फ्रान्समा पछिल्लो २४ घण्टामा ३० हजार कोरोना संक्रमित थपिए
पेरिस : फ्रान्समा पछिल्लो २४ घण्टाको अवधिमा मात्रै ३० जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।
बिहीबार फ्रान्सको पब्लिक हेल्थ एजेन्सीले जारी गरेको तथ्यांक अनुसार ३० हजार ६ सय २१ ज्ना नयाँ संक्रमित थपिएका हुन् । साथै कोभिड १९ का कारण पछिल्लो २४ घण्टाको अवधिमा ८८ जनाको मृत्यु भएको छ । यससँगै यहाँ संक्रमितको संख्यामा वृद्धिदर पनि पछिल्लो समय बढेको छ ।
बिहीबारसम्म आइपुग्दा १२ दशमलब २ बाट १२ दशमलब ६ पुगेको छ । कोरोना संक्रमण तीव्र रुपमा बढ्न थालेपछि नियन्त्रणमा लिन राष्ट्रपति एम्यानुएल म्याक्रोँले बुधबार राति नै राजधानी पेरिस र अरु ८ सहरमा कर्फ्यू घोषणा गरेका थिए ।
यस्तै कोभिडका बिरामीहरु अस्पताल भर्ना हुने क्रम पनि पछिल्लो समय बढ्न थालेको छ । बिहीबार मात्रै १ हजार ७ सय ४१ जना अस्पताल भर्ना भए । जुन संख्या अघिल्लो दिनको भन्दा ७७ ले बढी हो ।
फ्रान्समा हालसम्म कोरोना संक्रमितको संख्या ८ लाख ९ हजार ६ सय ८४ पुगिसकेको छ । ३३ हजार १ सय २५ जनाको मृत्यु भएको छ । साथै १ लाख ४ हजार ८२ जनालाई निको भएको छ भने १ हजार ७ सय ५० संक्रमितको अवस्था गम्भीर छ ।