नागरिकप्रति अनुत्तरदायी निर्णय तुरुन्त फिर्ता गर : नेता नेपाल
काठमाडौं : पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित बिरामीको निशुल्क उपचार नगर्ने निर्णय फिर्ता लिन सरकारसँग माग गरेका छन्। मंगलबार एक विज्ञप्ति जारी गर्दै नेता नेपालले उक्त निर्णय अविलम्ब फिर्ता गर्न सरकारसँग माग गरेका हुन्।
नेपालले मुलुक कोरोना महामारीबाट आक्रान्त भइरहेको र बिरामीको संख्या दिनदिनै बढिरहेको बेला सरकारले सबै बिरामीको उपचार गर्न नसक्ने भन्दै पन्छिन खोज्नु गैरजिम्मेवार काम भएको आरोप लगाए।
सरकारको उक्त निर्णयका आधारमा सरकारी अस्पतालहरुले निःशुल्क उपचार बन्द गरेका कारण संक्रमित नागरिकहरु थप मारमा परेको भन्दै यस्तो निर्णय विल्कुल अनुचित भएको उनको भनाइ छ।
'यस्तो महामारीका बेला सबै नागरिकलाई समान रुपमा उपचार गराउनुपर्ने दायित्वबाट सरकार विमुख हुन मिल्दैन । त्यसमा पनि गरीबी, अभाव र बेरोजगारीले पिल्सिएका, बेसहारा तथा आर्थिक रुपमा विपन्न नागरिकको समस्या प्रति सरकार अत्यन्त संवेदनशील हुनुपर्नेमा नहुनु गंभीर विषय हो,' विज्ञप्तिमा उल्लेख छ।
‘संक्रामक रोग सम्बन्धी हाम्रा विद्यमान कानुनी प्रावधानहरुले पनि सरकारलाई यो दायित्व सुम्पिएका छन्, भन्ने कुरालाई ध्यानमा राखी सबै नागरिकको उपचार गर्नु पर्नेमा आम नागरिकमा थप आतंक सिर्जना हुने गरी गरिएको उक्त विभेदकारी, गैरजिम्मेवार र जनताप्रति अनुत्तरदायी निर्णय अविलम्ब फिर्ता लिन म सरकारसँग जोडदार माग गर्दछु,'विज्ञप्तिमा भनिएको छ।