युरोपमा कोरोना महामारीको अवस्था : नेपाली कति सुरक्षित ?

युरोपमा कोरोना महामारीको अवस्था : नेपाली कति सुरक्षित ?

ब्रसेल्स : कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण संसार नै त्राहीत्राही  बनेको छ । सिंगो युरोप पनि यसबाट आक्रान्त छ ।

युरोपमा गर्मी याम सकिएर चिसो मौसम सुरुभएयता संक्रमण दर ह्वात्तै बढ्न थालेको छ । यसको प्रमुख कारण बिदा मनाएर घर फर्कनु, स्कुल र सार्वजनिक स्थल खुला गरिनु मानिएको छ ।  तथापि विश्लेषकहरूले भनिरहेका छन्,  महामारीले युरोपमा अझै उग्र रुप लिएको छैन ।

कोरोनाको पहिलो लहरमा युरोपले गरेको गल्ती नदोहोर्‍याउन संकल्पसहित संक्रमण नियन्त्रण गर्ने गरी नयाँ प्रोटोकलहरू धमाधम हरेक देशले लागू गरिरहेका छन् । युरोपमा कोरोना संक्रमित संख्या केही हप्ता यता निरन्तर बढिरहँदा विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले समेत चिन्ता व्यक्त गरेको  छ । यस्तो विषम परिस्थितिमा ठूलो संख्यामा युरोपमा बसोबास गर्ने नेपालीहरू पनि असंख्य रूपमा संक्रमित भएको बताइन्छ । तर कति नेपाली यूरोपभर संक्रमित छन् भन्ने यकिन तथ्यांक छैन ।

स्पेनमा सन् १९३०को गृहयुद्दपछि पहिलो पटक आर्थिक मन्दीले छुँदै गएको छ । यो मन्दीले इटाली, ग्रीस, बेल्जियम लगायत अधिकांश देशमा प्रभावित हुनेछ । लाखौँ कामदारहरूले रोजगारी गुमाइसकेका छन् ।

यूरोपियन युनियनको  प्रतिव्यक्ति आय सन् १९६० यता २०१९ सम्म झन्डै २४ हजार छ । सोही अनुपातमा कुल गार्हस्थमा समेत विश्व बैंकको प्रतिबेदनमा गिरावट आउने निश्चित छ । तर यूरोपका केही देशलाई महामारीबाट प्रतिव्यक्ति आयमा खासै असर नपर्ने देखिन्छ।

फ्रान्स :
गत शनिबार एकै दिन मात्र फ्रान्समा ३२ हजार चार सय २८ संक्रमित भएपछि सबैभन्दा बढी भिडभाड हुने राजधानी पेरिसमा तत्कालै रातको ९ बजेदेखि बिहानको ६ बजेसम्म कर्फ्यु आदेश गरिसकेको छ । कर्फ्यु लगातार एक महिनासम्म जारी नै रहने छ । गत मार्चमा भन्दा पनि अक्टोबरमा देखिएको संक्रमित संख्या फ्रान्समा डरलाग्दो भएको डब्ल्युएचओले जनाएको छ । कर्फ्युको नियम उल्लंघन गरी कसैले बाहिर हिँडडुल गरे कारवाहीस्वरुप एक सय ३५ यूरो जरिवाना लाग्ने सरकारले घोषणा गरेको छ  ।

एक हजार बढी लिजियन फ्रान्सेली सेनामा रहेका नौजवान नेपाली सहित अनुमानित ५ देखि ६ हजार नेपाली फ्रान्समा बसोबास गरिरहेको फ्रान्स निवासी पत्रकार अनिष त्रिपाठीले अन्नपूर्णलाई बताए । ६ करोड ५३ लाख जनसंख्या भएको फ्रान्समा ९ लाख ३१ हजार बढी संक्रमित भइसकेका छन् भने साढे ३३ हजारको कोरोनाका कारण निधन भएको छ । 

नेदरल्याण्डमा १४ अक्टोबरबाटै लकडाउन :

आम्सटरडम निवासी नेपाल पत्रकार महासंघ यूरोपका सचिव द्रोण रिजालका अनुसार नेदरल्याण्डमा संक्रमित संख्या दिन प्रति दिन बढिरहेकाले सरकारले १४ अक्टोबरदेखि लागु हुनेगरी सेमी लकडाउन गर्ने निर्णय गर्ने प्रधानमन्त्री मार्क रुट्टेले पत्रकार सम्मेलन गर्दै नयाँ नियमको बारेमा जानकारी गराए ।

यहाँ संक्रमित हुनेको संख्या २ लाख ४४ हजार नाघेको छ भने झन्डै ७ हजारको निधन भइसकेको छ | अत्यावस्यक काम बाहेक बाहिर ननिस्कन आग्रह गर्दै सार्वजनिक स्थल वा यातायातका साधन प्रयोग गर्दा अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरिएको छ |

अन्तर्राष्ट्रिय अदालत रहेको द हेग लगायत सहरमा दुई हजार ५ सय नेपाली रहेको नेदरल्याण्डको जनसंख्या एक करोड ७१ लाख ४६ हजार रहेको छ र धेरै नेपालीहरूले रोजगारी गुमाएको अवस्था छ । ४ हप्ताका लागि होटल, क्याफे र रेस्टुरेण्ट बन्द गर्नुपर्ने तर टेकवे र डेलिभरी खुल्ला गर्न सकिने नयाँ नियम १३ अक्टोबर साँझ १० बजेदेखि लागु हुने र त्यसपछि पनि संक्रमण नियन्त्रण नभए पूरै लकडाउन गर्न सकिने प्रधानमन्त्रीले जानकारी दिए ।

भाइरस नियन्त्रणमा सबैको दायित्व रहेको भन्दै बाहिर ४ जना भन्दा बढीको समूहमा नहिंड्न र सामाजिक दूरी कायम गर्दै मास्कको प्रयोग गर्न आग्रह गर्दै ३० जना भन्दा बढीको सहभगितामा कुनै कार्यक्रम नगर्न भनिएको छ | साथै पसलहरु ८ बजेपछि अनिवार्य बन्द गर्नुपर्ने, अल्कोहलको बिक्री बितरण ८ बजेपछि गर्न नपाइने समेत नयाँ नियममा उल्लेख छ | यो नियम ४ हप्ताको लागि लागु हुने र परिस्थिति अनुसार नियम परिवर्तन गर्न सकिने समेत जानकारी गराइेको छ |

इटाली :
गत आइतबार मात्रै ११ हजार सात सय पाँच व्यक्ति संक्रमित भएको इटालीमा ६ करोड ४३ लाखको बसोबास छ । दोस्रो लहरमा यसरी एकै दिन १० हजार बढी संक्रमित फेला परेको पहिलोपटक हो । इटालीमा कुल चार लाख ३४ हजार ४ सय ४९ व्यक्तिमा कोरोना संक्रमण भएको छ । जसमध्ये ३६ हजार ७ सय भन्दा धेरैले ज्यान गुमाएका छन् । बेलायत बाहेक यूरोपभर निधन हुनेको आंकडा पहिलो स्थानमा रहेको छ ।

यस्तै दुई लाख ५५ हजार व्यक्ति निको भएर घर फर्किएका छन् भने एक लाख ४२ हजारको उपचार भइरहेको छ। महामारीको पहिलो लहरमा इटलीले धेरैपछि मात्र लकडाउन घोषणा गरेको थियो । यसर्थ धेरै संक्रमितको निधन भएको राष्ट्र इटली थियो ।

इटलीले कोरोनाको सुरुमा हल्का रूपमा लिँदा गम्भीर गल्ती भएको महसुश गर्दै प्रधानमन्त्री जिसेप्पे कोन्टेले सार्वजनिक रुपमा देशबासीलाई सम्बोधन गर्दै माफी मागेका थिए । बिगतको गल्तीलाई सच्याउँदै दोस्रो चरणमा इटलीले व्यापक सावधानी अपनाएको छ ।

युरोपमा पहिलो लहरको सुरुवाती दिनमा इटलीको सामूहिक रूपमा मृतकको शव व्यवस्थापन, अत्याधिक बिरामीको चापले अस्पतालको भर्‍याङ, गल्ली जताततै शव र बिरामीको दृश्यहरू संसारै रुवाउने खालको थियो । कारुणिक र भयावह स्थितिमा पुगेको इटालीले कोभिड–१९ माथि लगभग नियन्त्रणमा लिइसकेको छ।

मिलान सहरमा नेपाली पत्रकार विजय भुसालका अनुसार अनुमानित एक हजार ५ सय नेपाली रहेको इटलीमा संक्रमित संख्या बढ्न थालेपछि प्रधानमन्त्री जिसेप्पे कोन्टेले नयाँ नियम लागू भएको घोषणा गरे । लकडाउन नै घोषणा नगरे पनि नयाँ प्रोटोकल लगभग लकडाउन जस्तै भएको उनले बताए । बिहीबारबाट रातको ११ बजेपछि बिहान ५ बजेसम्म कर्फ्यु लगाइएको छ ।

प्रधानमन्त्री कोन्टेले स्थान आवश्यकता अनुसार साँझको समयमा बढी भिडभाड हुने स्थल बार, क्याफे, रेस्टुराँ बन्द गर्न प्रशासनलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री कोन्टेले भने, ‘अब हामी समय खेर फाल्न चाहन्नौँ, बढी संक्रमित भएको स्थान पत्ता लगाइ तत्काल त्यस्ता स्थानमा लकडाउन गर्छौँ ।’

स्वीट्जरल्याण्ड:
संसारकै प्राकृतिक सुन्दरताले पूर्ण र मनमोहक देश स्वीट्जरल्याण्डमा सोमबारदेखि सार्वजनिक स्थलमा १५ जनाभन्दा बढी भेला हुन नपाउने नियम सरकारले लागू गरेको छ । केही समय हेरेर सरकारले लकडाउन गर्ने कि भन्ने विज्ञहरुसँग छलफल चलाइरहेको छ ।

विश्वका विभिन्न संगठनका मुख्यालय रहेको सपनाको देशको रूपमा प्रख्यात स्वीस ८६ लाख जनसंख्या रहेको छ भने नेपालीको उपस्थिति ७ सयको हाराहारीमा रहेको जेनेभा निवासी पत्रकार लक्ष्मण देवकोटाले बताए । 

पोर्चुगलमा ३० हजार नेपाली :
यूरोपमा नेपालीको गन्तब्य बनेको पोर्चुगलले राति ११ बजेपछि भिडभाड नगर्न सूचना जारी गरेको छ । लिस्बोन निवासी पत्रकार राज कुमार थापाका अनुसार ३० हजार बढी नेपाली रहेको पोर्चुगल बेलायतपछि धेरै नेपाली रहेको यूरोपेली मुलुक हो ।

एक करोड १ लाख ८७ हजार जनसंख्या रहेको पोर्चुगलमा गत दिनहरूमा १० जनासम्मको समूह बनाएर बस्न मिल्ने भनिए पनि अब केवल पाँच जनासम्म मात्रै भेला हुन पाउनेछन् । त्यसैगरी विवाह र अन्य उत्सवमा ५० जनाभन्दा बढी संलग्न हुन सक्ने छैनन् ।

यूरोपकै बिदा मनाउने देशको रूपमा परिचित पोर्चुगलमा हिजो मात्रै झन्डै २ हजार नया कोरोना बिरामी देखा परेका छन् । एक लाख ४ हजार संक्रमित छन् भने २२ सय बढीको निधन भइसकेको छ।

चेक रिपब्लिक:
चेक रिपब्लिकमा सरकारले आगामी सोमबार रातिसम्म कति संक्रमित हुन्छन् अवस्था हेरेर उचित निर्णय गरिने बताएको छ । चेक रिपब्लिकमा देशभर पुनः लकडाउन हुने लगभग पक्का जस्तै छ । एक करोड ७ लाख जनसंख्या रहेको यो देशमा एक लाख ८८ हजार बढी संक्रमित छन् ।

जर्मनीमा झन्डै ८० प्रतिशत निको भए :
दिनहुँ कोरोना संक्रमित बढेपछि चान्सलर एन्जेला मर्केलले एउटा विशेष नोटिस जारी गरेकी छन् । मर्केलले आफ्ना नागरिकलाई घरमै बस्न र सकेसम्म घुमफिरमा नजान आग्रह गरेकी छन् । ‘अहिले देशको अवस्था राम्रो छैन, यसकारण तपाईंहरू घरनै सुरक्षित हुनुहुनेछ, यो वेला लामो दूरीको यात्रा जोखिमपूर्ण छ, त्यस्ता स्थानमा जाने तयारी गरेको भए रद्द गर्नुहोस्,’ उनले भनिन् ।

आठ करोड ३८ लाख ६५ हजार नागरिक रहेको जर्मनी  यूरोपियन युनियनको प्रमुख शक्ति राष्ट्रको रूपमा मानिन्छ ।
तीन लाख ८० हजार भन्दा बढी कोरोना पोजेटिभ देखिएको जर्मनीमा झन्डै ३ लाख उपचारपछि घर फर्किए ।

बिगतको विश्वयुद्धमा सक्रिय भएकै कारण अमेरिकापछि ४८ हजार सघन उपचार कक्ष भएको शक्तिशाली मुलुक हुनु नै कोरोना बिरामीका लागि वरदान सावित भयो । सीमावर्ती क्षेत्रका कतिपय अस्पतालहरूमा फ्रान्स, इटलीका कैयौं कोरोना बिरामीहरूको पनि सित्तैमा उपचार गरियो ।

स्पेनमा संकटकाल :
कोरोना महामारीबाट निकै पीडित स्पेनका प्रधानमन्त्री पेद्रो सान्जेजले यसै हप्ता विभिन्न राज्यमा संकटकाल घोषणा गरिसकेका छन् । राजधानी म्याड्रिड बार्सिलोना, क्यातोलोनिया, अलिकंते लगायत वरपरका सहरमा आगामी १५ दिन सम्म संकटकाल जारी रहनेछ । म्याड्रिडमा स्कुल खुला नै रहनेछन् ।

तर १५ दिनसम्म  कोही पनि म्याड्रिडबाट बाहिर जान नपाउने र प्रवेश पनि नपाउने नियम लागू गरिएको छ । रेस्टुरेन्ट, होटेल तथा बार क्याफे राति ११ बजे बन्द गरिसक्नु पर्नेछ ।

फुटबल क्लबले चर्चित बार्सिलोनामा ५ हजार नेपाली बसोबास गर्छन् । तर पूरै स्पेनभरी १०-१२ हजार नेपाली बसोबास गर्ने बताइन्छ । टेक अ वे सेवा मात्र खुला रहेको कारण होटल रेस्टुराँबन्द भएको कारण हजारौँको संख्यामा नेपाली कामविहीन बस्नु परेको छ ।

चार करोड ६७ लाख ६० हजार जनसंख्या भएको स्पेन विश्वभर पाँचौँ उच्च संक्रमित मुलुकको रूपमा छ । अहिलेसम्म १० लाख ३० हजार कोरोना संक्रमित रहेको स्पेनमा इटलीपछि निधन हुनेको संख्या ३४ हजार नाघेको छ । 

पोल्याण्डमा रंगशाला नै  कोरोना अस्पताल :
वार्सा निबासी नेपाल पत्रकार महासंघ युरोपका कार्यकारी सदस्य शेर बहादुर परियारका अनुसार पोल्याण्डमा अनुमानित ४ देखि ५ हजार नेपालीको बसोबास छ । पत्रकार परियारका अनुसार कोरोना भाइरसको महामारीका कारण अस्पताल अपुग भएपछि पोल्याण्ड सरकारले राजधानी वार्सामा राष्ट्रिय रंगशालालाई नै कोरोना विशेष अस्थायी अस्पतालमा रुपान्तरण गरेको छ ।

यो हप्ता सरकारका प्रवक्ता पिओट्र मुलरले दिएको जानकारी अनुसार त्यहाँ झण्डै पाँच सय विरामीलाई पुग्ने कोठा छन् । सो रंगशालामा ५८ हजार ५०० जना दर्शक बस्न मिल्ने क्षमता रहेको  छ ।

तीन करोड ८० लाख जनसंख्या रहेको पोल्याण्डमा अहिलेसम्म कुल संक्रमितको संख्या एक लाख ९२ हजार ५ सय ३९ रहेको छ भने तीन हजार ७ सय २१ जनाको मृत्यु भएको छ । 

बेल्जियममा कोरोना संक्रमणको सुनामी :
‘हामी निकै चिन्तित छौँ, जुन रूपमा संक्रमित बढिरहेका छन्, यसले धेरै गाह्रो बनाउने देखिन्छ,’ बेल्जियमका प्रधानमन्त्री एलेसान्डर डे क्रुले शुक्रबार सुरक्षा परिषद बैठकपछि पत्रकार सम्मेलनमा भने, ‘आउने साता झनै डरलाग्दो हुनसक्छ, सबैले सावधानी अपनाउनुपर्नेछ ।’

यूरोपको राजधानी बेल्जियममा कोरोना भाइरसको संक्रमण सुनामीको गतिमा फैलिरहेको स्वास्थ्य मन्त्री फ्रयान्क भ्यानडेन ब्रउकेले राजधानी ब्रसेल्स र वाल्लोनियामा संक्रमणको अवस्था ‘सुनामी’ जस्तै रहेको बताएका छन्।

मन्त्री फ्रयान्कले ब्रसेल्स र वाल्लोनियामा देखिएको संक्रमणको अवस्था युरोपभरकै खतरनाक रहेको समेत बताए । दुई हप्ता यता लगातार दैनिक औसत १० हजार संक्रमित संख्या बढिरहेको बेल्जियममा एक करोड १६ लाख मात्रै जनसंख्या रहेको छ ।

महामारीबाट सबैभन्दा प्रभावित हुने विश्वभरका १० राष्ट्रहरूमा  बेल्जियम पनि छ। अहिलेसम्म बेल्जियममा  झन्डै २ लाख ४० हजार संक्रमित भएका छन् भने १० हजार ५ सयको निधन भएको छ । २ लाख ८ हजार कोरोना बिरामीको उपचार भइरहेको छ । दुखद पक्ष असंख्य नेपाली कोरोना संक्रमित भएका छन् । निको भएको संख्या न्युन छ ।

बेल्जियममा व्यापक संक्रमण फैलिए पनि रातको १२ बजेदेखि बिहान ५ बजेसम्म सोमबारबाट कर्फ्यु जारी छ । सोमबारबाट सबै क्याफे- बार र रेस्टुरेन्ट एक महिनाका लागि बन्द गर्ने निर्णय गरिएको छ । रातको ८ बजेपछि पूर्ण रूपले मदिरा प्रतिबन्ध गरिएको छ ।

तर टेक अ वे रेस्टुरेन्ट भने खोल्ने वा बन्द गर्ने मालिकलाई स्वनिर्णय गर्ने अधिकार दिइएको छ । धेरै नेपाली यो पेशामा आवद्ध भएकाले उनीहरु प्रभावित हुने आंकलन गरिन्छ । अनुमानित ८-९ हजार नेपाली बसोबास गर्ने बेल्जियममा ८०  प्रतिशत नेपाली रेस्टुरेन्ट होटेल व्यवसायी र सो क्षेत्रको कामदारको रूपमा रहेको छ । हजारौँ नेपालीहरूले रोजगार गुमाएका छन् ।

सरकारले ब्रसेल्स एअरलाइन्सको घाटालाई व्यवस्थापन गर्न २ सय ९० मिलियन युरो उपलब्ध गराएको छ । गत वर्षको तुलनामा राष्ट्रिय बैंकमा १४.५ प्रतिशतले संकुचन आएको छ । सरकारले तलबको ७० प्रतिशत रकम कामदारलाई दिने छ भने एकमुष्ट रकम व्यवसायीलाई दिनेछ । साथै पानी, बिजुली लगायत शुल्कमा अनुदान दिनेछ।

आयरल्याण्ड पुन - लकडाउनमा :
आयरल्याण्डका  प्रधानमन्त्री माईकल मार्टिनले लेभल फ़ाएभ नामक दोस्रो अघोषित लकडाउन सुरु भएको बताएका छन्। देशमा दोस्रोपटक लक डाउन गर्ने  घोषणा गरिएको हो । सोमबार त्यहाँ एक हजार बढीमा कोरोना संक्रमण भएपछी पाँचौँ चरणको  प्रतिबन्धमा सबै पसल, उद्योग-धन्दा, बार, पब रेस्टुरेन्ट बन्द गरिएको छ । तर टेक अवे मात्र संचालन हुने छन्।

आगामी छ हप्तासम्म लकडाउन गर्ने आयरल्याण्ड पहिलो युरोपेली मुलुक बनेको छ। आगामी शुक्रवारदेखि मानिसहरुको भेटघाट हुने स्थानहरुमा नयाँ नियम लागू हुनेछ। संक्रमणको संख्या बढ्दै गइरहेको हुनाले सरकार चिन्तित रहेको कान्सलर कुर्जले भनेका छन् । उनी भन्छन्, यो समस्या अष्ट्रियामा अझै महिनौं चल्नसक्छ ।

अष्ट्रियामा झन् कडाइ :
अष्ट्रियामा अहिलेसम्म ६७ हजारलाई कोरोना पोजेटिभ देखिएकोमा ९सय १४ जनाको मृत्यु भइसकेको छ भने ५१ हजार निको भइसकेका छन् ।

भियना निवासी पत्रकार रविचन्द्र भट्टराईका अनुसार गत मार्चमा भन्दा धेरै मात्रामा दैनिक संक्रमित संख्या बढेको छ । यद्यपि सरकार लकडाउन नगर्ने भन्दै अन्य नियमहरुमा कडाइ गर्दै गएको छ ।

९० लाख मात्र जनसंख्या रहेको सुन्दर मुलुक अष्ट्रियामा अहिलेसम्म १० जनामा सिमित राखिएको रेष्टुरेण्ट अथवा एउटै टेवलमा भेटघाट ६ जनामा झारेका छन् । त्यो टेवल घर बाहिर भए १२ जनासम्म रहन मिल्ने नियम छ । हरेक सम्मेलन घर भित्र अथवा बाहिर, मास्क लगाउन अनिवार्य गरिएको छ । घरबाट काम गर्न मिल्ने कार्यालयहरुलाई त्यसो गर्न निर्देशन गरिएको छ ।

आगामी  हलोइन पार्टीलाई अनुमति नदिने बताइएको छ । बिल्डिङ्ग भित्रका ट्रेन स्टेसनहरुमा पनि मास्क प्रयोग र तोकिएको दूरी कायम गर्नुपर्नेछ । झन्डै २ हजार नेपाली रहेको सो देशमा आजसम्म कुनै नेपाली कोरोना संक्रमित नभएको समेत पत्रकार भट्टराई बताउँछन् ।

नर्वे र फिनल्याण्ड ग्रीन जोनमा :
युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सनले प्रकाशित गरेको तथ्यांकमा उत्तरी युरोपका नर्वे र फिनल्याण्ड मात्र पूर्ण रूपमा कोरोना महामारीमा ग्रीन जोनमा परेको छ ।

ग्रीस इटलीको तल्लो भाग समेत ग्रे जोनमा परेको छ भने सिंगो यूरोपमा लक्जेम्बर्ग, बेलायत, नेदरल्याण्ड, फ्रान्स, बेल्जियम ,स्पेन, चेक रिपब्लिक, हंगेरी क्रोसिया, पोल्याण्ड, रोमानिया र आयरल्याण्ड रेड जोनमा परेका छन् । पोर्चुगल, बुल्गेरिया अर्ध रेड जोनमा रहेका छन् । समग्रमा एलो जोनमा इटाली, ग्रीस, लाटभिया छन् । जर्मनी,अष्ट्रिया, डेनमार्क र स्वीडेन ग्रे अर्थात् खतरामुक्त क्षेत्रमा छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.