परिवर्तित शिक्षा

परिवर्तित शिक्षा

विज्ञहरू देशका बहुमूल्य बौद्धिक सम्पत्ति हुन्। विज्ञताका लागि देशले स्रोत र साधनको लगानी गरेको हुन्छ भने व्यक्ति स्वयंको जीवनको अमूल्य समय र परिश्रम लगानी भएको हुन्छ। आफ्नो विज्ञतालाई देशको उन्नयनका लागि उपयोग गर्नु विज्ञको नैतिक र नागरिक जिम्मेवारी हो। हाम्रा विज्ञहरू सदावहार किसिमका छन्। समस्या हल गर्न विज्ञहरूका विचारमा कहिल्यै पनि एकता भएको पाइँदैन। जसले गर्दा समस्याको सहज निकास निस्कन सक्दैन। भ्रम बढेर जान्छ। अन्योलता झन् थपिन्छ। शिक्षाविद्हरू आफैं पक्षप्रतिपक्षका रूपमा प्रस्तुत हुन्छन्। विषयलाई न्यूनतम सहमतिका आधारमा सहजीकरण गर्नुपर्नेमा जटिलता थप्न सफल हुन्छन् विज्ञहरू।

समयअनुसार आर्जन गरेका ज्ञान वा विज्ञता परिष्कृत हुनुपर्छ भन्ने जानेका छन् तर हुँदैनन्। आफूलाई गतिशील बनाइराख्न सकेका छैनन्। परिवर्तित समयअनुसार विज्ञता निखार्दै आफूभन्दा माथि उठेर सही सल्लाह र विचार सम्प्रेषण गर्नुपर्छ। अरूका सही विचारको कदर गर्दै वैचारिक एकता निर्माण गर्नुपर्छ। शिक्षाविद्हरू व्यावहारिक र उच्च प्रजातान्त्रिक आचरण भएको हुुनुपर्छ।

सरकारी भूमिका

सरकार सेवक हो, संरक्षक हो– देशका भाषा, धर्म, कला, सांस्कृतिक र बालबालिकाको अनि समग्र नागरिकको। सरकार पथ प्रदर्शक हो सही योजना र निर्णयको। स्रोत र साधनको। सरकार देशको समआदरणीय व्यवस्था हो।

सरकारले जनताउपर शासन गर्ने सोच पुरातन प्रवृत्ति हो। निरंकुशताको अवशेष हो। मानवीय विकृति हो। दिग्भ्रमित मनुवाहरूको संगठन हो। सरकार आफ्नै संयन्त्रको घेरामा रुमलिने बन्दी होइन, स्वतन्त्रताको प्रतीक हुनुपर्छ। थुनुवा बन्दीजस्तो सुरक्षा घेरामा मात्र बस्न सक्ने होइन, जनताका घरदैलोमा पुग्न सक्ने हुनुपर्छ। सरकार आलोचना र घृणाको पात्र होइन। प्रशंसनीय, आदरणीय र अनुसरणीय हुन सक्नुपर्छ। परिवर्तित समयको सन्दर्भमा शिक्षामा सरकारको कार्यशैली त्रुटिपूर्ण रह्यो। एकपछि अर्काे गल्ती र गल्ती ढाकछोप गर्न झनै थुप्रै गल्ती गर्दै गयो। रोकिएको छैन। क्रम जारी नै देखिन्छ।

परिवर्तन कसैले चाहेर वा नचाहेर राकिने प्रक्रिया होइन। सबैलाई थाहा छ तर सोअनुरूप तयारी नगर्दा अवसरलाई उचित उपयोग गर्न नसकिने हुन्छ। सरोकारवालाको सहभागितामा योजना र निर्णय गर्ने शैलीलाई इमानदारीपूर्वक अभ्यास गर्न सके शिक्षा क्षेत्रका तमाम समस्या सहज किसिमले निराकरण हुन्छन्। संघले प्रदेश, प्रदेशले स्थानीय र स्थानीयले आम अभिभावक र विद्यार्थीलाई शिक्षासँग प्रत्यक्ष रूपमा जोड्नैपर्छ। यसले गर्दा अपनत्वको भावना मजबुत हुन्छ।

शिक्षाकर्मीको भूमिका  

ज्ञान, सीप र रुचिका आधारमा मानिसले जीवनकर्मका रूपमा कुनै न कुनै पेसा अपनाएका हुन्छन्। सबै पेसाका मूलभूत कुरा समान हुन्छन्। जस्तैः सेवा, आयआर्जन, उत्तरदायित्व, जवाफदेहिता, नैतिकता आदि। शिक्षा क्षेत्र अन्यभन्दा बढी संवेदनशील र महत्वपूर्ण भएकाले यस कर्ममा संलग्न व्यक्तित्वहरू बढी सजग, सहज र सरल हुनुपर्छ। शैक्षिक उपलब्धिका लागि शिक्षाकर्मीको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ। शिक्षक सम्पूर्ण रूपमा निरपेक्ष हुनुपर्छ। शिक्षकको प्रभाव व्यक्तिको जीवन शैलीमा पर्नैपर्छ।

अधिकांश शिक्षाकर्मीहरूले शिक्षाको मूल मर्म बुझ्न सकेको देखिँदैन। परिवर्तनलाई आत्मसात गर्न सकेको पाइँदैन। अझै दिग्भ्रमित छन्। कोही कमजोर भएर त कोही आवश्यकताभन्दा बढी जानकार भएर। उदाहरणका रूपमा विभिन्न राजनीतिक दलमा संलग्न भई आफ्नो मूल पेसा कर्मलाई नजरअन्दाज गर्नु, सुसंस्कृत समाज निर्माणका लागि असल भूमिका निर्वाह गर्न नसक्नु। तुच्छ आर्थिक फाइदाका लागि गैरशैक्षिक क्षेत्रमा अमूल्य समय खेर फाल्नु। पेसाप्रतिको न्यूनतम उत्तरदायित्व तनमनका साथ निर्वाह गर्न नसकेकाले परिवर्तित अवस्थाको वास्तविक लाभ हुन सकेको छैन।

शिक्षाकर्मीले यस क्षेत्रको गरिमा अक्षुण्ण राख्न पेसाको मर्मअनुसार इमानदारीका साथ कर्म गर्नैपर्छ। विद्यार्थीलाई केन्द्रमा राखी शैक्षिक सेवा प्रवाह गर्नुपर्छ। आफूलाई अध्ययनशील र गतिशील बनाई परिवर्तनलाई समाजमा स्थापित गर्न अग्रणी भूमिका निर्वाह गर्नुपर्छ। शिक्षाकर्मीले समाजलाई गतिशील बनाउने अग्रदूतका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्नैपर्छ।

अभिभावकको भूमिका

शिक्षाको आधारभूत  पक्ष अभिभावक हुन्। शिक्षाको प्रारम्भ अभिभावकबाट हुन्छ। अभिभावक केन्द्रीय भूमिकामा हुन्छन्। व्यक्तिले जीवन व्यक्तिले जीवनको आवश्यक ज्ञान, व्यवहार र सीप आफ्ना अभिभावकबाट आर्जन गरेका हुन्छन्। अबोध बालबालिकालाई अभिभावकले विद्यालयका लागि सक्षम विद्यार्थी उपलब्ध गराउँछ। माया, प्रेम, स्नेह, सद्भावजस्ता महत्वपूर्ण मानवीय गुणको अवधारणा अभिभावकको संलग्नतामा विकास भएको हुन्छ। अभिभावकीय शिक्षाको सानोभन्दा सानो कमजोरीले पनि मानिसलाई जीवनभर नकारात्मक असर गर्छ। आफ्ना सन्तानलाई सर्वाधिक उच्च किसिमको लालनपालन गर्ने इच्छा तमाम मातापिताको हुन्छ। सोहीअनुरूप गर्ने गर्छन्। यसै क्रममा जानीजानी वा अन्जानवश हुने गरेका कमीकमजोरीले सिर्जना गरेका समस्या मानिसको सामाजिक जीवनलाई नराम्रोसँग प्रभावित गरेका छन्। अधिकांश अभिभावकले उमेरअनुसारको व्यवहार गर्न नसक्नु, मायाप्रेमका नाममा निरंकुश हुनु, बालबालिकालाई स्वतन्त्र हुन नदिनु, स्वाभाविक मानसिक विकासमा हस्तक्षेप गर्नु, आफ्ना कमीकमजोरीबाट नकारात्मक प्रभाव पार्नु, समयसापेक्ष हुन नदिनु, यथार्थमा परिवर्तन आत्मसात गर्न नदिनुजस्ता क्रियाकलाप शैक्षिक विकासका लागि घातक प्रमाणित भएका छन्।

अभिभावकले बालबालिकालाई नैतिकवान्, कर्मठ, निर्भीक, स्वतन्त्र, जागरुक, आत्मविश्वासी र आत्मनिर्भर हुन आरम्भदेखि नै अभ्यस्त बनाउनुपर्छ। अनावश्यक चिन्ता र घमन्डको कुचक्रमा पर्न दिनु हुँदैन। यथार्थ मूल्यांकनमा विश्वास गर्नुपर्छ। अस्वाभाविक अपेक्षाबाट टाढा हुनुपर्छ। माया र मोहका नाममा संवेगात्मक विषपान गराउनुभएन, जुन अहिले व्याप्त छ। अधिक प्राकृतिक जीवनयापनका लागि निरन्तर प्रोत्साहन गर्नुपर्छ। परिवर्तन जीवन र जगत्को सुन्दर पक्ष हो। अँगाल्नुको विकल्प हुँदैन।

विद्यार्थीको भूमिका

विद्यार्थी विभिन्न उमेर र समूहका भएकाले तिनीहरूका सोच, विचार र आवश्यकता फरकफरक हुन्छन्। विद्यार्थीको स्वाभाविक विकासक्रमलाई शिक्षाले सम्बोधन गर्नुपर्छ। वालिग विद्यार्थीले शिक्षालाई गतिशील र समयसान्दर्भिक बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ। शिक्षाको केन्द्रविन्दु विद्यार्थी भएकाले उनीहरूका इच्छा र अपेक्षालाई मुख्य विषयका रूपमा लिइन्छ। विद्यार्थीका इच्छा र अपेक्षा स्पष्टरूपमा मुखरित हुन सकेको देखिँदैन। एक प्रकारको अन्योल र भ्रमित भएको अवस्था देखिन्छ। पढाइ, लेखाइ आफ्नै ज्ञान, सीप र व्यक्तित्व विकासका लागिभन्दा पारिवारिक जिम्मेवारी अथवा अभिभावकले अह्राएको कामका रूपमा बुझेका छन्। यस किसिमको अवधारणाले सिकाइको परिधिलाई साँघुरो बनाइदिएको छ। फलस्वरूप व्यक्ति, परिवार, समाज र देशको शैक्षिक उद्देश्य प्राप्त हुन  सकेको छैन।

बालिग विद्यार्थीले सिकाइ व्यक्ति स्वयंका लागि हो भन्ने अवधारणा समयमै अवलम्बन गर्नुपर्छ। पाठ्यक्रमअनुरूपको अध्ययन र सिकाइ जीवनमा सिक्नैपर्ने विषयवस्तुमध्येको एउटा अंश मात्र हो। अन्य महत्वपूर्ण विषयको अध्ययन र सिकाइ पाठ्यक्रमको घेराबाहिर हुन्छ भन्ने हेक्का पनि राख्नैपर्छ। समय, समाज, सहज असहज परिस्थिति, जीवनमा अकस्मात आइपर्ने समस्या, उपयुक्त समाधान, योजना, निर्माण, निर्णय गर्ने शैली, नेतृत्व शैली, संवेग व्यवस्थापन आदिसम्बन्धी यथार्थपरक सिकाइ र सीपको विकास पाठ्यक्रमको घेराबाहिर स्वतन्त्र किसिमले हुन्छ। यी सिकाइ सीपले मात्र व्यक्तिको जीवनले सही दिशानिर्देश पाउँछ। यसर्थ विद्यार्थी गतिशील र जागरुक हुनैपर्छ। गतिशील विद्यार्थीले परिवर्तित शिक्षाको संवाहकका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ।

शिक्षा व्यक्तिको नैसर्गिक अधिकार एवम् संविधानतः मौलिक अधिकार हो। यसलाई मात्र कर्मकाण्डी तथा जसोतसो कर्तव्य निर्वाहका रूपमा लिनु महाभूल हुनेछ। वर्तमान समयको शिक्षामा जरो गाडिएर बसेका समस्याहरू समयले स्वाभाविक रूपमा समाधानतर्फ उन्मुख गराइदिएको छ। पाठ्यक्रम, मूल्यांकन, शिक्षण सिकाइ प्रक्रिया सरकार–शिक्षक–अभिभावक –विद्यार्थी सम्बन्ध आदि सवै परिवर्तन भएका छन्। अतः परिवर्तित समयको परिवर्तित शिक्षाले सृजना गरेका अवसरलाई फराकिलो सोचका साथ सबै सरोकारवाला सहभागिताका आधारमा उपयोग गर्नु, सर्वाधिक श्रेयस्कर हुन्छ। परिवर्तनलाई नजरअन्दाज गरी एक्लाएक्लै तनातान गर्नु बर्बादीलाई निमन्त्रण दिनुसरह हुन्छ। सरकार, शिक्षाकर्मी, अभिभावक र विद्यार्थी सबै एकजुट भई परिवर्तित शिक्षालाई प्रवर्धन गरौं।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.