जहाँ दसैंमा महिलालाई मन्दिर प्रवेशमा रोक लगाइन्छ

जहाँ दसैंमा महिलालाई मन्दिर प्रवेशमा रोक लगाइन्छ

जनकपुरधाम : ऐतिहासिक नगरी जनकपुरधामको एक यस्तो प्रसिद्ध मन्दिर छ जहाँ घटस्थापनादेखि विजयादशमीसम्म महिलालाई प्रवेशमा रोक लगाइन्छ । सुनेर अचम्म लाग्छ, तर सत्यता यही हो । मन्दिर पूजाआजा तथा भगवानको दर्शन गर्नका लागि बनाइन्छ । मन्दिर भनेकै भक्तजनको अर्को स्वरुप हो तर, जनकपुरको एउटा यस्तो मन्दिर छ जहाँ महिलालाई मन्दिर प्रवेश गर्नै दिँदैन। बाहिरबाटै पूजा गरेर फर्किनुपर्छ।

जनकपुरधाममा नौरथाको प्रारम्भसँगै विभिन्न मठमन्दिर र शक्तिपीठमा विशेष भीड लागेपनि राजदेवी मन्दिरमा भने घटस्थापनादेखि विजयादशमीसम्म महिलालाई दर्शन गर्न निषेध गरिने परम्परा हालसम्म कायमै छ । सो अवधिमा महिलाका लागि मन्दिरको एक झ्याल खुल्ला गरिएको हुन्छ र सोही झ्यालबाट महिलाले पूजाअर्चना गरेर फर्किने गर्छन्।

राजा जनकको कुल देवीको रुपमा पुज्य राजदेवी मन्दिरमा झ्यालबाट मात्र महिलाले दर्शन र पूजा गर्ने प्रावधान छ । पुरुष मन्दिरभित्र प्रवेश गरी पिंढीसम्म पुगी पूजा अर्चना गर्न सक्ने भएपनि दशैंको दश दिनसम्म महिलालाई मन्दिर भित्र प्रवेश दिइँदैन ।

त्रेतायुगमा राजा जनकको कुलदेवीका रुपमा पुजिँदै आएकी राजदेवीको मन्दिरमा परापूर्वकालमा पूजा गर्न एक महिला मन्दिरको भित्री भागमा प्रवेश गरेको र उनी बेपत्ता भएको जनविश्वास रहेकाले सो मन्दिर भित्र महिलाको प्रवेशमा रोक लगाइएको मन्दिरका पूजारी रामगिरीको भनाइ छ । उनले भने, 'आजको २१ औं शताब्दीको युगमा महिलाको पूजा गर्न महिलालाई नै प्रतिबन्ध हुनु दुःखद हो, यसलाई परिमार्जन गर्दै समय सापेक्ष अनुसार लगिनुपर्छ ।'

त्यस्तै रजस्वला भएका महिला पनि पूजाका लागि आउने गरेकाले पनि मन्दिरमा महिलाको प्रवेशमा रोक लगाइएको हो । तान्त्रिक विधिमा पूजा हुने भएकाले पनि महिलालाई मन्दिर माप्रवेश गर्न रोक लगाइएको हुनसक्ने केहीको अनुमान छ । परम्परा छाडेर अहिलेसम्म कुनै पनि महिलाले दशैको अवधिभित्र मन्दिर भित्र पस्ने आँट नगरेको मन्दिरका पूजारी महन्थ रामगिरीले बताए ।

यता यसको रुढिबादी परम्पराको विरोध प्रत्येक वर्ष दशैंको हुने भएपनि मौसमीबाजा जस्तो विरोध हराएर जाने गरेको स्थानीय सञ्चारकर्मी प्रतिभा झा बताउँछिन् । उनले भनिन्, 'आजको २१ औंशताब्दीमा पनि यस्ता अन्धविश्वासको पछि लागेर केही सिमिति व्यक्तिले महिलामाथि विभेद गरेको हो । यस्तो छुवाछुतको अन्त्य गर्नुपर्छ ।'

दसैंमा राममन्दिर र जानकी मन्दिरमा पुजाको विधि विधानमा फेर बदल नभए पनि पुजा गर्ने द्वार र महिलाको प्रवेशमा फरक हुने गरेको छ । दशमी भरि महिलाले भित्र प्रवेश गरी पिंढीमा पूजा गर्न रोक लगाइए पनि दशमीपछि महिलाका लागि समेत बन्देज नरहने महन्तगिरि बताउँछन् ।

यसैबीच परम्परागत मान्यतालाई चुनौती दिनुको कुनै औचित्य नरहेको जनकपुरकी सुमन सिंहले बताइन्। उनी भन्छिन, 'भगवानको पूजा आस्थाले हुन्छ, भित्र प्रवेश गर्नु नै ठूलो विषय होइन । हामीले हाम्रो परापूर्वकालदेखि आएको परम्परालाई अनादर गर्नु कदापि उचित होइन ।'

राजदेवी मन्दिरजस्तै जानकी मन्दिरको गर्भ गृहको मुख्यद्वारसम्म पनि दशमीमा महिलाको प्रवेश निषेध गरिन्छ । जानकी मन्दिरमा महिलाले झुलनोत्सव हुने स्थानबाट मात्र दर्शन पूजा गर्न पाउँछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.