महिलाले चाहेको गर्न देऊ
‘म महिलाको मौनताको गर्जन सुन्न सक्छु।’ –थोमस शंकारा
तिम्री आमा या श्रीमती एक कप तातो कफी लिएर बरन्डामा फैलिएको बिहानीको सूर्यको किरणमा आफूलाई हराइरहेकी छिन् भने कर्के नजरले हेर्ने र नजरअन्दाज गर्ने नगर। उनलाई आफ्नो तातो कफीसँग रमाउन देऊ। किनकि उनले आफ्ना लागि एक कप कफी लिएर बस्नुअघि घरको सरसफाइ, बिहानको ब्रेकफास्ट, नानीहरूको तयारी, भान्छाको तयारी सबै सकेर बल्ल आफ्नो कफी पिउने समय निकालेकी छन्। ए, यिनलाई पनि फुर्सद मिल्यो, यिनी पनि बरन्डामा ? यिनको अरू काम छैन, घरको कामबाट पनि फुर्सद ? जस्ता जिज्ञासाले तिम्रो मनलाई विचरण गर्न बाध्य बनाउला, तिमी त्यसको चिन्ता नलेऊ। कुन काम कुन समयमा सक्नुपर्छ मौनतामै उनले आफ्नो समयतालिका तय गरेकी हुन्छिन्। उनको समय व्यवस्थापनसँगैको कफी समयलाई तिमीले हस्तक्षेप गर्ने कोसिस नगर, बरू सक्छौ भने प्रशंसा गर, खुसी व्यक्त गर अनि आफ्ना लागि पनि समय निकालेर बाहिरी प्रकृतिसँग रमाउनुपर्छ भन्ने सुझाव देऊ।
जब खाना बनाउने समय हुन्छ, के बनाऊँ भनी सोचिरहेकी हुन्छिन् त्यतिबेला के खाना बनाउँछौ, किन ढिला आज, अझैसम्म तयारी गरेको छैन त भनेर सोध्ने र हस्तक्षेप गर्ने नगर। किनकि दिनहुँ के बनाउने, कति बनाउने र कुन समयमा बनाउने बिना हल्लाखल्ला उनले गरेकी हुन्छिन्। तिमीलाई भन्न नै खसखस लाग्छ भने भन्न सक्छौ– आज पनि मेरो कार्यालय जाने समय उही नै हो। आज त छुट्टी हामी खाना कति बजे खान्छौं या, तिमीलाई मनपरेको तरकारी बनोस् भन्ने लाग्छ भने तिमीले बनाएको यो तरकारी मलाई साहै्र मीठो लाग्छ। सकभर, परिवारको स्वादअनुसारको बनाउने प्रयास उनले गरेकी हुन्छिन् र तिमीलाई थाहै नदिईकन पनि उनले तिम्रो रोजाइको खाना बनाउने गरेकी हुन्छिन्। तिमीले त्यो प्रेमको महसुस गरेर धन्यवाद दिने गरेका छौ ? तिम्रो खानाका लागि कति समय खर्चेकी छन्, जसले आफ्ना लागि विश्राम गर्ने समय छुट्ट्याउन पाएकी हुन्नन्।
जब सपरिवार बाहिर जाने काम पर्छ, उनले आफ्ना लागि तयारी हुन लिएको समयप्रति, ढिला भयो, कति समय लगाएको, यी महिलालाई तयार भएर निस्कन कति समय लाग्ने हो भन्दै कचकच नगर। किनकि तिमीले याद गरेका छैनौ उनी आफू तयार हुनुअगाडि तिम्रो कपडा आइरन गरेर तयार पारेकी थिइन्। बच्चालाई तयार गर्नु, घरमा बुबाआमाका लागि आवश्यक चिजको व्यवस्था अनि घरको गेट बन्द गरेर बाहिर निस्कँदा अवश्य समय लिएकी हुन्, केवल उनको आफ्नो शृंगार र तयारीका लागि मात्र होइन। धन्यवादको सट्टा गुनासो छोड अनि उनका लागि पनि तयार भएर निस्किने समय देऊ, जुन तरिकाले उनले व्यवस्था गरेकी छन्, गर्न देऊ।
जब उनी टीभी अगाडि बसेर मस्त सिनेमा हेरिरहेकी देखिन्छिन्, छाडिदेऊ कुनै कथा नबनाऊ। किनकि तिमीले देख्दा उनको पूरै ध्यान सिनेमामा देखिए पनि आधा ध्यान सिनेमामा र आधा ध्यान घरको काम अनि केके गर्नुपर्नेछ त्यो कामको तालिका र घडीले उनको मस्तिष्कमा टिकटिक अलार्म बजाइरहेको हुन्छ। सिनेमा आधा छाडेर उनी भान्छामा खाना तयार गर्न पुग्छिन्। जब उनी तिमीलाई ब्रेकफास्ट तयार गर्नमा थोरै ढिला हुन्छिन्, त्यसका लागि पनि धैर्य गर किनकि उनको आफ्ना लागि बनाएको खाना डढेर छेउमा राखेर तिम्रा लागि राम्रो खाना बनाउन समय खर्चेकी थिइन्। जब उनी एक कप चिया लिएर विनाउद्देश्य झ्यालबाट आकाशतिर चियाइरहेकी हुन्छिन् त्यतिबेला धेरै कुरा नसोच। किनकि घरको सबै काम सकेर उनले आफ्ना लागि समय लिएकी छन्। जीवनभर तिम्रा लागि समय दिएकी छन्। घरको, बच्चाबच्चीको, आमाबाका लागि समय खर्चेकी छन्। आफ्ना लागिभन्दा तिम्रा लागि समयको पछिपछि दौडेकी छन्, जतिबेला आवश्यक पर्छ उनी तिम्रै लागि दौडेकी छन्। अब तिमी उनलाई धेरै दौडाउने कोसिस नगर किनकि उनी तिम्रा लागि तिमीभन्दा धेरै दौडेकी छन्, मानौं कि उनले तिम्रो लागि जीवनको दौड जित्नु छ।
एउटा घरमा आमाको भूमिका महत्वपूर्ण रहेजस्तै एक राष्ट्रको प्रगतिमा महिलाको भूमिका सधैं उच्च रहनेछ यदि यसलाई गहिराइबाट सोच्ने सक्यो भने।
समाजमा महिलामाथि हुने बलात्कार र यौनजन्य घटना न्यूनीकरण हुन नसके पनि महिला हिंसाको अन्त्य र महिला सशक्तीकरणका आवाज उठाउने क्रम बढी नै रहेका छन्। कतिपय महिलालाई आफ्नो अधिकार के हो र आफ्नो स्वविचार के हो, आफ्नो आवाज कहाँ र किन उठाउने पनि थाहा छैन। उनलाई आफ्नो घरको जिम्मेवारी, बच्चाबच्ची, वृद्घ सदस्यको स्याहारसुसार र परिवारको भविष्यको सपना, कल्पना र चिन्तामा समय बितेको पत्तै हुँदैन। आफ्नै परिवारबाट कानुनका आधारमा अधिकार माग्नुपर्ने ? आफ्नै मान्छेबाट घरेलु हिंसामा पर्नुपर्ने ? आफ्नैसँग धोका पाउनुपर्ने ? आफ्नै मान्छेलाई अदालतमा गएर मुद्दा दिनुपर्ने ? विडम्बना प्रेम के हो र कहाँ यसलाई उपयोग गर्ने ? हाम्रो चेतनाको स्तर कहाँ छ सोचनीय छ। महिलाको सम्मान र सहयोगका लागि पुरुषमा चेतना जाग्नुपर्ने होइन र ? पुरुषले महिलालाई कुन आधारमा कमजोर मान्ने ? आफ्नो आत्मनिर्भरताको खुबी र गुणवत्ता हुँदाहुँदै पनि स्वतन्त्र जन्म लिएर पनि समाजमा महिला स्वतन्त्रताले नकारात्मक अर्थ लिने यो कस्तो संस्कार हो र कसरी विकास भयो होला ? स्वतन्त्रताको अर्थ के हो ? जुन मार्ग र जुन कुरा जीवनमा अपनाउन लायक छ, त्यसको छनोट गर्ने खुबी स्वतन्त्रता हो। आफूलाई आवश्यक र उपयोगी कुरालाई जीवनमा अपनाउन पाउने अवसर स्वतन्त्रता हो।
आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, शैक्षिक तथा सामाजिक मनोवैज्ञानिक स्तरमा महिलाको भूमिकालाई नजरअन्दाज गरिनु समृद्घिका लागि दुइटा पांग्राले गुड्ने गाडीलाई एउटा पांग्राले गुडाउन प्रयास गर्नुजस्तै हो। जीवनका हरेक आयाम र समाजका हरेक विकासका क्रममा महिलाले यसो गरिनुपर्छ भनेर आदेश दिनुको सट्टा कहाँकहाँ महिलाको भूमिका कस्तो छ र महिला कहाँ छुटेका छन्, त्यसबारेमा ध्यान दिन सके प्रज्ञावान हुनेछ। पुरुषसरह जीवनका सबै दायित्व साझेदारी गर्न सक्षम छन् महिला। मानव अस्तित्व, प्रेम, कर्तव्यपराणयता र जिम्मेवारी बचाइराख्न महिलाको महत्वपूर्ण भूमिका छ। एक सृष्टिकर्ताको रूप दिएर अस्तित्व सृजना गरेका महिलालाई सम्मान गर्दै नेपोलियनले भनेका छन्, ‘मलाई राम्रो आमा देऊ, म तिमीलाई एउटा राम्रो राष्ट्र दिनेछु।’ एउटा घरमा आमाको भूमिका महत्वपूर्ण रहेजस्तै एक राष्ट्रको प्रगतिमा महिलाको भूमिका सधैं उच्च रहनेछ यदि यसलाई गहिराइबाट सोच्ने सक्यो भने।