सुस्वास्थ्यको शुभकामना

सुस्वास्थ्यको शुभकामना

कोरोना महाव्याधिको आतंकबीच महान चाड दसैं हामीमाझ आएको छ। जीवित अग्रजहरूले समेत सम्भवतः अनुभूत नगरेको खल्लो र अत्यासलाग्दो दसैं मनाउनु पर्दैछ यसपालि। ठूला बडाको आशीर्वादका लागि जमघट र हर्षोल्लास यसपालि हुने छैन। रोग, अभाव, भय र अशान्तिबीच हामीले दसैंलाई स्वागत गर्नु परेको छ। न खुलेर खुसी साटन पाइने, न त यसबाट भाग्न नै मिल्ने। वर्षौंदेखिका दुःख र पीडा बिर्सेर परिवार, आफन्त, नातागोता एकैठाउँ बसी सदभाव, एकता र हार्दिकता साटासाट गर्ने पर्व हो दसैं। कोरोनाले त्यसमै अवरोध सिर्जना गरेको छ।

दसैंले परम्परागत, धार्मिक र सांस्कृतिक मात्र होइन, आर्थिक र सामाजिक महिमा बोकेको छ। एक छाक मिठो खाने र राम्रो लुगा लगाउने मात्र होइन, सिंगो देशलाई एकतावद्ध बनाउने काम पनि दसैंले गर्छ। मान्यजन र ठूला बडाबाट आशीर्वाद थाप्ने र सानाप्रति माया र स्नेह गर्ने पर्व पनि हो दसैं। तर, यतिबेला सिंगो देश कोरोनाले आक्रान्त छ। आर्थिक क्षेत्र जर्जर छ। विकास, निर्माण लगभग ठप्प छ। उद्योग, कलकारखाना प्रभावित छन्। जनता बेखर्ची बनेका छन्।

एकातिर रोगको त्रास, अर्कोतर्फ आर्थिक अभाव। मानव जीवन नै संकटमा पर्ने खतरा देखा पर्दैछ। त्यसैले विगतमा जस्तो रमाइलो गर्नेभन्दा पनि सचेतना र सावधानीमा जोड दिनुपर्ने अवस्था छ। नत्र, एकैछिनको रमाइलो र जमघट नै अभिशाप बन्नेछ। एकसाथ परिवार र आफन्त बसेर खानपिन गर्ने, रमाइलो मनाउने, टीका थाप्ने, जमरा लगाउने र खुसी साटासाट गर्ने विगतको परम्पराभन्दा भिन्न र सुरक्षित दसैं मनाउनु पर्नेछ। तडकभडक भन्दा पनि सरल र सहज दसैं मनाउनेतिर लाग्नुपर्छ। आफन्त र एकाघरका परिवारकै सदस्यसँग सजग र होसियारी अपनाउनु पर्दा पक्कै पनि विगतजस्तो दसैं हर्षोल्लास र आनन्ददायी हुने छैन।

दसैंलाई असत्यमाथि सत्यको जितका रूपमा लिने गरिन्छ। सत्य युगमा भष्मासुर दानवमाथि देवी दुर्गाले विजय हासिल गरेको दिनको स्मरणमा दसैं मनाउने गरिएको प्रौराणिक मान्यता र विश्वास छ। भगवान् रामले रावणमाथि विजय हासिल गरेको पौराणिक मान्यता पनि छन्। यतिबेला मानव जातिको शत्रुका रूपमा कोरोनारूपी भाइरस देखा परेको छ। शक्ति, पैसा, मानव स्रोत, भौतिक विकास र विज्ञानको क्षेत्रमा आफूलाई शक्तिशाली र विकसित ठान्ने मुलुक नै कोरोना नामक अदृश्य शत्रुसँग निरीह देखिएका छन्। यससँग जित्न अनेक प्रयत्न, परीक्षण र अनुसन्धान जारी छन्। त्यसैले विज्ञान र प्रविधिको क्षेत्रमा मानव जातिले मारेको फट्कोका कारण कोरोनामाथि जुनुसुकै बेला पनि जित हासिल हुने विश्वास र आशा भने उत्तिकै छ।

नेपालजस्तो गरिब मुलुकका लागि त यो महामारी झन् ठूलो शत्रु बनेको छ। तैपनि अब कोरोना–कोरोना भन्दै झोक्राएर बसेर हामी समृद्ध हुन सक्दैनौं। विपत्तिलाई अवसरमा बदलेर सफलतामा रूपान्तरण गर्नु अहिलेको चुनौती हो। र, त्यही चुनातीमाझ बडा दसैं मनाउँदैछौं। अब हामीले कोरोनाले जर्जर बनेको मुलुक दसैंपछि तंग्रिने र नागरिकले राहत महसुस गर्ने अवस्था ल्याउनैपर्छ। मुलुकले लामो समय त्रास, डर र अभाव थेग्न सक्दैन। मानव जाति निस्फिक्री नभएसम्म मुलुकले गति पक्रिन सक्दैन। विश्वव्याधि कोरोना शत्रुसँगको लडाइँबाट मुलुकलाई पार लगाई आर्थिक सम्बृद्धि र विकासको अभियानमा अघि बढाउनुछ। दुर्गा भवानीले हामी सबै नेपालीलाई त्यो शक्ति प्रदान गरून्। विजया दशमीको हार्दिक शुभकामना। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.