शक्तिपिठ र मन्दिरमा निषेधाज्ञा
राजविराज : नेपालीको महान पर्व दर्सैं, तिहार र छठ पर्वंलाई लक्षित गर्दै सप्तरीका शक्तिपिठ र मन्दिरहरुमा निषेधाज्ञा गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले शुक्रबार राति ११ बजेदेखि आगामी मङ्सिर ७ गते राति ११:३० बजे सम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।
स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम शुक्रबार सम्पन्न जिल्ला सुरक्षा समितिको बैठकले सप्तरी जिल्लाको सम्पूर्ण शक्तिपिठ र मन्दिर परिसर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले शुक्रबार एक सूचना प्रकाशित गरे सप्तरी जिल्लाको सम्पूर्ण शक्तिपिठ र मन्दिर परिसर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको जनाएको छ।
प्रशासकीय अधिकृत आनन्दकुमार ठाकुरद्वारा जारी सूचनामा मन्दिरका तर्फबाट गरिने नित्य पूजापाठ बाहेकका अन्य सम्पूर्ण कार्य/गतिविधि हुन/गर्न निषेध गरिएको छ । कोभिड–१९ संक्रमणलाई ख्याल गर्दै भीडभाड नगरी सुरक्षित साथ आ–आफ्नै घरमा आफ्नो परम्पराअनुसार आगामी चाडपर्व मनाउन प्रशासकीय अधिकृत ठाकुरद्वारा जारी सूचनामा अनुरोध गरिएको छ ।
जसअनुसार शक्तिपिठ र मन्दिरमा भेला हुन, भक्ति संगीत लगायतका कार्य गर्न, भजन, कीर्तन, मेला जात्रा गर्न प्रतिबन्ध लगाइएको छ । शनिबार घटस्थापनाका दिनदेखि मन्दिरमा हुने भीडभाडलाई ख्याल गर्दै लगाइएको निषेधाज्ञा छठ पर्व सम्पन्न हुञ्जेलसम्म लगाइएको छ । छठ पर्व मङ्सिर ५ गते रहेको छ ।