भोकभोकै सकिने भयो दसैं
![भोकभोकै सकिने भयो दसैं](https://annapurnapost.prixacdn.net/media/albums/Dashain-garo_20201021024324_M16U06KiTU.jpg)
विराटनगर : बर्खाको बाढी पसेर डुबाएको थोत्रो घर। बेरा लगाएका टाटी मक्किसकेका छन्। सामान्य पानी पर्दा पनि छानो चुहिन्छ। डुबानको चपेटामा परेर जीर्ण बनेको घरको अगाडि पुर्पुरोमा हात लगाएर टुसुक्क बसिरहेका थिए, विराटनगर महानगरपालिका–१६ दरैयाका चिल्टु ऋषिदेव। परैबाट हेर्दा उनी निकै तनावमा छन् भन्ने प्रष्ट हुन्छ।
ज्याला मजदुरी गरेर परिवार धान्दै आएका उनको कमाइ लगभग आठ महिनादेखि कोरोनाले खोसिदिएको छ। कमाइ नहुँदा परिवार चलाउनै नसक्ने अवस्थामा उनी पुगेका छन्। कुनै काम गर्न आफ्नो जग्गा जमिन छैन। ‘कोरोनाले सबै कामधन्दा चौपट बनाइदियो’, चिल्टु भन्छन्, ‘हामी जस्ता दैनिक मजदुरी गरेर जीवन निर्वाह गर्नेहरूले पेटभरि खान नपाएको कति भयो कति।’ छोराछोरीले भोक लाग्यो भनेर रुँदा खान दिन सक्ने हैसियत आफूसँग नभएको उनको गुनासो छ।
‘जतिबेला कमायो पैसा त्यति बेलै घरमा खर्च भएर सकिन्छ। खाने अन्न नहुँदा दिनरात भोकै बस्नुपर्ने अवस्था छ,’ उनले भने, ‘ यसपालिको दसैं रमाइलोभन्दा भोकभोकै सकिने भयो।’ चिल्टुले चाडपर्वले झन् तनावमाथि तनाव थपिदिएको बताए।
विराटनगर–१६ कै भुवन ऋषिदेवको पनि अवस्था उस्तै छ। मजदुरीबाटै सात जनाको परिवारको जीविका चलाउँदै आएका उनको रोजगारी कोरोनाले गुम्यो। ‘अलिअलि कमाएर जम्मा गरेको पैसा पनि भात खाँदै सकियो’, उनले भने, ‘अब घरघरमा दसैं पसिसक्दा हाम्रो परिवारमा भने भोकको
छटपटी सुरु भएको छ।’ ऐलानी जग्गामा रहेको उनको घर पनि डुबानमा पर्यो। बाढीले घरसहित अन्न र कपडामा पनि क्षति भयो। अहिले घर मर्मत सम्भार गरेर बस्न थालेका छन्। अहिलेसम्म मागेर गुजारा चलाउनुपरेको बताउँदै उनले भने, ‘नानीहरू भोक लाग्यो भन्दै रुँदा मन भक्कानिन्छ। तर, हामी जस्ता गरिबलाई नेताहरूले चुनावका लागि मात्रै प्रयोग गरे, परेका बेला हेर्ने कोही पनि नहुँदोरहेछ।’
कोरोनाका कारण विराटनगर–१९ सुकुम्बासी बस्तीकी पुनम ऋषिदेवको पनि काम ठप्प भयो। उनी ऐलानी जग्गामा छाप्रो बनाएर बसेकी छन्। उनले अर्काको घर सफा गरेर र भाँडा माझेर आएको पैसाले बिहानबेलुका हात मुख जोर्थिन्। ‘दसैंमा मिठो खाने र राम्रो लगाउने सोच सबैको हुन्छ। तर, मेरो परिवारमा भने खान र लाउन समस्या छ’, उनले भनिन्, ‘अहिले कसैले काममा बोलाउँदैनन्। नानीहरूले भोक लाग्योभन्दा मन अमिलो हुन्छ।’
पुनमले नानीहरूले दसैंमा नयाँ लुगा मागेको धेरै भइसके पनि जुटाउने अवस्था नबनेको सुनाइन्। अरू बेलाकोभन्दा राम्रो कमाइ चाडपर्वमा हुने गरेको विगत उनले सम्झिँदै भनिन्, ‘नानीहरूलाई पेटभरि खान दिन पाए हुन्थ्यो। लुगा त थोत्राथाम्राले पनि चल्छ भन्ने लाग्छ।’ ऋण गरेरै अहिलेसम्म दुई छाक धानेको बताउने पुनम अब ऋण दिनेहरूले पनि पत्याउन छाडिसकेको सुनाउँछिन्। अर्काकोमा भाँडा माझेर छोराछोरीलाई खुसी नै राखेको भए पनि यस वर्ष चाडपर्व खल्लो हुने र दसैं भोकभोकै सकिने अवस्था रहेको उनको गुनासो छ।
‘दिनमा एक छाकसम्म पेटभरि खान पाए पनि आफू त चित्त बुझाइन्थ्यो’, स्थानीय सोनाम ऋषिदेवले भनिन्, ‘चाडपर्वमा बालबच्चा पनि भोकभोकै पर्ने भए।’ उनी कामधन्दा नचल्दा ऋण लिने ठाउँ पनि बन्द भइसकेको बताइन्।
यो समयमा कामको चापले फुर्सद नै नहुने विगत सुनाउँदै उनले अहिले भोकै बस्नुपर्ने अवस्था आएको गुनासो पोखिन्। सोनामले भनिन्, ‘नानीहरूले भोक लाग्यो र नयाँ लुगा भनेर रुँदा सम्झाउने कुनै शब्द छैन। राम्ररी दसैं मनाउने त कुरै छाडौं।’ वडा कार्यालयमा राहत माग्न जाँदा गाली खानुपर्ने अवस्था रहेको सोनामको गुनासो छ।
पहिले चाडपर्वको समयमा सबैतिर काम पाइने भए पनि अहिले कोरोनाको डरले कसैले काम नदिँदा पारिवारिक आर्थिक समस्यामाथि पीडा थपिएको विराटनगर–१९ कै बिमला ऋषिदेवको गुनासो छ। ‘कमाइ शून्य भएर संकट परेका बेला चाडपर्व नआए पनि हुन्थ्यो’, उनले भनिन्, ‘कोरोनाले खाने बाटो हराउँदा भोकै परियो। यो कुरा जनप्रतिनिधिलाई भन्यो भने सुन्दैनन्, उल्टै हप्काउँछन्।’ गरिबी सबैभन्दा ठूलो शत्रु भएको बताउँदै बिमलाले यही हविगत हो भने भोकैले मर्नुपर्ने अवस्था आउने सुनाइन्।
अझ आफ्नो जग्गा जमिन नहुने र सुकुम्बासी समस्या भोग्दै जीवन निर्वाह गर्दै आएकाहरू यो बेला बढी तनावमा रहेको उपभोक्ता अधिकारकर्मी उत्तम ढुंगेलले बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)