पोर्नोग्राफी, ब्रेन र बलात्कार
सूचना प्रविधिको विकाससँगै हिजोआज इन्टरनेटमा पोर्न भिडियो, अश्लील साहित्य, अश्लील गेम, फोटो तथा सिनेमाहरू हेर्नेको संख्या संसारभरि निकै बढेको छ। नेपालजस्तो पिछाडिएको देशमा समेत मोबाइल तथा कम्प्युटरमा अश्लील गेम, अश्लील फोटो तथा पोर्न भिडियोहरू खेल्ने, पढ्ने र हेर्नेको संख्या निकै छ। खासगरी किशोर तथा युवायुवती यस किसिमको लतमा परेको देखिन्छ।
पोर्नोग्राफी तथा अश्लील साहित्यको यस लतले युवायुवतीको पढाइलेखाइ तथा करिअरमा मात्र होइन, मानसिक तथा शारीरिक स्वास्थ्यमा समेत कुप्रभाव पार्ने गरेको तथा यसले यौन दुव्र्यवहारलाई समेत प्रोत्साहित गरेको अनेक अध्ययनले जनाएका छन्।
प्रसिद्ध समाजशास्त्री तथा अध्येता प्रा.डा. डाइना ई.एच. रसेलले पोर्नोग्राफीको कारण नै समाजमा यसरी यौन दुव्र्यवहार बढेको जनाउँछिन्। उनको भनाइ छ कि पोर्नोग्राफी पढ्ने तथा हेर्ने व्यक्ति यौन उत्तेजनमा आउँछन् र उत्तेजना मेट्ने सहज माध्यम पाएनन् भने सामाजिक मर्यादा तथा कानुनलाई समेत नजरअन्दाज गरी बलात्कार गर्नसमेत अग्रसर हुन पुग्छन्। उनको यस भनाइलाई बलात्कारमा संलग्न कतिपय बलात्कारीले अश्लील भिडियो (पोर्न) हेरेपछि महिला तथा बालबालिकामाथि बलात्कार तथा यौन दुव्र्यवहार गरेको स्वीकारोक्तिले पनि थप बल दिन्छ।
यौन दुव्र्यवहार न्यूनीकरण गर्न सबैभन्दा पहिला पुरुषमा महिलालाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन हुन जरुरी छ।
प्रसिद्ध लेखिका तथा सामाजिक कार्यकर्ता रोबिन मोर्गनले सन् १९७४ मा एउटा चर्चित किताब लेखेकी थिइन्, थ्योरी एन्ड प्राक्टिस ः पोर्नोग्राफी एन्ड रेप, जुन किताबको निचोड हो– पोर्नोग्राफीले यस्तो सिद्धान्तको रूपमा कार्य गर्छ कि जसलाई व्यावहारिक रूपमा बलात्कारका रूपमा अन्जाम दिन सकिन्छ। अर्थात् पोर्न, सिनेमा तथा अन्य डिजिटल माध्यमका सफ्ट पोर्नहरूको असर मनमस्तिष्कमा गहिरोसँग पर्छ र यसले मानिसलाई यौन हिंसाका लागि मानसिक रूपमा तयार तथा उत्प्रेरित गर्छ। त्यो किनभने मानिसको मस्तिष्क बनौट यसरी बनेको छ कि जुन चिज बारम्बार देखिन्छ, बारम्बार पढिन्छ, बारम्बार सोचिन्छ, त्यसले मन, वचन र कर्ममा प्रत्यक्ष–परोक्षरूपमा अवश्य नै प्रभाव पार्छ।
अमेरिकाको फेडरल ब्युरो अफ इन्भेस्टिगेसनले गरेको एक अध्ययनले यौन हिंसाको ८० प्रतिशत घटनामा पोर्नको संलग्नता देखिएको छ। टेड बन्डी नामक अमेरिकी कुख्यात सिरियल किलर, जसले ३० भन्दा अधिक महिलाको बलात्कार तथा बलात्कारपछि हत्या गरेको आरोपमा सन् १९८९ मा मृत्युदण्ड दिइएको थियो। मृत्युदण्ड दिनुभन्दा एक दिनअघिको अन्तर्वार्तामा उनले भनेका थिए– यदि मलाई पोर्नको लत नलागको हुन्थ्यो भने मैले यति धेरै यौन अपराध गर्दैनथें होला।
क्यानाडाका चार मनोवैज्ञानिक डा. मार्नी राइस, डा. टेरी च्याप्लिन, डा. ग्रान्ट ह्यारिस तथा डा. जोआन काउट्सले १४ जना बलात्कारी तथा १४ जना सामान्य पुरुषहरूको एक समूह बनाई एउटा प्रयोग गरे। प्रयोगको दौरान उनीहरूलाई बलात्कार तथा सहमतिको यौन सम्पर्कसँग सम्बन्धित घटनाहरूको अडियो कथा सुनाइयो। अनि यस्तो वर्णन सुनाउँदा फेल्लोमेट्रिक टेस्टले बलात्कारीहरूको यौनांग उत्तेजित भएको र बलात्कृतप्रति उनीहरूमा कुनै सहानुभूति (इम्पेथी) आएको देखिएन। सहमतिको यौनक्रियाभन्दा पनि बलात्कारका घटना उनीहरूलाई बढी मन परेको देखियो।
तर, कतिपय विद्वान्को तर्क भने विल्कुलै उल्टो छ। उनीहरूको भनाइ छ कि पोर्नले यौन दुव्र्यवहारका घटना बढाएको छैन, बरु घटाएको छ। पोर्न यौन सम्पर्कको एक सशक्त विकल्प हो, उत्तेजक चिज होइन। डा. एन्थोनी डिमेटोको शोधमूलक लेख पोर्न अप, रेप डाउनको निचोड पनि ठीक यस्तै छ। जति धेरै मानिसको नेट पोर्नमा पहुँच, त्यति नै बलात्कारमा कमी। उनको उक्त लेखमा पोर्नले सामाजिक हिंसा पनि घटाएको उल्लेख छ। पोर्न र कपडाका कारणले होइन, बलात्कारीलाई फाँसीको सजाय नभएरै बलात्कार बढेको हो भन्नेहरू पनि संसारभरि नै छन्। पोर्नले यौन दुव्र्यवहार बढाउने तर्कप्रति प्रसिद्ध कानुनविद् प्रा.डा. न्याडिन स्ट्रोसन पनि पूर्ण सहमत छैनन्। उनको भनाइ छ कि पोर्नोग्राफीका कारण महिलाविरुद्धका कुनै गलत आचरण पैदा हुन्छन् भन्ने कुनै ठोस प्रमाण देखा परेका छैनन्।
प्रा.डा. न्याडिन स्ट्रोसनले जेजस्तो तर्क गरे पनि पोर्नोग्राफीले समाजमा यौन दुव्र्यवहारका घटना बढाएको तथ्य नकार्न सकिँदैन। अनेक वैज्ञानिक अध्ययनले समेत यसलाई पुष्टि गरेको छ। कतिपय अध्ययनले त पोर्नोग्राफीले मात्र होइन, सेन्सर बोर्डले सर्वसाधारणका लागि पास गरेका अधिकांश फिल्मले समेत यौन दुव्र्यवहारमा बढावा दिएको देखिन्छ। प्रायः हिन्दी फिल्म, नेपाली फिल्ममा पनि नायिका वा सहनायिका (नायककी बहिनी) भनेको खलनायकले बलात्कार गर्ने चिज हो जस्तो गरेर प्रस्तुत गर्ने गरिन्छ। फिल्ममा देखाइने बलात्कारका यस्ता दृश्यले मानिसको मनमस्तिष्कमा कुप्रभाव पार्छ। त्यसैले त सामूहिक बलात्कारका अधिकांश घटना फिल्मी शैलीमा हुने गर्छन्।
अतः यसरी सार्वजनिक रूपमा प्रदर्शित हुने कतिपय फिल्मले समेत बलात्कारका घटनामा मलजल हाल्ने कार्य गर्छन्। तर यसको मतलब पोर्नोग्राफी तथा फिल्म नै बलात्कारका प्रमुख कारणचाहिँ पक्कै होइनन्। त्यो किनभने आदिकालदेखि नै, जुनबेला फिल्म तथा इन्टरनेटजस्ता माध्यम थिएनन्, बलात्कारका घटना हरेक समाज र संस्कृतिमा घट्दै आएको देखिन्छ। तर प्राचीन समयमा भन्दा आधुनिक कालमा यस्ता घटना निकै बढ्दै गएका छन्। अतः बलात्कारका घटना यसरी बढ्नुको पछाडि स्वयं हाम्रो समाज पनि दोषी छ।
थुप्रै समाजशास्त्रीहरूले बलात्कारलाई एक जघन्य अपराध मात्र होइन कि एक अस्वस्थ समाज, जहाँ महिलामाथि डर, धाक देखाउने तथा महिलालाई अनादर गर्ने गरिन्छ, को लक्षण पनि हो भनेका छन्। अर्को कुरा हाम्रोजस्तो समाजले यस्ता घटनालाई लुकाउन नै ठीक ठान्छ। यसरी बलात्कारका घटनालाई लुकाउने प्रवृत्तिका कारणले बलात्कारीको मनोबल बढ्ने गर्छ।
बलात्कारका अनेक कारण हुन्छन्। तीमध्ये अनुकूल परिस्थिति र कामुक वातावरणले पनि बलात्कारीलाई बलात्कारका लागि उत्प्रेरित गर्ने गर्छ। अध्ययन भन्छ– पोर्नोग्राफी हेर्ने व्यक्तिको मस्तिष्क बढी अब्सेसिभ हुनुका साथै मन कामुक हुने गर्छ। अधिकांश यस्ता व्यक्तिमा पोर्न भिडियोमा झैं यौनक्रिया गर्ने लालसा पैदा हुन्छ। अनि जब अनुकूल वातावरण पैदा हुन्छ, यस्ता व्यक्तिहरू बलात्कार गर्न पनि पछि पर्दैनन्।
मनोवैज्ञानिक दृष्टिमा पुरुषमा हुने पुरुषत्वको अहम् तथा महिलालाई यौनसन्तुष्टिको साधन मान्नु पनि बलात्कारको एक प्रमुख कारण हो। यस कुरामा जोड दिँदै महिलावादी लेखिका सुशन ब्राउनमिलरले भनेकी छिन्– बलात्कार कामुकता (लस्ट) का कारणले होइन कि नियन्त्रण र प्रभुत्वको मनोविज्ञानबाट प्रेरित हुन्छ।
बलात्कार एक सामान्य घटना होइन। त्यो किनभने बलात्कृत महिलालाई शारीरिक, मानसिक तथा भावनात्मक रूपमा समेत चोट परेको हुन्छ। यस्ता महिलाले लोकलाज, अपमानित, भ्रम, भय, त्रास, तनाव, क्रोध तथा बदलाको अनुभव गर्छन्। यस्ता लक्षण एक वर्ष वा एक वर्षभन्दा बढी समयसम्म पनि देखा पर्न सक्छन्। तर धेरै बलात्कृत महिला पीटीएसडीको सिकार बन्न पुग्छन् भने कतिपयले आत्महत्या गर्छन्। मेरो इज्जत लुटियो अब सबै खत्तम भयो भन्ने मानसिकता हाम्रो समाजले नै सिकाएको हो र यस्तो मनस्थिति सिर्जना गर्न फिल्महरूको पनि प्रभाव छ।
बलात्कार सामाजिक तथा कानुनी रूपमा पनि एक जघन्य अपराध हो। त्यसैले संसारभरि नै बढ्दै गएको बलात्कारका घटना रोकथाम गर्न हरेक देशले कुनै न कुनै उपाय अपनाएका छन्। कतिपय देशमा त बलात्कारीलाई निकै कठोर सजाय र मृत्युदण्डसमेत दिने व्यवस्था छ। नेपालमा पनि बलात्कारको प्रकृति हेरेर बलात्कारीलाई जेल–सजायको दण्ड दिइन्छ भने सामाजिक रूपमा पनि बलात्कारीलाई कुट्ने, पिट्ने तथा यदाकदा सामाजिक रूपमा पनि बहिस्कार गर्ने गरिन्छ।
हो, कठोर दण्ड–सजायले केही हदसम्म भए पनि बलात्कारका घटनामा न्यूनीकरण गर्न सक्षम देखिन्छ। तर कठोर सजाय मात्र बलात्कार रोक्ने उपाय भने होइन। न त कुनै देश पोर्न, अश्लील साहित्य तथा सिनेमा पूर्णतया बन्द गर्न सफल हुन सक्छ, न त बन्द तथा कडा सेन्सरसिप नै यसको समाधान हो।
बलात्कारजस्तो क्रूर हिंसा प्रायः यौनिकताबाट प्रेरित हुन्छ, त्यसैले यसलाई जीव विज्ञान तथा मनोविज्ञानका स्तरबाट बुझ्न र बुझाउन आवश्यक छ। यौनेच्छा, यौन सम्पर्क तथा प्रजननलाई जब वैज्ञानिक तरिकाले बुझ्ने र बुझाउने प्रयास हुन्छ, तब मात्र यौनको रहस्यात्मकता, कूतुहलता तथा यससँग जोडिएको आक्रामकताको समन हुन सक्छ। इन्टरनेट तथा सोसल मिडियाको विवेकपूर्ण तथा सुरक्षित ढंगबाट उपयोग गर्न सिक्नु र सिकाउनु पनि एक महत्वपूर्ण कडी हो।
कतिपय चिकित्सक, प्रहरी, वकिल तथा न्यायाधीशहरूको संवेदनहीन रबैया र सहानुभूतिको अभावका कारण बलात्कृतले न्याय नपाउने स्थितिसमेत पैदा हुन्छ। यही कारणले कतिपय बलात्कार पीडितले आफ्नो रिपोर्ट फिर्ता लिन्छन्, कतिपयले त रिपोर्ट नै गर्दैनन्। वास्तवमा यो अहिंसा, करुणा, सहानुभूति (इम्पेथी) तथा मानवीय गरिमाप्रति सम्मानको भावना विकास गर्ने एक महान् सामाजिक तथा सभ्यतामूलक चुनौती हो।
बलात्कारका घटनामा प्रायः पुरुष नै विशेषरूपले अपराधी देखिन्छन्। त्यो किनभने समाजका भएका अधिकांश बलात्कारका घटना पुरुषद्वारा नै गरिएको देखिन्छ। त्यसैले यौन दुव्र्यवहार न्यूनीकरण गर्न सबैभन्दा पहिला पुरुषमा महिलालाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन हुन जरुरी छ। यसका लागि नागरिक शिक्षा, सामाजिक शिक्षा तथा यौन शिक्षा र मनोवैज्ञानिक परामर्श महत्वपूर्ण हुन्छ।
महिलाहरू पनि बलात्कारप्रति सचेत हुने, यसबाट बच्ने उपाय अवलम्बन गर्ने तथा आफू यौन दुव्र्यवहार र यौन शोषणबाट पीडित भएको खण्डमा सम्बन्धित निकायहरूमा उजुरी गर्ने साहस देखाउने र जनमानसले समाजमा प्रेम, आदर र सहानुभूतिको वातावरण सिर्जना गर्ने हो भने घरबाहिर होस् वा घरभित्र होस्, बलात्कारका घटनामा धेरै कमी आउने पक्का छ। हो, प्रेम, आदर, सहानुभूति (इम्पेथी) सिक्ने–सिकाउने तथा सिर्जना गर्ने सभ्यताको बाटो निश्चितरूपमा गाह्रो र लामो छ, तर असम्भवचाहिँ छैन।