भिखारी

भिखारी

‘म भोको गरिबमाथि दया गर्नुस् हजुर !  मैले तीन दिनदेखि केही पनि खा’को छैन। एक रात बस्नका लागि पाँच कोपेक पनि छैन। भगवान् कसम ! मैले एक गाउँको स्कुलमा शिक्षकको रूपमा पाँच वर्ष काम गरें। त्यहाँ मलाई एक झूठो अभियोग लगाइयो र स्थानीय प्रशासनले अपमान गरेर जागिरबाट निकालेको पनि एक वर्ष भइसक्यो।’

पिटर्सबर्गका एक वकिल स्कोर्भसोभलाई त्यस मानिसको फाटेको ओभरकोट, धूमिल, लट्ठ परेका आँखा र गालाका राता धब्बाहरू देख्दा लाग्थ्यो कि त्यो मनिसलाई उसले पहिले पनि कतै देखेको थियो। ‘मलाई कलुगा राज्यमा जागिरको प्रस्ताव आएको थियो’, भिखारीले भन्यो, ‘तर, मसँग त्यस ठाउँसम्म पुग्ने भाडा पनि छैन। मलाई कृपा गर्नुस् हजुर ! वास्तवमा मलाई माग्न लाज लाग्छ... तर म विवश छु।’ स्कोर्भसोभले उसका गम्बुट हेर्‍यो। एउटाचाहिँ छोटो जुत्ताजस्तो देखिन्थ्यो भने अर्कोचाहिँ माथिसम्म आएको। त्यति नै बेला स्कोर्भसोभले झल्याँस्स केही सम्झ्यो र भन्यो, ‘सुन त ! मैले तिमीलाई अस्ति साडोभो स्ट्रिटमा भेटेको थिएँ र तिमीले भनेका थियौ, तिमी त निष्कासित विद्यार्थी हौ, न कि स्कुलको शिक्षक। त्यो कुरा तिमीलाई याद छ ?’
‘है है है है... हैन। त्यो हुनै सक्दैन...’, भिखारी अलमलमा परेर भक्भकायो, ‘गाउँको शिक्षक नै हुँ। प्रमाण चाहिन्छ भने म देखाइदिन सक्छु।’ 

‘ढाँट्नुको पनि सीमा हुन्छ नि। तिमीले त आफैं विद्यार्थी हुँ भनेका थियौ। तिम्रो निष्कासनको कारण पनि। तिमीलाई सम्झना छ ?’ भिखारीलाई घृणाको भावले हेर्दै स्कोर्भसोभ अर्काेतर्फ फर्किए। उनी एकाएक झोक्किए, ‘यो त सरासर ठगी हो। म तिमीलाई पुलिसकहाँ बुझाउँछु। तिमी दुःखी र भोका छौ भन्दैमा यति तल्लो स्तरमा झरेर ढाँट्न त मिल्दैन नि।’ त्यो दुःखी मानिसले ढोका समातिरह्यो र जालमा परेको चराले जस्तै वरिपरि हेरिरह्यो। ‘मंै मैं मैं...ले ढाँटेको छैन’, उसले भन्यो, ‘प्रमाण देखाउन सक्छु।’

‘तिमीलाई कसले विश्वास गर्छ ?’, रिसाउँदै स्कोर्भसोभले भने, ‘गाउँका शिक्षक र विद्यार्थीका लागि सहानुभूति खोज्ने तिम्रो यो तरिका ज्यादै तुच्छ, घटिया र फोहोरी भयो।’ स्कोर्भसोभ ज्यादै रिसाए र भिखारीलाई तथानाम गाली गरे। भिखारीको ढँटुवा व्यवहारले स्कोर्भसोभमा भिखारीप्रति द्वेष र घृणा भाव बढेर गयो, जुन उनका आफ्नै परिचयका विपरीत थिए, ऊ त दयालु, कारुणिक मन भएको र दुःखीमाथि सहानुभूति राख्ने खालको मानिस थियो। उसको ढाँट्ने कला, सहानुभूतिमाथिको अविश्वासले स्कोर्भसोभले शुद्ध मनले गरिब दुःखीलाई दिन चाहेको दानलाई नै प्रदूषित पारिरहेको जस्तो भान हुन्थ्यो। सुरुमा त भिखारीले आत्मरक्षा गर्‍यो, कसम खायो तर पछि लाजले टाउको निहुर्‍याएर चुपचाप बसिरह्यो।

‘सर !’ छातीमाथि हात राखेर भिखारीले भन्यो, ‘म वास्तवमै ढाँटिरहेको थिएँ। म न विद्यार्थी हुँ न त शिक्षक नै। ती त मेरा बहाना मात्र हुन्। कुनै बेला रसियन पाश्र्वगायक थिएँ र पछि जँड्याहा बनें। भगवान् कसम। मैले ढाँटिनँ भने त मलाई कसले के दिन्छ र ? साँचो बोलेर त भोक र चिसोले अनि सुत्न नपाएर मरिहाल्छु नि। म हजुरले भनेको बुझ्छु, तर म के गरूँ ?’ ‘म के गरूँ ? म के गरूँ ?’ उसको कानै नजिक गएर स्कोर्भसोभ चिच्याए, ‘काम गर। काम।’ ‘मलाई थाहा छ तर मैले कहाँ काम पाउँछु र ?’

‘वाहियात ! तिमी जवान, बलिया र स्वस्थ छौ। जति बेला चाहन्छौ उति नै बेला काम पाउँछौ। तर वास्तवमा तिमी अल्छी, दरिद्र र जँड्याहा हौ। तिम्रो शरीरमा भोड्का भट्टीजस्तै गन्हाउँछ। तिमी यति धेरै फटाहा भयौ कि माग्ने र ढाँट्ने काम नै तिमीलाई खुब सुहाउन थालेको छ। तिमीले जस्तोसुकै काम इमानदारीसाथ गर्ने हो भने तिम्रो जागिर हाम्रो कार्यालयमा हुन्छ। रसियाली पाश्र्वगायकका रूपमा वा विलियर्ड खेलको लेखाजोखा राख्ने मान्छेका रूपमा काम गर्न सक्नेछौ, जहाँ तिम्रो राम्रो तलब हुनेछ तर खासै केही काम हुने छैन। तिमीलाई शारीरिक परिश्रम कस्तो लाग्छ ?

‘के पो भन्नुभो ?’, भिखारीले सोध्यो र फिस्स हाँस्यो, ‘शारीरिक कामचाहिँ म कसरी पाउन सक्छु ? मेरा लागि व्यापार ढिला भइसक्यो। व्यापार त सानै उमेरदेखि थाल्नुपर्छ। मलाई कसैले भरियाका रूपमा काम दिँदैन किनकि म त्यो वर्गको मानिस होइन। न त मैले कारखानामै काम पाउँछु, किनकि मलाई व्यापारको ज्ञान पनि त छैन।’ ‘वाहियात ! तिमी कुनै न कुनै बहाना बनाउँछौ। तिमीलाई दाउरा चिर्न आउँदैन ?’ ‘नाइँ त भन्दिनँ तर पेसेवर दाउरेहरू नै काम पाइरहेका छैनन्।’

‘सबै आदर्शवादी यसै भन्छन्। तिमीलाई जे प्रस्ताव गरे पनि इन्कार गर्छाै। तिमी मेरा लागि दाउरा चिर्न तयार छौ ?’ ‘पक्कै पनि...।’ ‘ठीक छ... हामी हेर्छांै।’ स्कोर्भसोभले अलि हतारिएको भावमा, कुनै कपट वा खुसीबिना, हातहरू मोल्दै भान्छामा भएकी भान्छेलाई बोलाए। ‘ओल्गा’, उनले भने, ‘यस मानिसलाई उता गोठमा लगेर केही दाउरा चिर्न लगाऊ।’ भिखारीले अचम्मित परेजस्तो गरेर कुम हल्लायो र अन्कनाउँदै भान्छेलाई पछ्यायो। उसको हाउभाउबाटै स्पष्ट हुन्थ्यो कि उसले वचनले बाँधिएर मात्र दाउरा चिर्न सहमति जनाएको थियो न कि ऊ भोको थियो र पैसा चाहन्थ्यो। उसलाई हेर्दा लाग्थ्यो कि उसमा अझै भोड्काको असर थियो। ऊ बिरामी थियो र कामप्रति कुनै इच्छित थिएन।

स्कोर्भसोभ हतार–हतार भन्छाकोठातिर गए। त्यहाँको झ्यालबाट आँगनतिर हेर्दा दाउराको  कटेरो र आँगनमा के भइरहेको छ हेर्न सकिन्थ्यो। झ्यालमा उभिएर हेर्दा स्कोर्भसोभले भिखारी र ओल्गा पछाडिको बाटोबाट आँगनतर्फ आइरहेको र हिलाम्मे हिउँ हुँदै दाउराको कटेरोतर्फ गइरहेको देखे। ओल्गाले उनको साथीलाई रिसाउँदै हेरिन् र हात फ्याँक्दै कटेरो खोलिन्। रिसाउँदै जोडले ढोका खोलिन्। ‘सायद हामीले चिया पिउँदै गरेकी महिलालाई व्यवधान गर्‍यौं होला’, स्कोर्भसोभले सोचे, ‘ओहो, कस्ती रिसाहा आइमाई छे त्यो !’

त्यसपछि उनले अर्ध–शिक्षक र अर्ध–विद्यार्थी आफ्नै छेउमा सोचमग्न भएर उसका मुठ्ठी राता गालामा अड्याएर दाउराको थुप्रोमाथि बसेको देखे। भान्छेले बन्चरो उसका खुट्टातिर फ्याँकिन्, रिसले भुत्भुताउँदै जमिनतिर थुकिन्। उनका ओठको भाषा हेर्दा लाग्थ्यो उनी त्यस भिखारीलाई गाली गर्दै थिइन्। भिखारीले अनायासै एउटा काठको मुढो आफूतिर तान्यो र दुई खुट्टाका बीचमा राख्यो अनि त्यसमाथि बन्चरो चलायो। मुढो लड्यो। उसले मुढो आफूतिर तान्यो, लामो श्वास लियोे र पूर्ण सावधानीका साथ बन्चरो चलायो ताकि त्यसले आफ्ना गम्बुटमा नलागोस् र आंैला पनि नकाटियोस्। मुढो फेरि पनि गुँडुल्कियो। स्कोर्भसोभको रिस मर्‍यो। जब उनले एक दुःखी जँड्याहा र सायद रोगी मानिसलाई चिसोमा कठिन र तल्लोस्तरको काम गर्न लगाएको बारेमा सोच्यो, अनि नमीठो र लज्जा महसुस गर्‍यो। ‘ठीकै छ। गर्न देऊ...’, भान्छा कोठाबाट अध्ययन कक्षतर्फ जाँदै गर्दा स्कोर्भसोभले सोचे, ‘आखिर मैले उसकै हितका लागि त यो सब गरिरहेको छु।’ एक घण्टापछि ओल्गा आइन् र दाउरा चिरिसकेको जानकारी दिइन्। ‘उसलाई आधा रुबल दिनू’, स्कोर्भसोभले भने, ‘उसले चाहन्छ भने प्रत्येक महिनाको सुरुमा उसलाई दाउरा चिर्न बोलाउनू। उसका लागि कहिल्यै पनि कामको खाँचो हुँदैन।’

अर्को महिनाको सुरुमा फेरि भिखारी आयो र आधा रुबल कमायो। त्यसपछि ऊ निरन्तर आइरह्यो। उसका लागि कहिल्यै कामको खाँचो भएन। कहिले उसले हिउँको थुप्रो सोहोथ्र्यो या त गोठ सफा गथ्र्यो भने कहिलेकाहीँ कम्बल वा डसना टक्टक्याउँथ्योे। प्रत्येकपटक उसले काम गरेबापत ३० देखि ५० कोपेक पाउँथ्यो। कहिलेकाहीँ पुराना सुरुवालहरू पनि। जब भिखारीले काम थाल्यो, स्कोर्भसोभले फर्निचर मिलाउन र सार्न थाले। ‘मेरो शब्दले तिमीलाई प्रभाव पारेजस्तो छ’, उनले रुबल दिँदै भने, ‘यो तिम्रो कामका लागि हो। तिमीलाई सोझा र कामप्रति इमानदार पाएँ। अँ साँच्चि, तिम्रो नाम के हो ?’ लुस्कोभ। ‘म तिमीलाई राम्रो काम दिन सक्छु, लुस्कोभ। तिमी लेख्न जान्दछौ ?’ सक्छु सर। ‘त्यसो भए भोलि यो चिठी लिएर तिमी मेरो एकजना साथीकहाँ जाऊ। उसले तिमीलाई कागजपत्र नक्कल गर्ने काम दिनेछ। काम गर, नपिऊ र मैले भनेको नबिर्स। गुड बाई।’ एक मानिसलाई इमानदारिताको बाटो देखाउन सकेकोमा स्कोर्भसोभ खुसी भए। उनले लुस्कोभको काँधमा धाप मारे र छुट्ने बेलामा हात पनि मिलाए। लुस्कोभले चिठी लियो, अनि त्यो ठाउँमा काम गर्न फेरि कहिल्यै फर्केन।

दुई वर्ष बित्यो। एक दिन स्कोर्भसोभ नाटकघरमा टिकट किनेर उभिइरहेका थिए। उनले आफ्नो छेउमा बाख्राको छालाको कलर भएको र बिरालाको छालाको टोपी लगाएको सानो मानिसलाई देखे। त्यो मानिसले पनि लजाउँदै नाटकको टिकट किन्यो र त्यसबापत केही कोपेक तिर्‍यो। ‘लुस्कोभ ! तिमी ?’ त्यस मानिसलाई स्कोर्भसोभले उसको पहिलेको दाउरे हो भनेरे चिने, ‘आजकल के गरिरहेका छौ ? तिमीलाई ठीक त छ नि ?’ ‘ठीकै छ...। म एउटा नोटरी अफिसमा काम गर्छु। म ३५ रुबल कमाउँछु।’ ‘ओहो ! त्यो त राम्रो रकम हो। ज्यादै खुसी छु लुस्कोभ ! तिमी त मेरो लागि धर्मपुत्र हौ। मैले तिमीलाई ठीक बाटोमा लगाएँ। मैले तिमीलाई गाली गरेको सम्झन्छौ ? त्यति बेला तिमी ज्यादै डराएका थियौ। तिमीले मैले भनेको सम्झेकोमा धरै धेरै धन्यवाद।’

‘तपाईंलाई पनि धन्यवाद !’, लुस्कोभले भन्यो। त्यो दिन म तपाईंकोमा नआएको भए अझै पनि म आफैंलाई शिक्षक वा निष्कासित विद्यार्थी भनेर ढाँटिरहेको हुन्थें होला। तपार्इंले मलाई हात दिनुभयो र त म खाडलबाट निस्कन सकें।’ ‘म ज्यादै खुसी छु।’ ‘तपार्इंका मायालु शब्द र कामका लागि धन्यवाद। तपाईंले त्यो दिन भन्नुभएका कुरा ज्यादै सराहनीय थिए। तपार्इं र तपाईंको भान्छेप्रति कृतज्ञ छु। भगवान्ले ती दयालु र मायालु महिलाको रक्षा गरून्। तपाईंले त्यो दिन जे भन्नुभो, ती कुरा ज्यादै अविस्मरणीय थिए। ती जुन कुरा म जीवनभर भुल्ने छैन। वास्तवमा ओल्गाले मलाई ज्यादै ठूलो गुन लगााएकी छन्।’

‘तर कसरी ?’ ‘म तपार्इंकोमा दाउरा चिर्न आउँदा उनले भन्ने गर्थिन्, ‘तिमी जँड्याहा, भगवान्ले पनि त्यागेको मान्छे, तिमीलाई कालले पनि लाँदो रहेनछ।’ त्यति भनेर उनी मेरो अनुहारमा हेरेर बिलौना गर्दै भन्थिन्, ‘तिमी अभागी मान्छे, यो संसारमा त तिमी खुसी छैनौ, अर्को जुनीमा पनि तिमी नरकमा जान्छौ। तिमी ज्यादै दुःखी मानिस हौ।’ यस्तै यस्तै भन्थिन्। उनी कति दुःखी भइन् र मेरा लागि कति आँसु झारिन्। भन्नै सक्दिनँ। सबैभन्दा बढी त उनले मेरा लागि दाउरा चिरिदिन्थिन्। मैले एउटा दाउरो पनि चिरिनँ। सबै उनले नै चिर्थिन्। यसरी उनले मलाई बचाइन्, परिवर्तन गराइन्। उनैलाई हेरेर मैले पिउने बानी पनि छाडें। म यति मात्र जान्दछु कि उनको असल व्यवहारले मेरो आत्मामा परिवर्तन ल्यायो। यो म कदापि भुल्ने छैन। अब त जाने बेला भयो, घन्टी पनि बज्नै लाग्यो।’
लुस्कोभले शिर झुकायो र नाटकघरतर्फ गयो।

अनुवादक : राजकुमार बराल


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.