दुई हप्तामा भ्रष्टाचारविरुद्ध अख्तियारका तीन ‘स्टिङ अपरेशन’
भैरहवा :
घटना २ : रुपन्देहीको इलाका प्रहरी कार्यालय बुटवलका हवल्दार शिवचन्द्र सहानी र उनकी श्रीमती निर्मला केवटले हिरासतमा रहेका व्यक्तिलाई धरौटीमा छुटाइदिने भन्दै चार लाख रुपैयाँ घुस सहित पक्राउ परे ।
घटना ३ : सब डिभिजन वन कार्यालय मुर्गिया रुपन्देहीका वन रक्षक प्रेमचन्द्र बिकले काठ ओसारपसारमा सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग १२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ परे ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालका अनुसार पछिल्लो १३ दिनमा गरिएका तीन वटा ‘स्टिङ अपरेशन’मा तीन जना ‘रक्षक’ सहित पाँच जना पक्राउ परेका छन् ।
अख्तियारले गरेको स्टिङ अपरेशनमध्ये पहिलो (असोज १९ गते) मा प्रहरी नायब निरीक्षक, दोस्रो (असोज ३० गते) मा प्रहरी हवल्दार र उनकी श्रीमती तथा तेस्रो (कार्तिक १ गते) मा वन रक्षक पक्राउ परेका हुन् । बुटवल अख्तियारको २४ घण्टामा दुई वटा स्टिङ अपरेशन सफल भएको छ ।
यस बाहेक असोज २३ गते अख्तियारको सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले बाँकेको इलाका प्रहरी कार्यालय खजुरा खुर्दका हवल्दार राजेश बहादुर द्वालले निजी जग्गामा रहेको आँपको काठ चिरान मिल र ईट्टा भट्टामा लैजानको लागि सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग १३ हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परे ।
बुटवलका प्रहरी हवल्दार प्रहरी दिवसकै दिन पक्राउ परे भने अर्का नेपालगञ्जका हवल्दार र लुम्बिनीका सई प्रहरी दिवसको केही दिनअघि मात्रै पक्राउ परेका हुन् । नेपाल प्रहरीका महानिरीक्षकले प्रहरी संगठनमा भ्रष्टाचार नियन्त्रण गर्ने बताइरहँदा फिल्डमा मातहातका प्रहरी घुसमै रुम्मलिएका छन् ।
कानुन मिच्नेलाई पक्राउ गरी कानुनी कठघरामा उभ्याउने जिम्मेवारी पाएका ‘रक्षक’हरु आफै कानुन मिचेर आर्थिक लाभ लिने दाउमा रहेको अख्तियारको स्टिङ अपरेशनले देखाउँछ । तर, पछिल्लो रुपन्देहीको तीन र बाँकेको एउटा घटनामा घुस सहित पक्राउ परेका ‘रक्षक’हरुको आरोप पुष्टि भइसकेको छैन ।
दसैँको मुखैमा अख्तियारले गरेको स्टिङ अपरेशनमा पक्राउ परेकाहरुको यसपालीको दसैँ थुनामै मनाउने भएका छन् । अख्तियारका अनुसार यी चारै जना ‘रक्षक’ हरु घुस लिएको अवस्थमा पक्राउ परेका हुन् । चारै जनाको रक्षा गर्ने जिम्मेवारी हो । तर, पाएको जिम्मेवारी निर्वाह गर्नुको साटो कानुनलाई मिचेर अघि बढ्दा आफै प्रहरी थुनामा पुगेका छन् ।
सीमा क्षेत्रमा अधिकांश प्रहरी विभागीय उद्देश्य भन्दा राजनितिक पहुँच लगाएर खट्दा समस्या देखिएको नेपाल प्रहरीका पूर्व डिआईजी हेमन्त मल्ल बताउँछन् । राजीनितिक वा माथील्लो अधिकृतसगँ भनसुन गराएर सीमा क्षेत्रमा आउने अधिकांश प्रहरी अतिरिक्त कमाई गर्नेले उद्देश्यले आउने गर्दछन् । प्रहरीमा यो एक किसिमको परम्परा बनिसकेको छ । सीमा क्षेत्रको दरबन्दीका लागि प्रहरीका हाकिम देखि लिएर जवानसम्मले लबिङ गर्छन् ।
भनसुन गरेर सीमा क्षेत्रमा खटाउने क्रम नियन्त्रण नभएसम्म समस्या समाधान हुन कठिन रहेको उनको भनाइ छ । प्रहरीको सेवा सुविधा कम रहेको अवस्थामा पनि भ्रष्टाचारलाई अंगालो हाल्ने नमिल्ने भन्दै उनले फिल्ड खटाइएका प्रहरी माथी पनि निगरानी बढाउन आवश्यक रहेको बताए ।