सरकारले आफ्नो भूमिसमेत दाबी गर्न सकेन : सिंह
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले आफ्नो भूमिसमेत दाबी गर्न नसकेको बताएका छन्। हुम्लामा नेपाली भूमि चीनले अतिक्रमण गरेकोबारे बुझ्न गएको सरकारी टोली नपुग्दै परराष्ट्रमन्त्रीसमेत रहेका सरकारका प्रवक्ताले भूमि मिचेकै छैन भनेर अपरिपक्व अभिव्यक्ति दिएको भन्दै उनले यस्तो बताएका हुन्।
नागार्जुन नगरपालिकाले सिउजाटारमा निर्माण गरेको ओपन फिटनेस पार्कको उद्घाटन गर्दै शनिबार उनले सरकारको परराष्ट्रनीति असन्तुलित देखिएको धारणा राखे। `आफ्नो राष्ट्रको भूभाग संरक्षण गर्दै सरकारले सुरक्षा दिन सक्ने कि नसक्ने जस्तो भान जनतालाई भइरहेको छ। यो दुर्भाग्य हो',उनले भने।
सिंहले अहिले ठुला ठेला भ्रष्टाचार काण्ड भएको भन्दै त्यसको निष्पक्ष छानविनको पनि माग गरे। जतिसुकै ठूलो नेता भएपनि भ्रष्टाचारमा संलग्न भए उन्मुक्ति दिन नहुनेमा उनले जोड दिए।
कार्यक्रममा मेयर मोहनबहादुर बस्नेतले स्युचाटारले प्रजातान्त्र स्थापनाका लागि कलंकीको मोर्चामा संघर्ष गर्दै बलिदान दिएको स्मरण गर्दै यो ठाउँमा नमूना विकास गर्ने बताए। अब कांग्रेस हाक्न र मुलुकलाई कुसल नेतृत्व दिन आगामी महाधिवेशनबाट प्रकाशमान सिहलाई सभापति बनाउनु पर्ने उनको धारणा छ।