सुर्नया गाउँपालिकाको तालाबन्दी अझै खुलेन
बैतडी : बैतडीको सुर्नया गाउँपालिकामा गत असोज २६ गतेदेखि गरिएको तालाबन्दी अझै खुल्न सकेको छैन्। गाउँपालिकाको केन्द्र कठ्यागौैंडमै हुनुपर्ने मागसहित स्थानीयले संघर्ष समिति गठन गरेर गरेको तालाबन्दी अझै खुल्न सकेको छैन्। गाउँपालिकाले गत वर्ष पबिता केन्द्र बनाउने निर्णय गरेपछि असन्तुष्ट बनेका समूहले तालाबन्दी गरेका हुन्।
गत असोज २८ गते मुचुल्का बनाएर ताला खोल्ने क्रममा गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टमाथि नै कुटपिट भएपछि गाउँपालिकाका सबै कामकाज प्रभावित भएका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविन्द्रप्रसाद ओझाले जानकारी दिए । सो दिन गाउँपालिका अध्यक्षसहित १४ जना घाइते भएका र गाउँपालिका अध्यक्ष अझै पनि उपचारमै रहेकाले छलफल नै हुन नपाएको उनले बताए।
सुर्नया गाउँपालिकामा तालाबन्दी भएपछि सेवाग्राही मारमा परेका छन्। गाउँपालिकामा तालाबन्दी हुँदा गाउँपालिकाबाट प्राप्त हुने सेवा पाउन मुस्किल भएको स्थानीयले बताएका छन्। गाउँपालिकामा तालाबन्दी छ।
गाउँपालिकाको केन्द्रका विषयमा वडा नम्बर ५ कै मानिसले लडाईं गरिरहेका छन्। गाउँपालिका ८ वटै वडाको हो भनेर बुझ्नु आवश्यक छ।’ सुर्नया ६ का खेमराज अवस्थीले भने, ‘गाउँपालिकामा तालाबन्दी गरेर नागरिकलाई सास्ती दिनु कदापी ठिक होइन्। माग पूरा गराउन अन्य बाटो खोज्नुपर्छ।’
सुर्नया गाउँपालिकाको केन्द्र सुर्नया ५ कै पबिता राख्ने गरेर गाउँकार्यपालिकाको बैठकले गत पौषमा निर्णय गरेको थियो। अहिले गाउँपालिकाले कठ्यागौंडबाट कार्य सञ्चालन गरिरहेको छ। गाउँपालिकले गरेको निर्णय विरुद्ध असन्तुष्ट समूहले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ। मुद्दा विचाराधिन भएकाले मुद्दा किनारा नलाग्दा सम्म केन्द्र सार्न नपाइने उनीहरुको माग छ।
असन्तुष्ट पक्षले पनि सर्वोच्चले मुद्दा किनारा नलागउँदै गाउँपालिकाको केन्द्र सार्ने चलखेल भएकाले तालाबन्दी गरेको जनाएको छ। यता गाउँपालिका अध्यक्षमाथि कुटपिट गरेको आरोपमा दुईजनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।