एउटा रहस्यको खलबल

एउटा रहस्यको खलबल

उसको एउटी मायालु स्वास्नी– गीता ! उसको एउटा सुखी परिवार। उसका कोठाभित्र दुई विपरीत लिंगीहरू ! छुन आनन्द आउने हातहरू भएको तरुनी गीता ! गाजले आँखामा उसको हृदय कल्पाउने सुन्दरी गीता ! ‘गीता...’, उसको मायालु स्वर गुञ्जिन्छ। ‘हजुर’ झिनो तार झंकृत हुन्छ। ‘मेरो माया लाग्छ ?’, भावुक अनुहार उत्रन्छ। ‘छिः हजुर पनि... !’,


दुई वर्षयता वीरेन्द्रले मनस्थितिमा के कस्तो परिवर्तन ल्याएर हो कुन्नि ! चौबिसै घण्टा रक्सीको मीठो घुट्कोमा बेहोसको मीठो अंकमालमा आफूलाई समर्पण गर्‍यो। उसलाई थाहा छ– उसको कथा सबैका लागि अहितकर छ, उसको जीवन तर पनि सबैका लागि रहस्य बनेको छ। विचित्र रहस्यको कुरा ! उसको हृदयभित्र टाँसिएको छायाँ– ऊ बाहिर ल्याउँदैन। दुई वर्षमा ६ महिना पूरा त ऊ चिकित्सालयमा थियो। उसको मुटु असाध्य कमजोर, यही नै उसको रोग।

अझ पनि ऊ राम्रो हिँड्न सक्तैन, धेरै बेर बस्न तथा धेरै बेर बोल्न सक्तैन। कमै मानिससित ऊ सम्पर्क राख्छ। कमैसँग बोल्छ अनि कमै उसको कोठामा आउने जाने पनि गर्छन्। ऊ विचित्र अवस्थाका तरंगहरूमा आफूलाई लहराइरहेको हुन्छ। यसैले उसको कोठामा पस्ने कतिले मिठासपूर्ण त कतिले भावपूर्ण, कतिले रिसरागपूर्ण बोलीका स्वागतहरूले आफूलाई त्यहाँबाट फर्काउँछन्। भोलिपल्ट जानु– हिजोको घटना, कुराकानी तथा मानिसका सम्बन्धमा त के कुरा ! जसले हिजैलाई पनि बिर्सिदिन्छ। केवल उसको आज प्यारो हुन्छ, यो क्षण प्यारो हुन्छ। भोलिमा उसको थोरै पनि विश्वास छैन। उसको मस्तिष्कमा के कस्ता कल्पना, सपना र जपना सिँगौरी खेल्छन् कुन्नि ! उसका गडेको दोटा काला आँखा सधैं निहुरेका पाइन्छन्। उसको मुखाकृतिमा एउटा गहिरो गम्भीरता र व्यक्तित्व भेटिन्छ, जो कसैसँग मिल्दैन। उसको त्यस भावभंगीले तपाईंलाई मात्र होइन, मलाई पनि छक्क पार्छ।

एउटी आमा र ऊ ! त्यस घरका दोटा सञ्चालक ! दुई वर्षपहिले उभित्र आमा ! उसको मस्तिष्कमा आमा ! अहिले ऊ आमाको छातीभित्र– पिँडालुको पातमा टप्केको पानी झैं ! अहिले एउटा अधबैंसे मान्छे ऊ– पहिले एउटा सिंगो तन्नेरी जीउ उसको ! त्यही उसको तन्नेरी जीउलाई अगाडि राखेर ऊ अतीतलाई सम्झँदै गन्थन गर्छ रे। ढोकाबाहिरबाट चियाउने मानिसहरूको भनाइ यस्तै छ। ‘वीरेन्द्र ! तन्नेरी वीरेन्द्र’ उसको मुखबाट यी शब्दहरू यस्तो स्वाभाविक ढंगमा बाहिर उत्रन्छन् कि लाग्छ कोही मान्छेसँग ऊ गफ गरिरहेको छ। उसको एउटी मायालु स्वास्नी– गीता ! उसको एउटा सुखी परिवार। उसका कोठाभित्र दुई विपरीत लिंगीहरू ! छुन आनन्द आउने हातहरू भएको तरुनी गीता ! गाजले आँखामा उसको हृदय कल्पाउने सुन्दरी गीता ! 
‘गीता...’, उसको मायालु स्वर गुञ्जिन्छ। ‘हजुर’ झिनो तार झंकृत हुन्छ।
‘मेरो माया लाग्छ ?’, भावुक अनुहार उत्रन्छ। ‘छिः हजुर पनि...’, लाजले पुरिएको गुलाफी गाला सिरकमा गुम्सिन्छ।

०००
‘भनन मेरो माया कति लाग्छ तिमीलाई... ’
‘हजुरलाई जत्ति भने पनि नपुग्ने, भाग हो र !’
‘अनि के हो त प्रेम ! भाग होइन, जति माग्यो उति पाइने !’ 

सिरकको अनुहारलाई तन्नेरी वीरेन्द्र हलुको जबर्जस्तीमै आफ्नो अनुहार अगाडि उभ्याउँछ। दुईटा ऐना सामुन्ने छन्। चारवटा स–साना काला बिजुली बत्तीहरू फ्ल्याक्स दिइरहेछन्। दुई ओठ मिल्छन्, दुई गाला जोडिन्छन्। उसको शरीरभरि रोमाञ्च हुन्छ। अगाडिको शरीर मायाको एउटा सिंगो थैलो, स्नेहको ढुकुटीजस्तो अनुभव हुन्छ उसलाई। अनि उसको म्वाइँ दिने ओठमा अरू गति स्फूरित हुन्छ। उसलाई संसार एउटा अनौठो आनन्दको म्युजियम लाग्छ। बिहेको पहिलो रातको धड्कन यो। यस्तै एक रातको अर्धफग्ल्याटोमा वीरेन्द्रको तन्नेरी शरीर तरुनी गीतासँग कुरा गर्छ।

‘गीता ! आखिर मिलन हुन्थ्यो नै ! व्यर्थै हामीले जवानीको जोसमा एउटा सृष्टिलाई मास्यौं, होइन त ?’
‘तपाईंकै करले त हो नि ! मैले त ठ्याम्मै मानेको थिइनँ।’
‘के गर्ने त्यस बेलाको मेरो बुद्धि ! आफैंलाई घृणा लाग्छ, सत्य गीता !’ 
‘बितेको कुरा सम्झिने फेरि ! भो... ’, एक्कासि गीता रुन रुन खोज्छे। 

‘तर सृष्टिप्रतिको हाम्रो उपहासलाई भविष्यले हामीलाई गिज्याउँनेछ गीता ! त्यो बालक अहिले भइदिएको भए हाम्रो स्नेहको प्रतीक हुन्थ्यो ऊ ! त्यसभन्दा पर हाम्रो विवाहपहिलेको प्रेमको साक्षी हुन्थ्यो ऊ ! हाम्रो संगममा उसकै वासना थियो होइन त ? फेरि किन त हामीले चक्कीले झोलले... ’ 

अहिले गीताको भावुक अनुहारबाट आँसुको वर्षा हुन्छ। उसको तरुनो जीउ हलचलै नगरी सुत्छ। तर, उसको कल्पना भने सजीव भएर उठ्छ– उसलाई अलिकति पनि निद्रा आउँदैन। उसको मातृत्व। आमा भन्ने वस्तुको घृणा ! एउटी अविवाहिता नारी ! विवशताको झोलमा कसरी घोलिन्छे ! लोग्ने मान्छे पापी ! अपराध हो त्यो ! साँच्चै नै त्यो बालक कस्तो हुन्थ्यो होला ? उसका गाला, आँखा, नाक सबै कस्ता हुन्थे होलान् ? अहिले त झन्डै अढाई वर्षको भइसक्थ्यो, खेल्थ्यो, हिँड्थ्यो। महाअपराध ! चार महिना पुगेको उसका कलिला जोडिन आँटेका मांसतन्तुलाई त्यो तीतो औषधिले कसरी छ्याल्लब्याल्ल पार्‍यो होला ! ऊ सम्झनै सक्तिनँ– त्यो अपराधलाई ! त्यो विवशतालाई ! आखिर केका लागि यो सब थियो ! सम्भव छ– वीरेन्द्र धोका दिन चाहन्थ्यो, प्यास मेटेर आफू उम्कन चाहन्थ्यो। उसको बालकको ज्यानमारा वीरेन्द्र यो !

मानवताको कलंक यो ! अहिले उसको आँखाभरि एउटा हँसिलो र कलकलाउँदो बालक उत्रन्छ। उसका मधुरो तोतेबोलीले– उसका कान खुल्छन्। चिची ! पापा ! ए आमा ! यस्तै ओहो ! वीरेन्द्रसँगको उसको जीवन ! ज्यानमाराकी स्वास्नी ऊ ! एक मनले गीता सम्झन्छे– यत्ति सानो कुरा ! उसले चित्त दुखाउन नहुने ! तर अर्को मन भन्छ– यो साधारण कुरा होइन ! वीरेन्द्र बिहे गर्न चाहँदैनथ्यो। उनको जीवनसँग खेलबाड गर्न चाहने वीरेन्द्र ! उसको बालकलाई मार्ने वीरेन्द्र ! यसको बदला लिनु पर्छ, यसको प्रतिशोध हुनै पर्छ। एउटा गहिरो समस्या आफैंले आफैंभित्र किन किन उमारी गीताले। त्यसलाई अझ खोतली झिकी र रुन लागी ! आफ्नो सन्तानको माया कसलाई पो हुँदैन र ! मेरो बाबा। तिमी कस्तो हुन्थ्यौ होला ! रात ढल्दै जान्छ– गीताको हृदयको मूल पनि फुट्दै जान्छ। त्यस बालकको अभावमा ऊ आफू बाँच्नै नसक्ने ठान्छे। यत्ति नरमाइलो संसार अरू कहिल्यै उसले अनुभव गरेकी थिइनँ। कहिले सोचेकी थिइनँ।
फलतः भोलिपल्ट बिहान गीता पूरा खोक्रिन्छ। ऊ त्यो सम्भावित र काल्पनिक बालकको अनुहारमा आफूलाई बिर्सन्छे। ऊ रुन्छे कहिले ! ऊ हाँस्छे कहिले ! एकै रातमा उसको अवस्था पानीमा परेको बालकको अथवा फोहोर ठाउँमा झरेको फूलको जस्तो हुन्छ। सबै भन्छन्– गीतालाई हिस्टेरिया भएछ। उसको उपचार हुन्छ। डाक्टर आउँछन्। तर सब बालुवामा राखेको पानी जस्तो मात्र हुन्छ। अर्कोतिर उसको मानसिकता बिग्रँदै जान्छ। उसको मनोभूमिमा त्यही काल्पनिक बालकको निरीह मूर्ति एक टकले उभिइरहन्छ। आफ्नो काल्पनिक संसारमा ऊ त्यो

बालकलाई म्वाइँले भिजाइदिन्छे। बोलाइदिन्छे, जिस्क्याइदिन्छे, हँसाइदिन्छे र आफू पनि मरी मरी हाँस्छे। कहिले ऊ गम्भीर र कठोर देखिन्छे– एक्कासि। अनि ऊ ओछ्यान, टेबुल, कुर्सी सबैलाई जोडतोडले मुक्का हान्न लाग्छे। कोही छेउमा बस्न हुन्न। सबैसँग उस्तै व्यवहार हुन्छ। त्यसपछि रुँदै कराउन लाग्छे ऊ...’ यस मान्छेले विवाह गर्नुपहिले मेरो छोराको हत्या गरेको छ। ज्यानमाराको घर यो ! म यहाँ एकै क्षण टिक्न सक्तिनँ। प्रधानमन्त्री हुने मेरो छोरो। वीरेन्द्रलाई थुन्नुपर्छ। प्रधानमन्त्री मार्‍यो त्यसले। उसलाई सान्त्वना दिने सम्झाउने र बुझाउने कोही त्यहाँ हुन्न। ऊ अझै कराउँदै रहन्छे– ‘मेरो गर्भमा बास लिइसकेको त्यो अनुहारले मलाई बोलाएको छ। म त्यहीँ जान्छु। गर्भ तुहाउने वीरेन्द्र यो। आम्मै त्यो तीतो औषधिले उसको कोमल शरीर कसरी दुई फ्याक भयो होला ! उसलाई कति दुख्यो होला ! कति दुख्यो होला !! अपराध !! 

रुँदारुँदा गीताका न त आँखाहरू नै थाक्छन्, सम्झँदा सम्झँदा न त हृदय नै। एउटा विचित्रको रहस्यभित्र आफूलाई ऊ राख्छे। हुँदा हुँदा बीरेन्द्रको आवश्यकताबाट च्यूत उसको स्वास्नी हुनबाट अयोग्य बौलाही नारी नै बन्छे ऊ ! वीरेन्द्र र गीताको प्रेम प्रवाहको भँगालो छुट्टिन्छ। दुवैको जीवन कहिल्यै नसुल्झने एउटा समस्या नै बन्छ। 

हो– यहीँ आएर तन्नेरी वीरेन्द्रको पतन सुरु हुन्छ, इतिहासको पाना पल्टन्छ। ऊ स्वास्नीबाट टाढा रहन थाल्छ। भाग्न लाग्छ। मानौं स्वास्नी भूतको रूपमा उसको सामु खडा छ। उसको कोठा नै अलग्गै हुन्छ, धुन नै बेग्लै हुन्छ। यो अवस्थामा वीरेन्द्रको उपेक्षा गीताको निम्ति अरू बढी प्रेरणाको वस्तु हुन्छ। अनि ऊ आफ्नै रागमा, आफ्नै क्षितिजमा आफ्नो सर्वस्व गुमाउँछे। त्यो साँचो भूत र त्यो काल्पनिक भविष्य उसको मस्तिष्कमा चक्कराइरहन्छ, काँढाले झैं घोचिरहन्छ। यसैले आफ्नु टाढाको माइती घर पुग्छे, ऊ– मस्तिष्कको विकार हटाउन। 

त्यहाँको सङ्लो हावा, चोखो र निर्मल वातावरणमा गीताको जीवन झन् उराठिलो बन्छ, सम्झनाका थुप्रै बादलहरू उसको मुटुभित्र अरू बढी फाट्छन्। उसको कलिलो मुटुको भागमा त्यही काल्पनिक बालकको सास खेल्न पुग्छ, त्यही रहस्यको छायाँ थुप्रिन्छ। त्यो तातो तातो तरल तरल पदार्थको सम्मिश्रण ! उसको रगत ! उसको बलिदान ! त्यसको बदला वीरेन्द्रको राक्षसी मनोवृत्ति ! सृष्टिको उपेक्षा ! गीतामा भयंकर प्रतिशोधको भावना उदाउँछ– वीरेन्द्रको कार्यप्रति ! उसको रवाफी मनोवृत्तिप्रति ! उसको जीउ कसरी खङ्रङ्ग परेको थियो। ऊ कसरी सुकेकी थिई। 

फेरि यत्रो लामो अवधिमा वीरेन्द्रले उसलाई नसम्झनु। डाक्दै नडाक्नु ! वास्तै नगर्नु ! हो– वीरेन्द्र पक्का गुन्डा हो, कायर हो। उसको चारमहिने बच्चालाई मारेर समाजमा श्रद्धा र सम्मान लुट्न चाहने, प्रतिष्ठा चाहनेले उसँग फेरि प्रेमको अभिनय ! केको माया ! उसले ऊ असलै गरी वीरेन्द्रलाई छाडेर। के विश्वास उसका अरू पनि सन्तानलाई मारेर वीरेन्द्रको पापको कथा अरू बढ्दै नजाओस् ! अन्त्यमा वीरेन्द्रको अपराधी अनुहार जीवनभर नहेर्ने प्रतिज्ञामा गीता आफूलाई दृढ गराउँछे। 

वीरेन्द्र भाग्दै जान्छ, कुद्दै जान्छ– मानौं गीता उसलाई जोड तोड पछ्याइरहेकी छे। हो, एउटी बौलाही आइमाईलाई ऊ कसरी स्वास्नी भनोस्। तर उसको यो तर्क, यो विचार, यो दृढता दुई वर्षयता यतिसारो चिप्लिन्छ, यतिसारो खुस्किन्छ, जसको केही सीमा हुँदैन। गीताको अनुहार हेर्न नपाउँदा वीरेन्द्रको मानसिक– व्यग्रता जोडतोडले बढ्छ। जसबाट ऊ टाढा टाढा रहन चाहन्थ्यो, त्यही उसको आँखामा पछ्याउँछ, उसको हृदयमा कोट्याउँछ,  चिथोर्छ। गीताको स्वर फेरि त्यहाँ गुञ्जन्छ– ‘मैले ठ्याम्मै मानेकी थिइनँ, तपाईं कै करले त हो नि ?’
साँच्चै ऊ अपराधी हो जसले सिर्जनालाई विनाश गर्‍यो, वसन्तको कोपिलामा हिउँको प्रहार गर्‍यो। उसको भित्री मन भन्छ– ऊ पक्का ज्यानमारा हो, त्यति मात्र होइन, गीताको मगज विकृतिको कारण पनि हो ऊ। उसलाई बाँच्ने अधिकार छैन। उसलाई गीता चाहिन्छ। गीताले माफी दिनुपर्छ। एउटा कलकलाउँदो छोरो गीताले जन्माइदिनुपर्छ। तब मात्र बाँच्छ ऊ ! तर, उसका लाखौं प्रयत्न र चिठीहरू गीताको हृदयमा छिर्नै सक्तैनन्। फलस्वरूप गीतालाई ऊ पाउन सक्दैन। हो– गीता ज्यान गए आउदिनँ। गीता सपना जस्तै आउँछे अनि सपना जस्तै जान्छे। 

अधबैंसे वीरेन्द्र छ त्यहाँ, अब स्वास्नीले पाचुके गरेको एउटा लोग्नेमान्छे। रक्सीको बोतलमा जीवनको अतीतलाई बिर्सन चाहने एउटा कथा छ त्यहाँ। सम्झनाको अन्तिम प्रहरीमा आफूलाई फुक्ने एउटा नामी रक्स्याहा छ त्यहाँ ! अर्कोपटक... ! वीरेन्द्रको स्वरको रफ्तार यसरी नै वृद्धि हुन्छ। रक्सीको कडा नसामा ऊ गीतासँग पुग्छ। आफ्नो कलकलाउँदो छोरो खेलाउँछ ऊ। अपशोच ! ऊबिना पनि गीताले छोरो पाइछ ! अर्को बोतल खलल..., उसको छातीभित्र पस्छ। ऊ पिउँदै जान्छ। जीवनको रहस्यमा ऊ, अझ पस्दै जान्छ। एउटा रूखो विशाल मरुभूमि बन्छ उसको मुटु–नदीको भँगालो झैं रक्सीको खोलो बग्छ त्यहाँ। रातभरमा धेरै घैंटा र बोतलहरू रित्तिन्छन्। उसलाई संसारै पनि रित्तो लाग्छ। बेहोसको अन्तिम क्षणमा आफूलाई उसले हराउँछ। रातको गहनतामा वीरेन्द्रको अधबैंसे मन छिपिन्छ र पाक्छ। त्यहाँ थुप्रै छायाँहरू आउँछन्, हराउँछन्। 

भोलि बिहान ढोका खुल्छ। उसकी आमा एक्कासि कहालिन्छे– एक माना जति रगत भिजेको तन्नामा उसको एक्लो छोरोको टाउको घोप्टेको छ। परतिर धेरै घैंटा र बोतलहरूका ताँती। कोठा एउटा रहस्य बन्छ। आमा रुदै भन्छे– ‘मैले त भनेकै हो, बढ्ता नखानु भनेर... ! मेरो बाबा...!! मेरो वीरेन...!!!’ अब वीरेन्द्र कोहीसँग बोल्दैन– जीवनभर। पारिको डाँडाबाट घामको एक झल्को आउँछ र वीरेन्द्रको कोठाभित्र पस्छ। सायद जीवनको एउटा रहस्य उसलाई छाडेर जान्छ। आमा मनमनै सम्झन्छे– यो कस्तो प्रतिद्वन्द्वित हो ? उता गीता हिजो झुन्डिई, आज यता...। 

आमा क्वाँ–क्वाँ रुन्छे। बाहिर खलबल बढ्दै जान्छ– एउटा रहस्यको खलबल, यौटा यथार्थताको खलबल। आमालाई लाग्छ– यहाँ केही पनि भएको छैन। यहाँ त्यस्तो केही घटेको छैन। र फेरि ऊ किन रुन्छे ? उसलाई स्वयं थाहा छैन।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.