बसभित्र मौन बसौं

बसभित्र मौन बसौं

काठमाडौं : सरकारको आग्रहलाई बेवास्ता गरी दसैं मनाउन बस चढेर घर जाँदै हुनुहुन्छ ? त्यसो हो भने स्वास्थ्य सुरक्षाका लागि यी उपाय अपनाउन नबिर्सिनुहोला। बसभित्र फेससिल्ड र मास्क लगाऔं। मौन बसौं। झ्याल खुलै राखौं।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन बसभित्र भौतिक दूरी पालनाको सम्भावना न्यून हुने बताउँछन्। ‘बसभित्र सिटको दूरी निकै कम हुन्छ। त्यसैले मास्क लगाउनुपर्छ। मौन रहनुपर्छ’, डा. पुन भन्छन्, ‘झ्याल खुला राख्दा संक्रमणको जोखिम न्यून हुन्छ।’ नाक र मुखबाट निस्किने छिटा हावामै पनि तैरिन सक्ने भएकाले बसको झ्यालढोका खुलै राख्दा संक्रमणको जोखिम कम हुने डा. पुन बताउँछन्। 

बसभित्र कोचाकोच अवस्थामा बोल्दा थुकका छिटा फैलिन्छन्। झ्याल बन्द राख्दा ती कण बसभित्रै तैरिएर धेरैलाई संक्रमणको जोखिम हुन सक्छ। कोही संक्रमित छ भने उसले दिएको नोटबाटै संक्रमण हुने जोखिम हुन्छ। संक्रमितसँग १५ मिनेट नजिक रहनु पनि कोरोना भाइरस संक्रमणका लागि पर्याप्त हुने विज्ञ बताउँछन्। संक्रमितले बसभित्र बोल्दा, खोक्दा वा हाच्छिउँ गर्दा नाक र मुखबाट निस्कने ससाना छिटाले संक्रमण हुन सक्छ। लामो एवं मध्यम दूरीको यात्रामा एयर कन्डिसनर (एसी) नचलाउन विज्ञको सुझाव छ।

यातायात व्यवस्था विभागले संक्रमणको सम्भावना हुने आकलन गर्दै फेससिल्ड अनिवार्य लगाउनुपर्ने नियम बनाएको छ। फेससिल्ड र मास्क लगाउँदा जोखिम कम हुने विज्ञको भनाइ छ। ‘बसहरू स्यानिटाइज गरेका पनि हुँदैनन्। कोचाकोच यात्रा गराउँछन्। अब यात्रु आफै सचेत हुनु जरुरी छ’, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवाली भन्छन्, ‘मास्क र फेससिल्ड लगाउनुपर्छ। साबुनपानीको व्यवस्था नहुने अवस्थामा स्यानिटाइजरको उपयोग गर्नुपर्छ।’

यात्रा गरेपछि पनि घरभित्र सोझै नपसी लगाएको कपडा बाहिरै राख्न र साबुनपानीले नुहाउन डा. पुन सुझाउँछन्। ‘नजिकै संक्रमित व्यक्ति बसेको छ भने उसको नाक र मुखबाट निस्केका छिटाहरू लुगा वा सिटमा पनि अड्केको हुन सक्छ’, उनी भन्छन्, ‘सरकारको सन्देश पालना गर्दै भरसक अहिले बसैकै ठाउँमा दसैं मनाउँदा राम्रो हुन्छ। यात्रा गर्नुपर्ने अवस्थामा  होसियारी अपनाउनै पर्छ।’

दसैं लागेसँगै जोखिमपूर्ण ढंगले लामो यात्रा गर्नेको लर्को छ। त्यही लर्कोमा संक्रमित पनि हुन सक्छन्। कोरोना संक्रमण भयावह बन्दै गरेको संघीय राजधानीबाटै दसैं मनाउन विभिन्न जिल्ला गइरहेका छन्। 

मन्त्रिपरिषद्को असोज २६ गतेको बैठकले पुरानै भाडा दरमा पूर्ण क्षमतामा यात्रु बोक्न पाउने निर्णय गरेपछि संक्रमणको जोखिम झनै बढेको हो। खर्च नउठ्ने जनाउँदै व्यवसायीले सिट भरेरै यात्रु बोक्न थालेका छन्। त्यसअघि भदौ २९ गतेको मन्त्रिपरिषद्ले आधा सिट क्षमताका सवारी चलाउनुपर्ने र ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने व्यवस्था गरेको थियो।

प्रवक्ता डा. गौतमले लामो यात्रा गरेको व्यक्तिलाई गाउँघरमा देखे सात दिन क्वारेन्टाइनमा राख्नुपर्ने बताए। ‘कोरोना सार्ने सम्भावना भएकोले केहि दिन क्वारेन्टाइनमा राख्न भनिएको हो’, उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.