धमाधम बन्द हुन थाले खुलेका विद्यालय

धमाधम बन्द हुन थाले खुलेका विद्यालय

दाङ : कोरोनाको कहरका बीचमा नै सञ्चालन आएका दाङका विद्यालयहरु पुन धमाधम बन्द हुन थालेका छन्। चाड पर्वमा पनि केही दिन मात्रै बन्द गर्ने र अन्य समयमा नियमित रुपमा सञ्चालन गर्ने नीति लिएका दाङका पालिकाहरुले पछिल्लो समय विद्यालय धमाधम बन्द गराउन थालेका हुन्। 

समुदायमा कोरोना संक्रमणको उच्च हुँदै गएको र अभिभावकहरुबाट बालबालिकामा कोरोना संक्रमण हुने भयले सार्वजनिक सूचना नै जारी गरेर विद्यालयहरु धमाधम बन्द हुन लागेका हुन्। जिल्लाका दशवटा पालिकामध्ये अधिकांशले खुलेका विद्यालयहरु बन्द गराइ सकेका छन्। एक दुई वटाले मात्रैले नियमित सिकाई केन्द्रको रुपमा सञ्चालन गरेका छन्। 

लामो समयसम्म बन्द भएका दाङका विद्यालयहरु असोज १ गतेदेखि नियमित सञ्चालनमा आएका थिए। नियमित सञ्चालन भएको एक महिनामै पुन विद्यालय बन्द हुन थालेका हुन्। तर पछिल्ले समय जिल्लामा कोरोना संक्रमितहरु बढेपछि शिक्षक, पालिकाका शिक्षा प्रमुखहरु अत्तालिएका छन्। सिकाइ केन्द्रका रुपमा विद्यालय सञ्चालन गर्दा भयावह अवस्था हुनसक्ने त्रासका कारण विद्यालयहरु पुनः बन्द गर्नुपरेको  पालिकाका शिक्षा प्रमुखहरुको भनाइ छ।  

चाडपर्व नजिकिएसँगै गाउँघरमा बढ्ने संक्रमणको जोखिम कम गर्ने असोज २७ गतेदेखि नै विद्यालय बन्द गरिएको बंगलाचुली गाउँपालिकाका शिक्षा प्रमुख ओमप्रकाश केसीले बताए। पालिकामा संक्रमितको सख्या शुन्य भए पनि दसैं तिहारमा घर फर्किने, बजार किनमेल गर्ने, सामान ओसारपसार धेरै हुने हुँदा अभिभावकबाट बालबालिकामा जोखिम बढ्ने देखेर विद्यालय बन्द गर्नुपरेको उनले बताए। 

बालबालिकाहरु आफन्त र परिवारसँग घुलमिल धेरै हुने र पढ्न आउँदा जाँदा जोखिम बढ्ने भएकाले विद्यालय बन्द गर्नुपरेको हो’, उनले भने, ‘अर्को सुचना नआउँदासम्म गाउँपालिकाका विद्यालय बन्द नै हुन्छन्।’

दसैंलगत्तै जिल्लामा कोरोना संक्रमितको अवस्था हेरेर अभिभावक, विद्यालय परिवारको सल्लाह, सुझाव र प्रतिकृया अनुसार विद्यालय सञ्चालनका विषयमा निर्णय गरिने उनले बताए। विद्यालय परिसरभन्दा बाहिर विद्यार्थीहरु कोरोनाको उच्च जोखिममा पर्न सक्ने भन्दै विद्यालयहरु बन्द गरिएको लमही नगरपालिकाका शिक्षा शाखा प्रमुख रविन्द्र क्षेत्रीले बताए। विद्यालय आउँदा र जाँदाको समयमा हुने जमघट, घुलमेलका कारण थप जोखिम हुन सक्ने देखेर विद्यालय बन्द गर्नुपरेको उनले बताए। प्रकोपको सामना गर्नका लागि विद्यालय बन्द गर्नुपर्ने भएपछि विद्यार्थीहरुलाई प्रोजेक्ट वर्क दिइएको उनले बताए। शिक्षण सिकाइ क्रियाकलाप बन्द भए पनि विद्यार्थीको अवस्था र उनीहरुको गतिविधिका बारेमा टेलिफोन मार्फत जानकारी लिइने उनले बताए।

घोराही उपमहानगरपालिकाका विद्यालयहरुमा पनि प्रत्यक्ष सिकाइ सहजीकरण क्रियाकलाप प्रभावित भएको छ। उपमहानगरपालिकाको शिक्षा शाखाले आउँदो कोजाग्रत पूर्णीमासम्मका लागि विद्यालयहरु बन्द हुने सूचना सार्वजनिक गरेसँगै विद्यालयहरु पुनः बन्द भएका हुन्।

बन्द भएका सिकाइ क्रियाकलापहरु कहिले र कसरी पुनः सञ्चालन गर्ने भन्ने बारेमा तत्काल आँकलन गर्न नसकिने उपमहानगरका शिक्षा प्रमुख विनोद गौतम बताउँछन्। ‘कार्तिक १५ गतेसम्मका लागि विद्यालय बन्द भएका छन् ’, उनले भने, ‘दसैंपछि कोरोना संक्रमितको सख्या कस्तो हुन्छ, त्यही अनुसार छलफल गरेपछि पठनपाठन सुरु हुन्छ।’ दंगिशरण, बवई, राप्ती गाउँपालिकाका विद्यालयहरु पनि केही दिन अघिदेखि बन्द भइसकेका छन्।

तुलसीपुरमा बन्द नहुने

जिल्लाका अन्य पालिकाका विद्यालयहरुमा प्रत्यक्ष सिकाइ क्रियाकलाप बन्द गरेको भए पनि तुलसीपुर उपमहानगरपालिकाले भने नियमित गर्ने भएको छ। बजार क्षेत्र र उच्च जोखिममा रहेका वडा बाहेकका सबै वडाहरुमा पठनपाठन सुरु हुने उपमहानगरपालिकाका शिक्षा शाखा अधिकृत चक्रबहादुर भण्डारीले बताए। वडा नम्बर ५ र ६ का सम्पूर्ण विद्यालय र वडा नम्बर ७ का केही विद्यालयहरु बन्द भएको भण्डारीले बताए। 

विद्यालय सञ्चालनका लागि जोखिमका आधारमा तीन क्षेत्र निर्माण गरिएको जानकारी दिए। उच्च जोखिम क्षेत्रका विद्यालयहरुमा वैकल्पिक शिक्षण सिकाइ, जोखिम क्षेत्रका विद्यालयहरुमा वर्कबुक, टास्क निर्माण गरी सोही अनुसार सिकाइ क्रियाकलाप अगाडि बढाउने र जोखिम कम भएका क्षेत्रमा प्रत्यक्ष सिकाइ सहजीकरण गर्ने उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.