२५ वर्षपछि पाटन विमानस्थलमा हवाई उडान सुचारु
बैतडी : २५ वर्षपछि बैतडीको पाटन विमानस्थलबाट हवाई उडान पुनः सुरु भएको छ । धनगढीलाई बेस बनाएर शुक्रबारदेखि हवाई उडान सुरु भएको हो । २०५२ सालदेखि बन्द रहेको सुदूरपश्चिमकै दोस्रो ठूलो विमानस्थलमा अबदेखि नियमित उडान हुने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिए ।
समिट एयरले हप्ताको एकदिन उडान भर्ने गरी नियमितरुपमा धनगढी–बैतडी–धनगढी सेवा दिने भएको छ । उनले भने, 'पहिलो दिन धनगढीबाट १८ यात्रु बैतडी र बैतडीबाट ७ यात्रु लिएर धनगढी फर्केको छ ।'
धनगढीबाट बैतडीको भाडा ३ हजार ८ सय रुपैयाँ तोकिएको छ । नियमित हवाई उडान भएपनि पाटन विमानस्थलमा टर्मिनल भवन तथा टावर नहुँदा समस्या हुने देखिएको छ । अर्को हप्तादेखि आफ्नै जनशक्ति राखेर काम गरिने समिट एयरका सुदूरपश्चिम म्यानेजर उप्रेतीको भनाइ छ ।
यसअघि यही असोज १७ गते पाटन विमानस्थलमा परीक्षण उडान गरिएको थियो । परीक्षण उडानसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईसहितको टोलीले विमानस्थलको निरीक्षण गरेको थियो ।
२०५२ देखि पूर्णरुपमा बन्द रहेको सुदूरपश्चिमकै दोस्रो ठूलो बैतडीको पाटनमा रहेको विमानस्थल पुनः सञ्चालनमा आएपछि यहाँका बासिन्दामा उत्साह थपिएको स्थानीय चमन भण्डारीले बताए । उनले भने, 'लामो समयदेखि बन्द रहेको विमानस्थल सञ्चालनमा आएको छ । यसले यो क्षेत्रका नागरिकमा उत्साह थपेको छ ।'
विमानस्थलमा हवाई सेवा सुरु भएसँगै धार्मिक स्थलहरुमा आन्तरिक पर्यटकलाई भित्र्याउन सकिने नेपाल पत्रकार महासंघ बैतडीका पूर्व अध्यक्ष लक्ष्मीदत्त पाण्डेयले बताए । उनले भने, 'बैतडीमा थुप्रै धार्मिक स्थल छन् । यी धार्मिक स्थलहरुमा थुप्रै दर्शनार्थीहरु आउन सक्छन् । हवाई सेवा सूचारु भएपछि आन्तरिक पर्यटक भित्रिने सम्भावना छ ।'
ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीले ११ करोडमा विमानस्थल कालोपत्रको काम गत माघमा सम्पन्न गरेको थियो । पाटनमा विमानस्थलमा ५९० मिटर लम्बाई र २० मिटर चौडाइको धावन मार्ग कालोपत्रे गरिएको थियो भने ७० मिटर लम्बाई र ३० मिटर चौडाईको एप्रोन कालोपत्रे गरिएको हो ।
पाटनमा २०३२ सालमा विमानस्थल निर्माणको काम सुरु भएर २०३५ सालदेखि हवाई सेवा सुरु भएको थियो । पछि २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो । त्यतिबेला पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो । २०५८ सालमा तत्कालीन विद्रोही माओवादीले विमानस्थलको टावरमा आगो लगाएर ध्वस्त बनाएको थियो ।