डाइनजोगिन, थप्पा र शिवलिंग
सबै समुदायको आआफ्नै संस्कृति छ। एकअर्काको संस्कृतिलाई तुलना गर्न मिल्दैन। सबैको संस्कृतिको आआफ्नै महत्व छ। सबैलाई आफ्नो संस्कृति प्यारो लाग्छ। आजभोलि दसैंमा थारू समुदायमा पनि टीका र जमरा लगाउने चलन बढेको छ। खासमा दसैंमा टीका र जमराको चलन थिएन। तर, दसैं धुमधामसँग मनाउँछन्। घटस्थापनाको पहिलो दिनलाई पेरिवा र दोस्रोदेखि दसौं दिनसम्मलाई क्रमशः द्वितीया, तृतीया, चौथी, पञ्चमी, षष्ठी, सप्तमी, अष्टमी, नवमी र दशमी भनिन्छ।
पेरिवा अर्थात् घटस्थापनाको दिन घरका भित्ताहरूमा कप्टेरोले गिलो चुन र कालो रङले ससाना भित्तेचित्र बनाइन्छ जसलाई डाइनजोगिन भनिन्छ। घरमा नराम्रो शक्ति र बोक्सी प्रवेश नगरुन् भनेर डाइनजोगिन बनाइन्छ। त्यही साँझ साना केटाकेटीको घाँटीमा हिङ र लसुनको पोटी बाँधिदिने चलन छ। नराम्रो शक्ति र बोक्सीले छुन नपाओस् भनेर यस्तो गरिन्छ। पञ्चमीको दिन डाइनजोगिन मेटाएर चामलको पिठो पानीमा गिलो हुने गरी भिजाइन्छ। त्यही गिलो पिठोमा दायाँ हात चोबेर डाइनजोगिन मेटाएर सोही ठाउँमा हत्केला राखिन्छ। जसलाई थप्पा दिनु भनिन्छ।
सप्तमीको दिन काँसको कुचो र बाँसको लठी काटेर ल्याउने चलन छ। त्यो दिन काटेको कुच्चो र लठीलाई शुभ मानिन्छ। पेरिवादेखि सप्तमीसम्म माछा मासु खाइँदैन। कसैलाई ठूलो रोग लागेको बेलामा, निःसन्तान दम्पतीले सन्तानको कामना, जीवनमा सफल भएमा र आफूले इच्छाएको कुरा पूरा भएमा दसैंमा दुर्गाको मूर्ति बनाउने भाकल गरिन्छ। मनोकामना पूरा भएपछि दसैंमा गणेश, सरस्वती, दुर्गा, लक्ष्मी, जोगनी, काली, महादेव, औसरा (राक्षस) को मूर्ति आफ्नो घरमा बनाइन्छ। दुर्गाले भाला औसराको छातीमा घोपिरहेको मूर्ति बनाइएको हुन्छ।
मूर्तिलाई पूजा गर्ने व्यक्ति नौ दिनसम्म फलफूल मात्र खाएर बिहान बेलुकी दुर्गाको मूर्तिहरूमा पूजा गर्छन्। मूर्ति बनाइएको ठाउँमा बिहान बेलुकी महिला र पुरुषहरू भजन कीर्तन गाउँछन्। दसैंको बेलामा थारू गाउँहरू भक्तिभावले भरिएका हुन्छन्। जसले भाकल गरेको हुँदैन वा जुन गाउँमा मूर्ति बनाइएको हुँदैन, त्यो गाउँका मान्छे पैसा चन्दा उठाएर गाउँ नजिकैको बजारमा दुर्गाको मूर्ति बनाउँछन् । चार, पाँच गाउँका मान्छेहरू त्यही जम्मा भएर भजन–कीर्तन गाउँछन्। थारूहरू दसैंभरि पण्डितलाई बोलाएर आआफ्ना घरमा पूजा गर्न लगाउँछन्। पण्डितले माटाको शिवलिंग बनाएर दसैंभरि पूजा गर्छन्। भगवान् शिवलाई देवी शक्तिका बाले आफ्नो घरमा ठूलो यज्ञ गर्दा नबोलाइएको कारण शक्ति देवीले यज्ञमा देह त्याग गरेकी थिइन्। शक्तिको बिछोडमा भाव विह्वल भएका शिवलाई खुसी पार्न उनको पूजा गर्ने चलन छ। पूजाको अन्त्यमा पण्डितहरू बमबम भुरुक्क मन्त्र उच्चारण गर्छन्। बमबम भुरुक्क मन्त्र सुनेर शिव औधी खुसी हुन्छन् भन्ने जनविश्वास छ। दुर्गा वैष्णव अर्थात् शाकाहारी हुन्। तैपनि, नवमी र दशमीको दिन दुर्गाको मूर्ति बनाइएको ठाउँमा कालीको मूर्ति अगाडि बोकाको बली दिने गर्छन्।
अष्टमीको दिनदेखि आफ्नो आर्थिक क्षमताअनुसार बोका काट्ने वा मासु किनेर खाने गर्छन्। सहरमा बस्नेहरू दसैं बिदामा गाउँ आएका हुन्छन्। आफन्तलाई भेटेर एकअर्कासँग शुभकामना र खुसी आदानप्रदान गर्छन्। दशमी अर्थात् बडादसैंको दिन मूर्ति बनाइएको ठाउँमा ठूलो मेला लाग्छ। त्यो मेलालाई दुर्गा मेला भनिन्छ। मान्छेहरू मीठा मीठा परिकार खान्छन्। खाना खाएर मेला हेर्न जान्छन्। बेलुकी दुर्गाको मूर्ति नजिकैको पोखरी वा तलाउमा लगेर सबै मूर्ति दहन गर्छन्। जसलाई मूर्ति भसाउनु भनिन्छ। मूर्ति दहनपछि अर्थात् बडादसैंको भोलिपल्टबाट थारू समुदायमा दसैं समाप्त हुन्छ। थारू समुदायले दसैं यसरी नै धुमधामसँग मनाउँछन्।