दक्षिणा जोगाऔं, कोरोना भगाऔं

दक्षिणा जोगाऔं, कोरोना भगाऔं

आदरणीय बा !

चिठीबाटै ढोगें, खुट्टा जोड्नु होला, मुन्टो परक्क पारेर अर्कापट्टि नमोड्नु होला। राजनीति एक ठाउँमा छ, बाबुछोराको सम्बन्ध अर्को ठाउँमा छ। त्यसलाई गाँजेमाजे पारेर नमिसाउनु होला, सरकारसँग जति रिसाए पनि कोरोनासँग नरिसाउनु होला। महामारीको फन्दामा परिएला, अकालमै मरिएला।

कोरोनाले कांग्रेस कम्निस्ट भन्दैन। बा, सरकारले भनेका कुराको उल्टो उल्टो काम गरेर हिँड्दै हुनुहुन्छ भन्ने सुन्दैछु। कोरोना भनेको हौवा हो भन्ने कौवाहरूका पछि लागेर नदौडिनु बा। पहिला कान छाम्नू। मास्कले माखो पनि मार्दैन भनेर फूर्ति लगाउने अमेरिकाका राष्ट्रपतिले त ‘आखिर मास्क नै रहेछ एक’ भन्दै मास्क भिरे, बाध्य भएर अस्पताल छिरे। कोरोना महामारी होइन, यो सरकारको भ्रष्टाचार गर्ने दाउ हो भनेर चर्को स्वरमा युट्युबमा अन्तर्वार्ता दिँदादिँदै हामी बसेकै घरमा बस्ने एकजना प्राध्यापक कोरोनाकै कारण कक्रक्क परेर ठहरै भए। उनले आफूलाई कोरोना नलाग्ने भविष्यवाणी गरेका एक दर्जन भिडियो हेरेरै बा पनि कट्टर कोरोना विरोधी हुनुभएको हैन ? त्यसैले बा, सरकार मन नपर्दैमा धेरै जान्ने भएर सुरक्षाका उपायहरूको उल्लंघन नगर्नुहोला। धर्ना र जुलुस भन्दै बजारतिर नझर्नुहोला।

बाहरू बेकारमै होहल्ला गरिरहनुहुन्छ क्या ! सरकारले कोरोना रोकथाममा भयंकर कोशिश गरिरहेको छ। हरेक दिन संक्रमणको सूचना जारी गरिरहेको छ। सतर्क रहन सावधान गराइरहेको छ। हाम्रै ज्यानलाई ध्यानमा राखेर हामीलाई धम्क्याएको छ, तर्साएको छ। बाहरू नै अटेरी भएर मात्रै हो, नत्र यसबेलासम्ममा हाम्रो सरकारले यसको रोकथाम गरिसक्ने थियो। तपाईंहरू मास्क नलगाउने, हात नधुने, भीड गर्न नछाड्ने। अनि सरकार एक्लैले के गरोस् ! तर पनि बा, तपाईंहरूले जति नै सरकारलाई असहयोग गरे पनि एक न एक दिन सरकारले महामारी विरुद्धको लडाईं जितेरै छाड्ने छ। कोरोनाको भ्याक्सिन आएपछि त सरकारले यसको दोहोलो नै काड्ने छ, हेर्दै जानू।

अटेरी जनताकै कारण महामारीले भेलबाढीको रूप धारण गरेपछि सरकारले यसको रोकथाममा थप कडा कदमहरू चालेको छ। सरकारले अब साधारण बिरामीलाई अस्पताल नआउनू भनिसक्यो। अलिअलि सास रोकिँदैमा, ज्वरो आउँदैमा, स्वाद र गन्ध हराउँदैमा, वाकवाकी लाग्दैमा दौडिएर अस्पतालमा भीड गर्न नमुन्टिनु भनिसक्यो। हिरिकहिरिक भएर प्राणै जान लाग्यो भने सरकारले दिएको फोन नम्बरमा सम्पर्क गरेर आवश्यक प्रक्रिया पुर्‍याएर मात्र आउनु भनेको छ। ठिकै हो नि, प्रक्रिया पुर्‍याउन्जेलसम्ममा बिरामी कि त परमधाम पुग्छ कि त ठिक हुन्छ। त्यसरी पनि सरकारले कोरोनाको रोकथाम गर्छ। त्यसैले बा पनि सोहीअनुसार तयारी अवस्थामा बस्नुहोला।

बाले दसैंमा घर आउनू भन्ने खबर पठाउनुभएको रहेछ। घर नआए पनि दसैं खर्चका लागि पैसा पठाउनू भन्नुभएको रहेछ। बाको कुरा त ठिकै हो तर यस्तो महामारीका बेला कसरी घर आउनु बा ? दिनदिनै महामारी बढेको बढेकै छ।सरकारले पनि नहिँड्नु भनेको भनेकै छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ताले दिनैपिच्छे टेलिभिजनमा आएर झपारिरहेका छन्। बसेका ठाउँबाट हलचल नगर्नू भनेका छन्। अटेर गरेर बाहिरफेर लुखुरलुखुर हिँडेर कोरोना लाग्यो भने सरकार जवाफदेही हुँदैन भनेका छन्। आफू त सरकारको अन्धसमर्थक, सरकारले भनेको थपक्क मानेर गाउँ नआउने टुंगोटांगीमा पुगिसकें बा।
त्यता पनि बाले पूर्ण सावधानी अपनाउनू। सामाजिक दूरी कायम गर्नू। टीको लगाउन आउनेहरूलाई बाटोमै तगारो लगाएर चेकजाँचपछि मात्र आँगनमा छिराउनू। मास्क नलगाई आउने आफन्तलाई छिर्न नदिनू। पहिलापहिला जस्तो गोरु बेचेका ज्वाइँ, खसी किनेका भान्जाहरू सपरिवार लस्कर लागेर बटुकामा आधापाऊ चिनी र एउटा दानु ओइलिएको स्याउ लिएर टीका लगाउन आए भने तिनीहरूतिर फर्केर ऐर्‍याया, आत्थाथा गर्दै हाच्छिउँका हाच्छिउँ गरिदिनू, खोकिदिनू।

बालाई दसैं खर्च चाहिँ किन चाहियो नि ? यसपालिको दसैंमा पैसाको कामै के छ र ! सरकारले दिएको वृद्धभत्ता लुसुलुसु खाँदैै सरकारको उछितो काड्दै गर्नुहुन्छ, फेरि मसँग पैसा माग्नुहुन्छ। डाक्टरले बालाई मासु नखानु भनेकै छ, पाहुना आउने होइनन्। नजिकका कोही आइहाले भने पनि यसपालिको दसैंमा नगदको कारोबार गर्दै नगर्नू। आफूभन्दा कनिष्टहरूले गोडामा ढोगेर गोेडामै राखिदिएको दक्षिणा मात्रै स्वीकार गर्नू। त्यो पनि नोटलाई हातले नछोइकन सेनिटाइजर वा गहुँत छर्केर घाममा सुकाएर मात्रै सिनानेमुनि घुसार्नू, त्यो पनि चिम्टाले च्यापेर। लिने बेलामा त्यसरी लिए पनि दक्षिणा दिनुपर्ने बेलामा चाहिँ ठूलो स्वरमा ‘पैसाबाट कोरोना सर्छ’ भनेर हल्लाखल्ला गर्न नबिर्सनू। आशीष जति मागे पनि दिनू।

हे बा ! कोरोनाको खतरा टार्ने अर्को मन्त्र पनि नबिर्सनु होला। घरमा आउने पाहुना कसैलाई एक सेकेन्ड पनि मास्क खोल्न नदिनू। त्यति भएपछि कसैलाई खाजा त के पानी पनि दिनु परेन। अब बालाई पैसा किन चाहियो ? त्यसैले बाले यसपालि मसँग दसैं खर्चको आशा नगर्नू। आशा गरे पनि के गर्नु ! डुहुरे स्कुल बन्द भएको आठ महिना भइसक्यो, एक पैसा तलब पाएको छैन। अलिअलि भएको बचत भात खाएर सकियो। घरबेटीलाई ललाईफकाई डेराभाडा पनि टार्दैछु। अब वैदेशिक रोजगारी खुला हुनासाथ भागेर खाडीतिर लाग्नु छ। दसैंपछि म आउँछु, गैरीखेत किन्ने गाहकी खोज्दै गर्नू।

ल है बा, सरकारले पनि जिउको इम्युनिटी पावर बढाउन जनतालाई घिउ खानू भनेको छ। माछा, मासु, दूध र फलफूल बेस्सरी खान’ भनेको छ। छैन भने दाल, भात, तरकारी, त्यो पनि नभए ढिँडो, गुन्द्रुक, मकै, भटमास खाएर कोरोनासँग लड्नू भनेको छ। त्यति पनि जुटाउन नसक्ने सम्भावित समृद्ध मुलुकका हुतिहारा नागरिकले अदुवा, लसुन र बेसारको झोल पिएर, हाच्छिउँ साच्छिउँ गरेर कोरोनालाई उडाउनू भनेको छ। बाले पनि त्यसै गर्नू, सरकारले भनेको मान्नू। यताबाट आउने कोही फेला परे होमियोप्याथिका सेता डल्ला पठाइदिन्छु, त्यो चुस्नू। गुर्जो, चिराइतो, तीतेपातीहरूका झोल पिउँदै गर्नू। साह्रै सावधान हुनू, जसरी पनि कोरोना लाग्न नदिनू।

सरकारले पहिले पनि भनेको थियो, ‘आफ्नो गाउँ आफैं बनाउनू’, अहिले पनि भनेको छ, ‘आफ्नो ज्यान आफैं जोगाउनू’। त्यसैले खाने कुराले मात्रै नथाम्ने जस्तो भयो भने लाउने कुरामा बल गर्नू। जस्तै, धामी लाउनू, झाँक्री लाउनू, थाल ठट्टाउनू, ढ्याङ्ग्रो बजाउनू, खोर्सानीको धुवाँ उडाउनू। नाकको एउटा प्वालबाट तातो पानी हालेर अर्कोबाट झार्दा कोरोनाको बोसो पग्लिन्छ अरे भन्ने पनि सुनिएको छ, त्यो पनि गर्नू। योग र ध्यानमा पनि ध्यान दिनू। अनुलोम विलोम गर्नू, भस्त्रीका, कपालभातीलगायत नानाभाँती उपाय लगाउनू। 
यति गरेर कोरानालाई घेराबन्दीमा पारेपछि सच्चा नेपालीका सन्तानलाई यो कोरोना सोरोना केही लाग्दैन। कदाचित् लागिहाले पनि डराउनु पर्दैन बा, आयु पुगेका र वायु सिद्धिएकालाई मात्र यसले लाने हो, बाँकीलाई केही लछारपाटो लाउँदैन। यति गर्दा पनि इम्युनिटी पावर बढाउनै नसकेर नेपाली भन्नै नसुहाउने कुनै लुम्रो मरेछ भने सम्झिनू, त्यो भोकले मरेको होइन, भाग्यले मरेको हो। रोगले मरेको होइन, कर्मले मरेको हो।

लौ त बा, यसपालिको दसैं यस्तै भो। धेरै के लेखौं। मलाई पनि फेरि अस्ति जस्तै ज्वरो आएजस्तो, सास फेर्न गाह्रो भएजस्तो भइराछ। कोरोना र भोकमरी दुवैबाट उम्किएर बाँचिएछ भने आउने वर्ष मज्जाले मनाउँला नि दसैं। है बा !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.