मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत : निर्देशन मान्न ओली र प्रचण्डका छुट्टाछुट्टै पत्र

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री तथा दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध पेश भएको अविश्वासको प्रस्ताव बहुमतबाट अस्वीकृत गर्ने निर्णय गरेको छ ।
शुक्रबार मुख्यमन्त्री पक्षका बहुमत सांसदको बैठकले यो निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले जानकारी दिए । यो बैठकमा अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सांसद सहभागी भएनन् । प्रस्ताव दर्ताका लागि हस्ताक्षर गरेका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदले साथ दिएपछि मुख्यमन्त्रीको पक्षमा बहुमत जुटेको हो ।
नेकपाका १८ जना सांसदले मुख्यमन्त्रीविरुद्ध असोज २५ गते अविश्वासको प्रस्ताव संसदीय दलमा दर्ता गरेका थिए । मुख्यमन्त्री शाहीले त्यसलगत्तै प्रमुख सचेतक गुलावजंग शाहलाई बर्खास्त गरेर सीता नेपालीलाई नियुक्त गरेका थिए ।
नवनियुक्त प्रमुख सचेतक नेपालीको अध्यक्षतामा बसेको शुक्रबारको बैठकमा १८ जना सांसद सहभागी थिए । प्रदेश सभामा नेकपाका ३३ सांसद छन् । दलको नेता हटाउन वा कायम राख्न कम्तिमा १७ जना सांसद आवश्यक पर्दछ
मुख्यमन्त्रीलाई नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गुलावजंग शाहलाई नै प्रमुख सचेतकमा कायम राख्न निर्देशन दिएका थिए । तर, मुख्यमन्त्री शाहीले त्यसलाई वेवास्ता गर्दै दलको बैठक अगाडि बढाएका हुन् ।
यसले कर्णालीमा नेकपाभित्रको विवाद थप चर्किएको छ । आफूविरुद्धको अविश्वासको प्रस्ताव असफल बनाएका मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपाल पक्षबीच समिकरण बनेसँगै कर्णालीमा प्रधानमन्त्री तथा अध्यक्ष ओली पक्ष कमजोर बनेको छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले कात्तिक ५ गते मुख्यमन्त्री शाहीलाई पत्र लेखेर कर्णालीका प्रदेशसभा सचेतकमाथिको कारबाही फिर्ता गर्न निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनमा प्रदेशसभाका प्रमुख सचेतक गुलाबजंग शाहमाथि गरेको कारबाही फिर्ता गर्न भनिएको छ ।
त्यसैगरी शुक्रबार साँझ नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रको सुझाव कार्यान्वयन गर्न कर्णाली प्रदेश कमिटीलाई निर्देशन दिएका छन् । शुक्रबार पत्र पठाएर प्रचण्डले कर्णाली प्रदेश कमिटीका इन्चार्ज तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई यस्तो निर्देशन दिएका हुन्।
प्रचण्डले मुख्यमन्त्री शाहीसँगै निर्देशनमा सह–इन्चार्ज यमलाल कँडेल, प्रकाश ज्वाला, कालीबहादुर मल्ल र अध्यक्ष गोरखबहादुर बोगटीलाई बोधार्थ लेखेका छन् ।
प्रचण्डको निर्देशनमा कात्तिक ४ गते मंगलबार दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा विवाद समाधानका लागि दिएको सुझाव कार्यान्वयन गर्न भनिएको छ ।
कात्तिक ५ गतेको प्रधानमन्त्रीको पत्र
कात्तिक ७ गते प्रचण्डले पठाएको पत्र
प्रतिक्रिया दिनुहोस !
