खरानी
एउटा हातले
अर्को हातमा खुकुरीले सुसज्जित थियौ
हामीबीच नजिकको मित्रता
र, टाढाको वैमनस्यता पनि थिएन
पहिले पहिले
तिमीआफ्नै सुरमा यो बाटो
ओहोर–दोहोर गथ्र्यौ
मआफ्नै सुरमा
बाटोछेउ उभिएको हुन्थे
धेरै भएकै छैन
सम्झन्छु फागुनकै महिना हो
पूmल र हरिया पातहरू थिएनन् मसँग
फुल्नका लागि वसन्तको प्रतीक्षामा थिएँ म
भन्न सक्दिनँ
हतियारले काट्यो कि तिम्रो विवेक
अथवा
हतियार हात परेकोले
त्यसको प्रयोग गर्न हतारिएका थियौ
तिमीले एकाएक
फुल्ने सम्भावना बोकेका
हाँगारूपी मेरा हातहरू गिँड्यौ
(अभिभावक पनि छटपटियोस् भनेर होला
फेदैबाट काटेर सिङ्गै रूख भने ढालेनौ)
र, घिसार्दै एक ठाउँमा जम्मा पार्यौ
अलिकति वरपरका झिक्राझाक्री बटुल्यौ
अलिकति मट्टीतेल खन्यायौ त्यसमाथि
र, आगो सल्काएर ताप्न बस्यौ
आगोसँग जुध्दै सुरुमा म खुबै धुवाँइरहें
अब रमितेहरूले पनि तिम्रो साथ दिए
कसैले केहीपत्रिका त
कसैले फाइलका केही कागजात
कसैले साहित्यिक पाना त
कसैले कानुनी किताब च्यातेर
आगो बाल्न तिमीलाई सघाउँदै गए
यसरी–
जाँदाजाँदैको जाडोको एक रात
तिमीले मलाई तापेर बितायौ
अहिले म खरानी भएको छु
र, तिमी यही खरानी पनि
फेरि पोल्ने उद्देश्यले
भएभरको आफ्नो सास निकालेर
फुक्न खोज्दैछौ
नहुनु खरानी भइसकेपछि
खरानीलाई फेरि आगोको डर हुँदैन
शक्तिले जतिसुकै मैमत्त भए पनि
खरानी फुक्नु अगाडि
यत्ति चाहिँ हेक्का राख
फुक्यौ भने फेरि यसलाई
तिम्रो आँखामा पस्नबाहेक
खरानीसँग अर्को विकल्प हुँदैन
थाहा छ कि छैन तिमीलाई
आँखामा पसेपछि यो तातो खरानी
आँखाले उज्यालो देख्न पाउने छैन।