कोरोनाले रोकिएन खःमेय् जात्रा
भक्तपुर : विश्वव्यापी महामारी बनेको कोरोना भाइरस संक्रमणले भक्तपुरको प्रसिद्ध बिस्काजात्रा रोकियो। इन्द्रजात्रासमेत भएन।
वडा दसैंअन्तर्गत घटस्थापनादेखि चल्ने शक्तिपीठमा नवरातसमेत कोरोना भाइरस संक्रमणले रोकियो तर वडा दसैंअन्तर्गत महानवमीको दिन भक्तपुरमा हुने खःमेय् जात्रा भने रोकिएन।
महानवमीको दिन आइतबार महिषासुर राक्षसको प्रतीकको रुपमा भक्तपुरमा खःमेय् जात्रा मनाइएको हो। खःमेय्को वधपछिमात्रै भक्तपुरको ऐतिहासिक नवदुर्गा नाचका देवगणको उत्पत्ति हुने जनश्रुति रहेकाले यो जात्रा नरोकिएको बुझिएको छ।
भक्तपुर नगरपालिका ९ स्थित नवदुर्गा द्योछेंमा पालिएको खःमेय्लाई स्थानीय ब्रह्मायणी पीठमा पु¥याएर आइतबार खःमेय् जात्रा विधिवत सम्पन्न गरिएको हो। यसअघि महानवमीको दिउँसो हुने उक्त जात्रा यस वर्ष बिहान सखारै सम्पन्न गरिएको छ। दिउँसो गरिँदा सर्वसाधारणको भीड थेग्न नसकिने सम्भावनाको कारण बिहानै सखारै जात्रा सम्पन्न गरिएको नवदुर्गा नाच व्यवस्थापन समितिले जनाएको छ।
तैपनि जात्रामा सयौं जात्रालु सहभागी भएका थिए। यो जात्राले मध्य मल्लकालदेखि बढी महत्व पाएको संस्कृतिकर्मीहरु बताउँछन्।
उनीहरुका अनुसार जात्राको खःमेय् निख्खर कालो, मोटोघाटो र जीउमा कुनै घाउ तथा चोटपटक नलागेको हुनुपर्छ। यस्ता गुण भएको खःमेय् श्रावण शुक्ल चतुर्दशी एवं गाथामोगको दिन नवदुर्गा द्योछेंस्थित खःमेय् बाँध्ने किलोमा डोरी बाँधिन्छ। यहीं दिन नवदुर्गा द्योछेंमा महादेवको उत्पत्ति हुने विश्वास रहँदै आएको संस्कृतिकर्मी ओमप्रसाद धौभडेल बताउँछन्।
उनका अनुसार खःमेय् बाँध्ने किलोमा डोरी बाधिएपछि खःमेय्को लागि उपयुक्त राँगोको खोजी हुन्छ। राँगो भेटिएपछि नवदुर्गा द्योछेंकी नकींले लसकुस (स्वागत) गर्दै उक्त किलोको डोरीले बाँधिने उनको भनाइ छ।
द्योछें भित्र्याइएको खःमेय्लाई नकींले नै रेखदेख गर्छिन्। यसक्रममा खःमेय्लाई दिनहुँ तोरीको तेल डल्ने गरिन्छ। मीठोमीठो खानेकुरा खुवाइन्छ। जाँडरक्सीसमेत खुवाइन्छ। जसले गर्दा खःमेय् मोटोघाटो हुनुका साथै उग्र स्वभावको बन्दै आउँछ।
जसले गर्दा दसैंको महानवमीको दिन जात्रा गरिँदा सयौं भक्तजनको भीड छिचोलेर खःमेय्लाई करिब दुई किलोमिटर दौडाएर भक्तपुर नपा ९ स्थित ब्रह्मायणी पीठ पुर्याइन्छ। खःमेयलाई नवदुर्गा द्योछेंबाट गछें, साकोलान, सलाँ गणेश, तचपाल, तौला तुन्ही, तौलाछें, च्याम्हासिंह हुँदै देगइना दौडाएर ब्रह्मायणी पीठ पु¥याइन्छ।
यस वर्ष खःमेय्लाई रक्सीलगायत मादकपदार्थसमेत खुवाइएन।
खःमेय् दौडाउने जात्राको क्रममा हनुमन्ते खोलामाथि बनेको पुलबाट लगिँदैन। सीधै खोलाबाट लगिन्छ। यसबेला भक्तजनहरुले खःमेय्माथि पानी छ्यापाछ्याप गर्छन्। यस कार्यले खःमेय्लाई चोख्याउने काम हुने संस्कृतिकर्मी धौभडेल बताउँछन्।
‘खःमेय्लाई ब्रह्मायणी पीठ लानुअघि शुद्ध स्नान गराएर चोख्याउन हनुमन्ते खोला भएर लगिन्छ’, उनले थपे, ‘यसरी शुद्ध स्नान गराउने बेला भक्तजनहरुबीच एकापसमा पानी छ्यापाछ्याप गर्ने चलन कम रोचक हुँदैन।’
ब्रह्मायणी मन्दिर पुर्याइएको खःमेय्लाई मासाहुती यज्ञको आयोजना गरी वध गरिएको छ। अरु वर्ष दशमी तिथि सुरु भएपछि मात्रै उक्त यज्ञ गरिएको थियो तर यस वर्ष नवमी तिथिमै खःमेय्को वध गरिएको छ।
भक्तपुर तलेजुका रकमी खड्गीहरुले खःमेय्को वध गरेपछि त्यसको रगत नवदुर्गा देवगणले लाउने मुकुन्डोमा चढाएका छन्। यसरी नवदुर्गा देवगणलाई तृप्त गरेपछि बाँकी रगत माटोको भाँडोमा जम्मा गरिन्छ। यसलाई भैलकोंचा भनिन्छ। जुन भैलकोंचा नवदुर्गा द्योछेंमा लगेर राखिन्छ।
खःमेय्को वधसँगै नवदुर्गा देवगणको उत्पत्ति हुने जनविश्वास रहेको छ।
नवदुर्गा द्योछेंबाट निकालिएको खःमेय्लाई ब्रह्मायणी पीठतर्फ दौडाउँदै जात्रालु। तस्बिर : अन्नपूर्ण