साहित्यमा दसैंको सुगन्ध
मानव सभ्यताको विकाससँगै देखा परेको एउटा प्राचीनतम पर्व दसैं हो। यसको सम्बन्ध हिन्दू समाज र संस्कृतिसँग गाँसिएको छ। विश्व परिवेशमा जहाँ जहाँ हिन्दू परम्परा र संस्कृतिको विशेष प्रभाव पाइन्छ, त्यहाँ त्यहाँ दसैंलाई विशिष्ट चाडपर्वका रूपमा मनाउने गरिन्छ। नेपाल, नेपाली समाज र नेपाली संस्कृतिले पनि यसलाई राष्ट्रिय महापर्वका रूपमा सम्बोधन गर्दै आएको छ।
दसैं धार्मिक, सांस्कृतिक, सामाजिक तथा मनोवैज्ञानिक दृष्टिले महत्वपूर्ण पर्व मानिन्छ। धार्मिक दृष्टिले नवदुर्गाको पूजाआराधनासँग यसको सम्बन्ध हुन्छ भने सांस्कृतिक तथा सामाजिक दृष्टिले ठूलाबडाबाट लिइने आशीर्वाद, टीकाजमरा, पिङ, चंगालगायत अनेक पक्षसँग सम्बन्ध गाँसिँदै आएको हुन्छ। दसैंको अर्को महत्वपूर्ण सम्बन्ध मानिसको मनोविज्ञानसँग गाँसिएको छ। दसैंकै अवसरमा मानिसले विभिन्न योजना बनाउँदै आएका हुन्छन्। आफ्नो रुचि, स्वभाव र परिवेशअनुसार पारिवारिक मिलन, भ्रमण, मनोरञ्जनलगायतका क्रियाकलापबाट पृथक्पृथक् अनुभूतिहरू गरिरहेका हुन्छन्। बहुधार्मिक, बहुसांस्कृतिक तथा बहुभाषिक मुलुक नेपालका सन्दर्भमा दसैंको अवधिलाई हरेकले आआफ्नै ढंगबाट हर्षोल्लासका साथ उपयोग गर्नु नै यसको गरिमा र महत्ता मानिन्छ। अझ कैयौं साहित्यकार वा सर्जकहरूका लागि त यही दसैं–तिहारको अवधि नै अत्यन्त अनुकूल बन्ने गरेको पाइन्छ।
नेपाली लोकगीत, लोकगाथा, लोकभाका तथा लोकनृत्य आदिमा दसैंको प्रशस्त मात्रामा गहिरो प्रभाव रहेको देखिन्छ। नेपाली साहित्यका स्थापित अथवा उदीयमान प्रतिभाहरूबाट समेत दसैंतिहारका विषयमा विभिन्न विधाका माध्यमबाट साहित्यिक अभिव्यक्तिहरू मुखरित हुँदै आएका छन्। अथवा भनुँ, पौराणिक तथा अनूदित कृतिहरूका अतिरिक्त पनि मौलिक सिर्जनाहरू थपिँदै गएका छन्। यस सन्दर्भमा कविशिरोमणि लेखनाथ पौड्यालका यी कवितात्मक पंक्तिहरूको स्मरण गर्न सकिन्छ ः–
भवानीको गर्यो पूजा चल्यो आनन्दको वर्षा
ठूला साना सबैलाई दसैं अत्यन्त राम्रो छ
चलेका चाडमा ज्यादा यही उत्कृष्ट हाम्रो छ...।
यसै क्रममा बहुमुखी प्रतिभाका धनी राष्ट्रकवि माधव घिमिरेका यी पंक्तिसमेत स्मरणीय हुन आउँछन् ः–
दसैं र तिहार रमाइला हाम्रा चुड्का र ख्यालीले
हिर्दय हाम्रो जुर्मुराउँछ जितको झ्यालीले
बैंसको तालमा नाचौंला कहाँ मादलै नरहे
नेपाली हामी रहौंला कहाँ नेपालै नरहे...।
राष्ट्रकविको एउटा पृथक् प्रतिभा भनेको अनुवादक व्यक्तित्व पनि हो। कदाचित् उनलाई बडादसैंजस्तो महापर्वसँग गाँसिएको विषयवस्तु केन्द्रित छुट्टै कृति तयार गर्ने अभिलाषा जागेको हुँदो हो। त्यसैको परिणामस्वरूप उनीबाट एउटा स्तरीय नेपाली अनूदित कृति सार्वजनिक भएको पाइन्छ। यद्यपि उनले पूर्वीय संस्कृत वाङ्मयभित्रका ऋग्वेदका सुक्तहरू तथा नागानन्द नाटक आदिको अनुवाद पनि गरेका छन्।
बडादसैंको सन्दर्भसँग गाँसिएको आध्यात्मिक वा धार्मिक कृति हो– दुर्गाशप्तशती। संस्कृतको यसै कृतिलाई राष्ट्रकवि माधव घिमिरेले पहिलोपटक २००२ सालतिर नेपालीमा अनुवाद गरेका थिए। तर, यो कृति २०५८ सालमा पुनः परिष्कार, परिमार्जन वा संशोधनपश्चात् मात्र जगदम्बा प्रकाशनबाट प्रकाशित हुन पुग्यो। कविभित्र उदीयमान कवित्वचेतको विशिष्ट प्रभाव रहेको यस कृतिमा अनुवादकलाको भरपूर उपयोग भएको पाइन्छ। उदाहरणका लागि सहज एवं संवेद्य ढंगबाट छचल्किएको कवित्वचेतको एउटा अंशलाई हेर्न सकिन्छ ः–
तिम्रो धप्धप धप्किँदो लपलपे तर्बारको तेजले
तिम्रो तीक्ष्ण त्रिशूलको झिरिझिरी झिरैसरी तेजले
सोभैm तिर्मिरिएर नै असुरका आँखा फुटेनन् अहो !
तिम्रै शीतल चन्द्रतुल्य मुखको सौन्दर्य देखेर हो...।
वास्तवमा भगवती दुर्गाको स्तुतिगानका सन्दर्भमा अनुवाद गरिएका यस्ता अंशहरू नेपाली अनुवाद साहित्यका दृष्टिले निकै उल्लेखनीय मानिन्छन्। यसैगरी कविभित्रको प्राकृतिक तथा राष्ट्रियचेत समेत अनुवादकलामा प्रशस्त मात्रामा प्रतिबिम्बित भएको पाइन्छ। मौका मिल्नासाथ नेपाली प्रकृति सुहाउँदो भीर मौरीको सन्दर्भलाई कविले कसरी सुटुक्क मिसाउँदा रहेछन् भन्ने कुरा रिसाएकी रणचण्डी देवीको यस्तो वर्णनबाट प्रस्ट हुन सकिन्छ ः–
रणचण्डी रिसाएर आँखा लाल गरी गरी
मदिरा भीर मौरीको पिउँदै हाँसिन् घरी घरी...।
नेपाली साहित्यमा दसैंलाई सामाजिक, सांस्कृतिक तथा मनोवैज्ञानिक किसिमबाट सम्बोधन गर्दै लेखिएको भीमनिधि तिवारीको टीका एकांकी पनि यस सन्दर्भमा साँच्चिकै उल्लेखनीय छ। एकातिर नेपालीको आर्थिक अवस्था र बाध्यात्मक परिस्थिति तथा अर्कातिर दसैंको आगमनसँगै पारिवारिक सदस्यको मनोविज्ञानमा परेको प्रभाव वास्तवमै सोचनीय देखिन्छ। जसरी भए पनि फूलपातीको दिनसम्म आइपुग्ने कमानसिंह विजयादशमीको अबेर रातसम्म पनि आई नपुग्दा बुढी आमा, श्रीमती र छोरामा परेको मनोवैज्ञानिक प्रभावबाट दसैंसँग नेपाली समाज र संस्कृतिको कस्तो आन्तरिक सम्बन्ध गाँसिँदै आएको रहेछ भन्ने कुरा प्रस्ट हुन्छ। रातिसम्म पर्खेर बसेका पारिवारिक सदस्यबीच टीका लगाउनै लाग्दा अचानक कमानसिंहको आगमनले थपेको प्रसन्नता त झनै अवर्णनीय वा अतुलनीय देखिन्छ।
‘सञ्चै छ बा आजसम्म। यस बेलासम्म पनि नआउँदा मेरो त हंसले नै ठाउँ छोडिसक्या थियो’, बूढीआमाको यस्तो उद्गारले नेपाली समाजमा दसैंको कस्तो प्रभाव रहेछ भन्ने कुराको सङ्केत गर्छ। जुनसुकै परिस्थितिका कारण जतिसुकै टाढा गए पनि दसैंका बेलामा पारिवारिक जमघटको अपेक्षा गरिनुबाट दसैंले पारेको सामाजिक प्रभावबारे मूल्यांकन गर्न सकिन्छ नै। यहाँ अग्रजहरूबाट टीकाआशीर्वाद लिने परम्पराले जुन किसिमबाट आन्तरिक सन्तुष्टि र प्रसन्नता निम्त्याएको देखिन्छ, सायदै अन्य विधिबाट निम्त्याउँदो हो। दसैंसँगै बालबालिकामा उत्पन्न मनोविज्ञान आफैंमा विश्लेषणीय छ। ‘चचहुई... चचहुई...। खुट्टाले दलिन छुनै आँट्यो, हेर्नोस् त आमै’ दसैंको खुसीयालीमा झुमेको बालकभित्र पिङ खेल्दा उत्पन्न स्वाभाविक आनन्दको पराकाष्ठाको यो अभिव्यक्ति। यस किसिमका मनोवैज्ञानिक पक्षहरूभन्दा अलग रहेर दसैंको प्रभावबारे उल्लेख गर्नै सकिँदैन। त्यसैले होला कवि डा. शैलेन्दुप्रकाश नेपालले पनि दसैंका सन्दर्भमा यस्ता अभिव्यक्तिहरू दिएका छन् :
हाँसून् ओठहरू पवित्र मनले बर्साउँदै प्रेरणा
पाऊन् शुद्ध निकास सार्थक बनोस् संगीत उत्प्रेरणा
पक्कै बन्न सकोस् दसैं समयको सौगात संस्कार यो
बाँचून् जीवनका विचित्र सपना समृद्धि आकार यो...।
नेपाली वाङ्मयका सन्दर्भमा यी केही प्रतिनिधिमूलक परिचर्चा मात्र हुन्। यिनले दसैंजस्तो राष्ट्रिय पर्वलाई विभिन्न कोणबाट मूल्यांकन गर्न सकिन्छ भन्ने कुराको दिग्दर्शन गरेका छन्।
जे होस्, दसैं हिन्दूहरूको महान् धार्मिक पर्व हुँदाहुँदै पनि यसका मानवीय सम्बन्धका आयामहरू अनेक प्रकारका छन्। नेपाली साहित्यकारहरूले तिनै दसैंकेन्द्रित अनेकौं विषयलाई यथासमयमा प्रस्तुत गर्दै आएका छन्। कविता–काव्य वा आख्यान आदिका माध्यमबाट दसैंको सन्दर्भलाई समेट्दै पनि छन्। उल्लिखित कतिपय साहित्यकारबाहेक अन्य कैयौं साहित्यकारबाट समेत दसैंकेन्द्रित सिर्जना नभइरहेका भन्ने होइनन् नै। तर पनि, जुन किसिमबाट नेपाली साहित्यको उत्तरोत्तर विकास वा विस्तार हुँदै आएको छ; जुन किसिमका साहित्यिक प्रवृत्तिहरू मौलाउँदै गएका छन्, तिनका सापेक्षतामा दसैंकेन्द्रित अभिव्यक्तिहरू नितान्त न्यून छन्।
दसैंका कारण प्रभावित नेपाली समाज, सभ्यता, संस्कृति, रीतिरिवाज, मनोविज्ञान, कृषि–वनस्पति, अर्थव्यवस्था एवं प्रशासनिक क्षेत्रलगायतका विषयहरूको पूर्णतया प्रभावकारी किसिमबाट अभिव्यक्ति हुन सकेकै छैन। जुन साहित्यमा आफ्नो सभ्यता, संस्कृति, भूगोल, प्रकृति, समाज र पहिचान आदिको चर्चा गरिँदैन। त्यसले कहिल्यै पूर्णता पाउन सक्दैन। अतः दसैंजस्तो विविध पक्षसँग गाँसिएको राष्ट्रिय पर्वको सेरोफेरोमा अझै अनन्त साहित्यहरू सिर्जना हुन सक्छन्। नेपाली मन, मुटु वा पहिचानलाई स्पर्श गर्ने साहित्य लेखनको खाँचो छँदै छ। त्यसैले जुनसुकै प्रवृत्ति, शैली वा प्रयोगबाट नेपाली साहित्यको सिर्जना गरिए पनि त्यहाँ दसैंजस्तो महान् पर्वको प्रभाव विशेषले अवश्य नै स्थान पाउने गरोस्। स्वाभिमानका साथ सबैले आफ्नो सभ्यता र संस्कृतिलाई साहित्यका माध्यमबाट आत्मसात् गर्न सकून्। आपसी सद्भाव र सहिष्णुताका साथ भन्ने गरुन्– दसैंसँग नेपालीपन गाँसिएको छ र नेपाली साहित्यमा दसैंको सुगन्ध भरिएको छ।