कैलालीमा प्रहरी हत्या : घरेलु हतियार प्रहार भएको खुल्यो, १३ जना पक्राउ
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका-१० स्थित मोहना नदी किनारमा हत्या गरिएका प्रहरीको केराउ (मटर) तस्करले हत्या गरेको खुलेको छ।
कैलालीको जुगेडा अस्थायी प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउदको शनिबार राति हत्या भएको थियो।
असई विकको धनगढी-१० को नेपाल र भारतको सीमाना छुट्याएर बग्ने मोहना नदीको बीचमा आइतबार बिहान शव भेटिएको थियो भने जवान साउदको शव मंगलबार बिहान मात्र भेटिएको छ।
अहिले सीमा क्षेत्रमा भियतनामबाट नेपाल आएका केराउ भारत तस्करी हुने गरेका छन्। भारतमा केराउ (मटर) किलोको भारु ७० (नेपाली ११२) छ तर नेपालमा भियतनामबाट आएको केराउको मूल्य ६५ रुपैयाँ किलो पर्छ। तेस्रो मुलुकबाट आयात गरिएको सामान निर्यात गर्न नपाउने नियम अनुसार प्रहरी सीमा क्षेत्रमा केराउको तस्करी रोक्न गएको थियो।
‘चार डल्लबमा केराउ आइरहेको सूचनाका आधारमा प्रहरी सहायक निरीक्षक विक र जवान शनिबार राति ७ बजे खाना खाएर सीमाना तिर लागे। उनीहरुले तस्करीको सामानका लागि करिब साढे तीन घण्टा ढुकेको देखिन्छ’, कैलालीका प्रहरी प्रवक्ता डीएसपी प्रतिक विष्टले भने।
घटनास्थलमा प्रहरीको स्लिपिङ ब्याग पनि रुखको हाँगामा टांगिएको फेला परेपछि प्रहरीले, दुबैजना तस्करको पर्खाइमा रहेको अनुमान गरिएको छ। प्रहरीले, पक्राउ गरेका १३ मध्ये ७ जनालाई मंगलबार सार्वजनिक गरेको छ। उनीहरुकै बयानका आधारमा मंगलबार घटनास्थल नजिकै मोहना नदीको बीचमा बालुवामा गाडिएको अवस्थामा जवान साउदको शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीले दुबै जना प्रहरीको हत्यामा संलग्न भएको आरोपमा धनगढी १० का ३१ वर्षका पर्कु भनिने रोहित राना, सोही ठाउँका २० वर्षका राजेन्द्र राना, चोर उपनामले चिनिने ३० वर्षका सुरेश राना, गब्बर भनेर चिनिने २५ वर्षका राजकुमार राना, २२ वर्षका राम निवास राना, २९ वर्षका टल्लु भनिने दलराम राना, र २५ वर्षका गोपाल रानालाई मंगलबार सार्वजनिक गरेको छ।
जुगेडा क्षेत्र तस्करीको ट्रान्जिट पोइन्ट हो। दुई महिना अघि सशस्त्र प्रहरीका एक जवान पनि सोही क्षेत्रमा मृत फेला परेका थिए। प्रहरीलाई त्यहाँ तस्करी हुने कुरा थाहा छ तर वडा नम्बर १२ मा रहेको अस्थायी प्रहरी चौकीमा ७ जना मात्र प्रहरीको जनशक्ति खटाइएको छ।
प्रहरीले मंगलबार असई विकसँग रहेको हतियार पनि घटनास्थलबाट फेला परेको जनाएको छ। अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार केराउ भरिएका चार वटा डल्लब बरामद गरेर चौकी ल्याउने बेला घर घरबाट फरुवा बोकेर आएहरुले आक्रमण गरेको खुलेको बताए।
‘फरुवा सहितका घरेलु हतियारको प्रयोग गरिएको छ, घटनामा संलग्न अरु पनि छन्’, उनले भने, ‘उनीहरुको खोजी भइरहेको छ।’