उपत्यकामा थपिए २४ सय २ जना कोरोना संक्रमित
काठमाडौं : पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) बाट काठमाडौं उपत्यकामा २४ सय २ जनामा संक्रमण देखिएको छ। काठमाडौंमा १७ सय ८४ , ललितपुरमा २४४ र भक्तपुरमा ३७४ गरी २४ सय २ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
यस्तै नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ। पछिल्लो २४ घण्टामा ४ हजार ३९२ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
३७ हजार ३८२ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १२ हजार ३३६ जना रहेका छन् भने २५ हजार ४६ होम आइसोलेसनमा छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार ८०८ जना रहेका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १६ हजार ७३१ नमूनाको पीसीआर परीक्षण भएको छ। शुक्रबार ३५ सय २२ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ८८ हजार ४० पुगेको छ।
आइसीयूमा ३१५ र ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट ७१५ जनाको मृत्यु भएको छ। शुक्रबार मात्रै २१जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।