि काठमान्डु फर्किसक्यो। खेलका खेलाडीभन्दा पनि बुख्याचा फिस्स। नेपाली सत्ता राजनीतिको कार्य, कारण र परिणामबारे विश्लेषण गर्नु स्वयं लाजमर्दो विषय बन्यो। अहिले न राजनीतिक ज्योतिषका धुलौटो काम गर्छ न गुगल ब्वाय आदित्य दाहालले नै भविष्यवाणी गर्न सके।
लोकतान्त्रिक गणतन्त्र अहिले बनाना रिप्लबिकमा फेरिँदै जाँदा ओ हेनरीको झझल्को नेपालमा हुँदैछ। त्यसको चरित्र र अवस्थाबारे अमेरिकी लेखक ओ हेनरीको सन् १९०४ मा क्याबेज र किस पुस्तकको काल्पनिक राज्य अंकुरियामा सुन्दर प्रस्तुति गरे। बनना रिपब्लिकमा धेरै कुराको निर्णय युनाइटेड फ्रुट कम्पनी र स्ट्यान्डर्ड फुड कम्पनीले गर्थ्यो, स्थानीय नेतृत्व त उनका कारिन्दा मात्र बन्थे। मध्यअमेरिकाको होन्डुरस, ग्वाटेमालाको अवस्था चित्रण गरे पनि यो कमजोर, अस्थिर र सामरिक रूपमा संवेदनशील देशहरूमा विभिन्न आवरणमा विदेशी शक्ति नियन्त्रित सरकारको थियो र हो। शक्तिको टसल, राजनीतिज्ञहरूका व्यवहार, अहंकारको भिडन्तले एउटा लोकतान्त्रिक गणतन्त्र पत्तै नपाई बनना रिपब्लिकमा फेरिने गर्छन्।
महामारीमा पनि समीक्षित र भल छोप्नेहरू
कोरोना महामारीले विश्व एउटै बहस, चिन्ता, आतंक र प्रतिरोधमा कतिपय पहिलाका मान्यता, विश्वास र अभ्यास भत्किए, फेरिए। कतिको सोच र भूमिकाले क्रमभंग गर्यो वा बिर्सियो ! कतिपयले यस संकटलाई स्वार्थ र अवसरका रूपमा लिए भने अहंकारी शासकलाई भने कर्तुत लुकाउने शीर्षक पनि बन्यो। तर संवेदनशील मान्छे मृत्युको सँघारबाट फर्केपछि जीवनकै गम्भीर आत्मसमीक्षा पनि गर्दोरहेछ।
बनना रिपब्लिकको एउटा अंग बनेको न्यायकर्मीको हैसियतमा लामो समय बीबी सिंहले पुलिसको मुद्दाफाँटमा सत्ता चरित्रको नांगो अनुभूति गर्दै बिरक्तिएर साँचो अर्थको न्यायकर्मी बन्न वकालत व्यवसाय अँगाले। त्यो त झन् अपराधको ड्राइकिल्नर्स र सिन्डिकेट न्याय पो रहेछ। देखे भोगेपछि छक्क मात्रै परेनन्, स्वयं पेसाप्रति बिरक्तिए पनि। कोरोनाकालमा मृत्यु हुने ६ सय ६३ जनामध्ये उनीसँगै एउटै वार्डका ६ जना पनि थिए। सो वार्डको बच्नेमा उनी मात्रै।
सरकारी अभिभावकत्व, जीवनको विश्वास दिलाउन र आशा जगाउन सकेको भए चैतदेखि पाँच हजार सात सय ८७ जना निराश भएर आत्महत्या गर्र्दैनथे।
हुन त १,१५,३५८ बिरामीमा ७८,७९० सिंहजस्तै कोरोनामुक्त भए पनि सँगैका ६ जनाको मृत्यु, सकसपूर्ण दुई हप्ता, त्यसले पारेको असरले सिंहलाई भने जीवन र मृत्यु, आफ्ना सुकर्म र आदेशमा भएका कुकर्मको निर्मम स्वसमीक्षा गर्न प्रोत्साहित गरायो। सरकारी पार्टीका बौद्धिक सिंहले सरकार, समाज र सत्ताचरित्रलाई अस्पतालको बेडबाट अझ नांगो देखे, भोगे र विश्वासमा बज्र प्रहार भयो। तब नवजिन्दगीमा नयाँ परिभाषा खोज्दै नयाँ दायित्व खोजीमा रन्थनाएको एउटा यो दृष्टान्त मात्रै हो।
तर सिंहजस्तै के सबै स्वसमीक्षित हुन वा मर्नपर्छ, दायित्व निर्वाह गर्नुपर्छ भन्ने शासक, प्रशासक, सामाजिक अगुवा र प्रजा बन्न अस्वीकार गर्ने नागरिकले सोच्न थाले त ! अथवा नसोच्नु बनना रिपब्लिकको सहज चेतले पैदा गरेको भय, लालसा, स्वार्थ, अहंकारले गर्दा हो ! वा इतिहासको निर्ममता नबुझ्नाका कारण। नत्र कोरनाले ६ सय ६३ को ज्यान जाँदा देशमा ७ सय १८ बलात्कारका घटना हुँदैनथ्यो। सरकारी अभिभावकत्व र जीवनको विश्वास दिलाउन र आशा जगाउन सकेको भए चैतदेखि पाँच हजार सात सय ८७ जना निराश भएर आत्महत्या गर्र्दैनथे। संकटलाई अवसर सोच्ने बनना रिपब्लिकमा अभ्यस्त भएकाले म यहाँ वैधानिक र सिन्डिकेट भ्रष्टतन्त्रबारे थप केही भनिरहँदिनँ। छेके पनि छर्लंग।
मौनताको दशक
यो शताब्दीको हरेक दशक नयाँ सोचसहित आन्दोलित हुन्थ्यो। राजनीतिक उथुलपुथलका घटना हुन्थे। समयको समीक्षासहित राजनीतिक हस्तक्षेपले सामाजिक तरंग छाउँथ्यो। सत्ताचरित्रै फेर्ने आशाका यस दुईदशक भने समय र समाज मौन छ। यो मौनतालाई सत्ता र सरकार या बुझ्दैन या आपूmप्रति जनसमर्थन सोच्छ, तर ज्वालामुखीको क्रेटरमा सुनसान हैन हलचल छ। अग्रगमनभन्दा पतनमार्गमा बढिरहेको अवस्था भुमरी पहिलाको शान्त परिवेश मात्र हो। लोकतान्त्रिक गणतन्त्र बनना रिपब्लिकमा फेरिँदा शिक्षित र राजनीतिकर्मी त बढे तर चेतना र अभियान भने चिसियो, ध्वस्तखेलमा फेरियो। कसैले दायित्व उठाउनु नपर्ने र संकटको भेल छोप्नेका मैमत्तता क्लेप्टोक्रेसीकोे पहिलो आक्रमण संवेदना, स्वत्व र दायित्वमाथि गर्छ भने बौद्धिक तप्कालाई हिजडा बनाएर आसे समाजमा फेरिदिन्छ। त्यसको पहिलो सिकार क्रान्तिका सन्तान खलपात्र बन्छन्।
हरेक माकुराका बच्चाले आफ्नै आमा पहिला चपाउँछ भने सर्पले आफ्नै सन्तान हसुर्छ। इतिहासले भने कबुल बिर्सने नायकलाई नै खलनायक बनाएर हिसाबकिताब असुली गर्छ। जब असंगत र विकृति सहज र सामान्य मानिन थालिन्छ तब बुझे हुन्छ– उपलब्धिको रक्षा र विकास त हुनै सकेन बरु अवस्था पतनमार्ग पछ्याउँदै छ भन्ने कुरा। यस्तो बेला संकेत र संवेदनाको अर्थ हराउनु स्वाभाविकै बन्छ। कल्कल बग्ने नदीभित्रै झ्याउ पनि उम्रिन्छन्। गुराँस र चिमालोका रूख एउटैजस्तो देखिन्छ, फुल्दा मात्र चिनिन्छ– चिमालो सेतो र गुरास रातो। चिमालो विष हो भने गुराँस सुन्दर र औषधि। हैसियतवालाका औकात देखिने भनेको संकटकै बेला हो। आदर्श नै ध्वस्त भएपछि नांगो देखिन कसैलाई पनि लाज र घिन हुँदैन। सोसल मिडिया वास्तवमै भौतिक समाजको छायाँ हुन्छ। यो दशकका सबै वर्ग, समुदाय, सोच, भूमिका र सपना त्यहाँ देखिन्छन् तर आँखा भएका अहंकारी धृतराष्ट न त्यो देख्न सक्छ न उसका वरिपरी सञ्जय र विदुर नै हुने गर्छन्।
मौनताको दशकले दिएको शिक्षा भनेको मान्छे आफ्नो दुःखले जति दुःखी हुँदैन, त्योभन्दा पनि दुःखी अर्काको सुख देख्दा हुँदोरहेछ। त्यही सुख हरण नित्यकर्ममा फेरिँदो रहेछ। सत्ताचरित्र पिरामिडजस्तो छ। सिस्टमकै ध्वस्तता नै पिरामिड व्यवस्थाको चरित्र हो। हीनताबोध उच्चताबोधमा फेरिएपछि अहंकारको व्यवस्थापन बदलाभावमा हुने गर्छन् भने कोषमा दाह्रा पलाउँछ। अहंकारको मौलिक चरित्र नै सिर्जना हैन, ध्वस्त हो। टुट्न सक्ने झुक्न नसक्ने। ज्ञानेन्द्रमा संसदीय दलसँग झुक्न सक्ने लचकता भएको भए नेपाली इतिहास कस्तो हुन्थ्यो होला ? हिटलर पार्टीले नै जिताएर सत्ताको चुचुरोमा पुर्याएको हो। सामूहिक चिन्तनको ठाउँमा सन् १९३३ मा सर्वोच्चतालाई निजीकरण बनाउँदा नाजीवाद, फाँसीवादको अभ्यास मात्रै भएन, आखिरमा गएर उनले प्रियसीसँगै आत्महत्या गर्नुपर्यो। इतिहासले धेरै कुरा सिकायो तर मौनताको यो दशकले कति सिक्यो ? कति सिक्यौ ?
गलत प्रतिकार किन आवश्यक छ ?
बीबी सिंहले निर्मम आत्मसमीक्षा गरे। सँघारमा उभिएको मृत्युको दायित्वबोधले लल्कार्यो। त्यसका लागि उच्च आत्मबोध र चरम इच्छाशक्ति आवश्यक हुन्छ। त्यसैले मात्र सहमतिमा हिम्मत र विमतिमा दायित्व सोच्न लल्कार्छ, हौस्याउँछ। गलत छ भन्ने बुझ्दाबुझ्दै प्रतिकार गरिएन भने गलत पक्षमाथि पनि अन्याय हुन जान्छ।
(१) आलोचनात्मक चेत भएन भने जनताको हैसियत गिरेर रैतीको भूमिकामा पुग्छ। त्यसले शासकलाई जनअभिभावकभन्दा फासिष्ट बन्न हौस्याउँछ।
(२) शासकलाई आफूले सोचेभन्दा बाहिर अरू पनि सत्य र संसार छ भन्ने सोच्नै दिँदैन, भ्रममा रहन्छन्।
(३) आफूलाई सर्वज्ञानी, महाशुरवीर, महासुन्दर, महाकूटनीतिज्ञ, महाआदर्शवादी र सर्वज्ञ सोच्न पुग्छन्। त्यसले अरूलाई कमजोर र आफ्नै आश्रयका आसे सोचिरहन्छन्।
(४) आफूले जे गरें त्यो ठीक गरें भनेर सदा प्रोत्साहित हुन्छन्। त्यो सोचले आलोचनात्मक चेतभन्दा शासकलाई नै बढी घाटा हुन्छ। दुस्मनी बढ््दै गएपछि अर्को पक्षको राम्रा तथा सुझाव पनि षड्यन्त्र जस्तै देखिन्छन्।
अन्त्यमा
इतिहासको सँघारमा उभिएर तमासे र रमिते बन्ने छुट कसैलाई पनि हुँदैन। तटस्थताको सुखभोग गर्न मिल्दैन। बलिको बोको बनाइँदैछ भन्ने जानेपछि आँसु झार्नु व्यर्थ हुन्छ। आँसु झार्ने, गुनासो गर्ने आसले लतारिने लाक्षीका परिचय हुन्। प्रतिकारको बाढी फुटेपछि कस्तै शक्तिशाली शासक पनि बबुरा हुन्छन्, सम्हाल्न सक्दैनन। तर कसाहीले खसीको मासु मात्रै हैन, आँसुको समेत व्यापार गर्छ ! समयको महत्व त्यस व्यक्तिलाई हुन्छ, जो आचीले च्यापेर शौचालय बाहिरबाट ढोका ढक्ढक्याएको होस्, भित्र आउँ र कब्जियतले सताइएको रोगी कनिरहेको होस्। अहिले अहंकार मैमत्त छ। ऊ घाउ चिर्ने, रगड्ने, नुनचुक मात्रै हैन, तेजाब नै छर्कंदै छ। इतिहासको अन्त्य भन्दै इस् गर्दै छ। उसको अहंकारले बरु सबै ध्वस्त होस् तर जोडीदारलाई कुनै हालतमा निर्वस्त्र पार्न खोज्दै छ। शक्ति इतिहास पढ्दैन्, हिटलर, मुसोलिन, नेपोलियनले पढेनन्। फ्रान्सेली राज्यक्रान्तिका नायक राब्स पियरले पनि नपढेर गिलेटनमा काटिनुपर्यो भने विपक्षी शक्तिको व्यवस्थापनमा चुकेका भीमसेन थापा रेटिनुपर्यो।