बैतडीमा थप सातजनामा कोरोना पुष्टि
बैतडी : बैतडीका थप ७ जनामा कोरोना पुष्टि भएको छ । डडेल्धुरा अस्पातल र जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा भएको परीक्षणमा थप ७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका कोभीड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए ।
डडेल्धुरा अस्पातलको प्रयोगशालामा गरिएको परीक्षणमा पाटन नगरपालिकाका २० वर्षीय एकजना पुरुषमा कोरोना पुष्टि भएको उनले बताए । यस्तै जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा भएको परीक्षणमा दशरथचन्द नगरपालिकाका ४७,३०, २१, २३ र २० वर्षका ५ जना पुरुष र २७ वर्षीया एक महिलामा कोरोना पुष्टि भएको हो ।
बिहीबार थप सातजनामा कोरोना पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या ४६६ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । बिहीबार संक्रमण पुष्टि भएकाहरु घरमै बसिरहेका छन् । पछिल्लो समय विभिन्न ठाउँबाट फर्केर घर आएकाहरुमा संक्रमण देखिएको स्वास्थ्यकर्मीले बताए।
जिल्लामा ४६६ जना संक्रमितमध्ये २६ जना मात्रै सक्रिय संक्रमित रहेका छन् । सबैभन्दा बढी पाटन नगरपालिकामा ८ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै दशरथचन्द नगरपालिकामा ६, मेलौली नगरपालिकामा ४, सुर्नया गाउँपालिकामा ३, डिलाशैनी गाउँपालिकामा २, सिगास, शिवनाथ र पञ्चेश्वर गाउँपालिकामा १/१ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।