कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय नाघ्यो
काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय नाघेको छ। शुक्रबार थप २१ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ७१५ पुगेको हो। बिहीबार मात्रै कोरोनाबाट १९ जनाको मृत्यु भएको थियो।
यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका २४ सय २ सहित ४ हजार ३९२ जनामा संक्रमण देखिएको छ। यो सहित संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
३७ हजार ३८२ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १२ हजार ३३६ जना रहेका छन् भने २५ हजार ४६ होम आइसोलेसनमा छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार ८०८ जना रहेका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १६ हजार ७३१ नमूनाको पीसीआर परीक्षण भएको छ। शुक्रबार ३५ सय २२ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ८८ हजार ४० पुगेको छ। आइसीयूमा ३१५ र ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
काठमाडौं उपत्यकामा मात्रै २४ सय २ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १७ सय ८४ , ललितपुरमा २४४ र भक्तपुरमा ३७४ गरी २४ सय २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।