ट्रम्पका छोराले भने: नरेन्द्र मोदीसँग मेरो बुबाको एकदम राम्रो सम्बन्ध छ
वासिंटन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका छोराले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफ्ना बाबुको अविश्वसनीय सम्बन्ध भएको बताएका छन् ।
दुबै देशका यी नेताहरु भारत र अमेरिका समाजवाद र साम्यवादविरुद्ध सँगै लडिरहेको बुझेको उनको भनाइ थियो । न्युयोर्कस्थित लङ आइल्याण्डमा चुनाव सन्दर्भमा आयोजित एक कार्यक्रममा ट्रम्प जुनियरले यस्तो बताएका हुन् ।
उनले गत फेब्रुअरीमा भारतमा ट्रम्पको भ्रमणको प्रसंग कोट्याउँदै उक्त भ्रमणमा ट्रम्पले भारतबाट पाएको स्वागत र आतिथ्यता एकदमै ठूलो भएको उनको दावी थियो । ट्रम्प जुनियर हाल नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावका लागि आफ्ना बाबुको चुनावी अभियान सम्हालिरहेका छन् । अमेरिकामा आगामी नोभेम्बर ३ मा नयाँ राष्ट्रपतिका लागि चुनाव हुँदैछ ।
यसमा रिपब्लिकका तर्फबाट वर्तमान राष्ट्रपति ट्रम्प उम्मेदवार छन् भने डेमोक्रेटका तर्फबाट जो बाइडेन प्रतिस्पर्धामा छन् । 'मलाई लाग्छ मेरो बुबा राष्ट्रपति डोनल्ड ट्रम्प र प्रधानमन्त्री नरेन्द्र मोदीको सम्बन्ध अविश्वसनीय छ । तपाइँलाई थाहा छ मेरो बुबाले भारत भ्रमणमा कस्तो आतिथ्यता पाउनुभएको थियो, केही महिनाअघि यो भ्रमण एकदमै भारी थियो,' उनले भने ।
उनीहरुले भारत र अमेरिका विश्वभर फैलिएको समाजवाद र साम्यवादविरुद्ध सँगै लडिरहेको पनि दावी गरे । जुन कुरा मोदी र ट्रम्पलाई जानकारी भएको उनको भनाइ थियो । 'उनीहरुबीच राम्रो सम्बन्ध भएको मलाई मन पर्छ । र त्यस्तो शक्तिशाली सम्बन्ध जसले हाम्रो दुबै देशलाई भविष्यमा फाइदा गर्छ,' उनले भनेका थिए ।
न्युयोर्कमा आइतबार राति उक्त कार्यक्रम इन्डियन अमेरिकनका लागि आयोजना गरिएको थियो । चुनावलाई लक्षित गर्दै हाल दुई उम्मेदवार ट्रम्प र बाइडेन दुबै अमेरिकामा रहेका भारतीय मूलका अमेरिकीहरुको मत संकलन गर्न प्रयत्नरत छन् ।