फेरिँदै जीवनशैली

फेरिँदै जीवनशैली

काठमाडौं : विभिन्न विद्युुतीय सामग्रीले नेपालीको जीवनशैली फेरिन थालेको छ। होम अप्लाइन्सको उत्पादन बढेसँगै अधिकांश नेपालीका घरमा यसको उपयोग बढ्न थालेको छ। 

फ्रिज, टीभी, एसी, भ्याकुुम क्लिनर, वासिङ मेसिन, थर्मस, टिफिन बक्स, खाना पकाउने मेसिन, पानी तताउने किट्लीलगायत इलेक्ट्रोनिक सामानले नेपालीको जीवनमा सहजता ल्याएको हो।

मानिसको दैनिकी पनि सहज बन्दै गएको छ। वैदेशिक रोजगारीबाट फर्केका अधिकांशले टीभीलगायत विभिन्न इलेकट्रोनिक सामान ल्याउने गर्छन्। हालै वैदेशिक रोजगारीबाट फर्केका रोल्पाका ओजबहादुर बुढाले टीभी र पानी तताउने किट्ली लिएर आए। ‘कोभिड–१९ को संकटमा पनि घर आउँदा केही न केही उपहार ल्याउँ भन्ने सोचले टीभी र किट्ली ल्याएको हुँ’, उनले भने। विदेशबाट घर आउँदा प्रायःजसोले केही न केही इलेक्ट्रोनिक वस्तु उपहारस्वरुप ल्याउने गरेका छन्।  

बानेश्वरका सुन्दर शाहले गत वर्ष दसैंमा टीभी किने। यसपाली स्मार्ट फ्रिज किन्ने योजना बनाए पनि कोरोनाका कारण किनिसकेका छैनन्। ‘रहर जागेको छ तर अझै किन्ने योजना बनिसकेको छैन’, उनले भने, ‘केही दिनभित्र फ्रिज ल्याउने योजना छ।’  

आम्दानी र आवश्यकता बढेकाले उनले साधारण फ्रिज हटाएर स्मार्ट फ्रिज किन्ने योजना बनाए पनि विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसका कारण उनले किन्ने योजना पूरा गर्न सकेका छैनन्। 

कलंकी निवासी प्रकाश केसीले यसपालिको दसैंमा भ्याकुुम र वासिङ मेसिन किनेका छन्। कोभिड सहज भएसँगै उनले भ्याकुुम क्लिनर र वासिङ मेसिन किनेका हुन्।  विगतमा उनले टीभी, फ्रिज जोडिसकेका छन्। उनी भन्छन्, ‘होम अप्लाइन्सले जीवन धेरै सहज बनाउँछ, प्रत्येक वर्ष आवश्यकता थपिँदै गएको छ।’

बानेश्वर र कलकींका शाह र केसी मात्र होइन अधिकांश नेपालीलाई अत्यावश्यक बन्न थालेको छ होम अप्लाइन्स। पछिल्लो समय इलेक्ट्रोनिक सामानले सजिलो र सुविधा दिएको छ।  प्रविधिको विकाससँगै नेपालीको आवश्यकता बढ्न थालेको हो। खासगरी सहरी क्षेत्रमा होम अप्लाइन्सको प्रयोग दिनानुुदिन बढ्दै छ। ग्रामीण क्षेत्रमा पनि टीभी र साधारण फ्रिज प्रयोग गर्नेको संख्या पनि उल्लेख्य छ। 

होम अप्लाइन्स मान्छेको दैनिकीसँग प्रत्यक्ष जोडिएको छ। घरमा आवश्यक पर्ने इलेक्ट्रोनिक सामान उपयोग गर्नेको संख्या दिनानुदिन बढ्दै गएको देख्न सकिन्छ। आफ्नो गच्छेअनुसार सामान्यदेखि महँगो पर्ने वस्तु उपयोग गर्ने क्रम सुरु भएको व्यवसायी बताउँछन्। तर, यसपाली विश्वव्यापीरुपमै सहज परिस्थिति छैन। कोरोना भाइरसका कारण मान्छेले चाहेर पनि खरिद गर्न सकिरहेको छैनन्। केहीले भने घरमा काम गर्नेलाई हटाएर इलेक्ट्रोनिक सामानको सहायताले जीवन सहज बनाइरहेका छन्। 

सीजी इलेक्ट्रोनिक ग्रुपका ब्रान्च म्यानेजर कुशलराज गौतमले  विद्युुतीय सामग्री प्रयोग गर्नेको जमात बढ्न थालेको बताउँछन्। नेपालका धेरैजसो घरमा होम अप्लाइन्सका विभिन्न सामान प्रयोग गर्नेको संख्या दिनानुुदिन बढ्दै गएको उनको भनाइ छ। अन्य समयको तुुलनामा दसैंमा करिब ३० प्रतिशत बढी कारोबार हुुने गरे पनि गत वर्षको तुलनामा यसपाली ६० देखि ७० प्रतिशत मात्रै इलेक्ट्रोनिक सामान बिक्री वितरण भइरहेको उनले बताए। ‘वासिङ मेसिन र फ्रिजको माग बढ्दो छ’, उनले भने। गत वर्ष टीभी किनेको मानिसले अर्को वर्ष फ्रिज, वासिङमेसिन, डिसवासर, भ्याकुुम किन्ने गरेको उनको अनुभव छ। 

सीजीले सोरुम र डिलरबाट होम अप्लाइन्सका सामान बिक्री गर्दैैै आएको छ। ‘युट्यब हेरेर मानिसले आफैं खाना पकाउन थालेका छन्’, उनले भने, ‘इलेक्ट्रोनिक सामानको महत्व झन् झन् बढ्दै गएको छ।’ कोरोनाले बिक्रीमा असर गरे पनि इलेक्ट्रोनिक सामान चाहिन्छ भन्ने सोच्न थालेको उनले सुनाए। उपभोक्तालाई ध्यानमा राखेर सीजीले विभिन्न अफर ल्याउने गरेको छ। ‘दसैं चाडपर्व लक्षित गरेर अफर निकालेका छौं’, उनले भने, ‘क्यास ब्याक (डिस्काउन्ट) लगायत उपहार योजना ल्याएका छौं।’ 

बाल्ट्राका मार्केटिङ ब्रान्च म्यानेजर सम्बित सौरभले यसपालीको दसैंमा पनि खासै कम बिक्री नभएको बताए। ‘बिक्रीमा खासै समस्या छैन’, उनले भने, ‘ गत वर्षभन्दा केही कम बिक्री हुनु स्वभाविकै हो।’ ब्रान्ड राम्रो भएकाले नै कोभिडको समयमा पनि होम अप्लाइन्समा किचेनका सामग्री बढी मात्रामा बिक्री भइरहेको उनले सुनाए। 

त्रिपाथी इलेक्ट्रोनिक्सका प्रबन्धक अमिता परियारले कोरोना भाइरस (कोभिड १९) कारण होम अप्लाइन्सको बिक्री वितरण कम भएको बताए । ‘बजारमा मान्छेको फ्लो छैन, त्यसकारण पनि होम अप्लाइन्स बिक्रीमा समस्या भएको छ’, उनले भने।  पानी तताउने किट्ली बिक्री भने ह्वात्तै बढेको उनको अनुभव छ । अरु इलेक्ट्रोनिक्स सामान खासै बिक्री नभए पनि कोभिडले ४० प्रतिशत मात्रै व्यापार व्यवसाय भइरहेको उनले सुनाए । 

होम अप्लाइन्समा सबैभन्दा बढी व्यापार टीभीको हुुने गरेको छ। सामान्य परिवारले समेत टीभी खरिद गर्छन्। सामान्य होस् या स्मार्ट, गाउँ तथा सहरमा अधिकांश घरमा टीभी नपुुगेको भेट्न मुुस्किल पर्छ। पछिल्लो समय टीभीसँगै फ्रिज पनि प्रायः धेरैैको घरमा देखिन थालेको छ। फ्रिज किचेनको आकर्षण र गृहिणीको सहारासमेत बन्न थालेको छ। फ्रिज सामान्य घरदेखि होटललगायत विभिन्न क्षेत्रमा प्रयोग हुँदै आएको छ। 

नेपालमा अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरेर दर्जनौं ब्रान्डका फ्रिज बजारमा छन्। ब्रान्डेड र ननब्रान्डेड उत्पादनको आफ्नै छुट्टै बजार रहेको व्यवसायी बताउँछन्। बिबाहमा दाइजो दिन फ्रिजको खरिद बढी हुुने गरेको पाइन्छ। बिबाहका लागि साधारण र घरायसी प्रयोजन तथा होटलका लागि ब्रान्डेड र राम्रो प्रविधियुुक्त फ्रिज प्रयोग हुने व्यवसायी बताउँछन्।

केही समयअघि साधारण फ्रिज धेरै प्रयोग हुुँदै आएको थियो। सामान्य परिवारले पनि यस्ता खालका फ्रिज प्रयोग गर्न सक्छन्।  पछिल्लो समय स्मार्ट इन्भर्टरसहितका फ्रिज बजारमा आएका छन्। स्मार्ट फ्रिज समयसाक्षेप र प्रविधिको हिसाबले पनि परिस्कृत छन्। साधारण फ्रिजको तुुलनामा स्मार्ट इन्भर्टर फ्रिजले ३० प्रतिशत बिजुुलीको बचत गर्छ। स्मार्ट इन्भर्टर फ्रिजमा राखिएका खाना साधारण फ्रिजमा भन्दा ताजा र लामो समयसम्म रहन्छ। फ्रिज कुुनै समय चिसो बनाउन मात्र प्रयोग गरिन्थ्यो भने अचेल खाना ताजा राखिराख्न पनि प्रयोग हुुन थालको छ। 

बजारमा १३ हजारदेखि साढे चार लाख रुपैयाँसम्मका फ्रिज पाइन्छन्। ९० लिटरदेखि साढे ६ सय लिटरसम्म फ्रिज उपलब्ध छन्। फ्रिजको प्रयोग होटल, पसल, घरका साथै विभिन्न क्षेत्रमा हुुँदै आएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.