यस वर्ष पायो जात्रा तलेजुभित्रै सीमित
भक्तपुर : विश्वव्यापी महामारी बनेको कोरोना भाइरस संक्रमणको कारण यस वर्ष पायो (खड्ग) जात्रा भक्तपुर तलेजुभित्रै सीमित भएको छ। वडा दसैंअन्तर्गत दशमीको दिन राती हुने उक्त जात्रा इतिहासमै पहिलोपटक तलेजुभित्र सीमित भएको हो।
भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले कोरोना भाइरस संक्रमण हुन नदिन यसवर्ष पायो जात्रालाई तलेजुभित्र मात्रै सीमित गरिएको जानकारी दिए।
तलेजुको वडा दसैंको विधिविधानअनुसार तुलजा भवानीको प्रतीकस्वरुप खड्ग तलेजुबाट बाहिर ल्याई भक्तपुर नगर परिक्रमा गराइन्छ। उक्त खड्गसँगै तुलजा भवानीको बाहन सेतो घोडालाई नगर परिक्रमा गराइने उक्त जात्रामा हजारौं भक्तजनहरुको सहभागिता रहेको हुन्थ्यो।
‘जात्रामा सर्वसाधारणको सहभागिता अधिक हुने भएकाले कोरोना भाइरस संक्रमण हुन नदिन यस वर्ष पहिलोपटक पायो जात्रा तलेजु बाहिर गरिएन’, मूल नाइके जोशीले भने, ‘जात्रालाई तलेजुभित्रै सञ्चालन गरेका छौं।’ पायो जात्रामा तलेजुभित्रका राजोपाध्याय पुजारीले जात्राको खड्ग बोक्ने गर्छन्।
चन्द्रमासको गतिअनुसार उक्त पायो जात्रा भक्तपुरको माथिल्लो र तल्लो भेगबाट परिक्रमा गरिने प्रचलन रहेको छ। यसरी निकालिएको पायो जात्राको क्रममा भक्तपुर नपा ५ टौमढीस्थित स्वपुंग भैरवनाथ परिसरमा नवदुर्गा देवगणले पालैपालो तुलजा भवानीको दर्शनभेट हुन्छ। उक्त दर्शन भेटको क्रममा तुलजा भवानीले नवदुर्गा देवगणलाई प्राण सिद्धि प्रदान गर्ने मूल नाइके जोशी बताउँछन्।
‘तर यस वर्ष पायो जात्रा तलेजुभित्रै सीमित भएकाले नवदुर्गा देवगणसमेत भक्तपुर तलेजु पुगेका छन्’, उनले भने, ‘स्वर्णद्वारभित्र रहेको जमदार चोकमा नवदुर्गा देवगणका सदस्यहरुले पालैपालो तुलजा भवानीको दर्शन भेट भएको हो। यहाँ नै तुलजा भवानीबाट नवदुर्गा देवगणले प्राण सिद्धि प्राप्त गरेका हुन्।’
उनका अनुसार तुलजा भवानीलाई दिदी र नवदुर्गा भवानीलाई बहिनीको रुपमा समेत लिइन्छ। साथै तुलजा भवानीलाई नवदुर्गा देवगणको अभिभावक मानिन्छ। त्यसैले नवदुर्गा देवगणले पायोजात्रा हुनुअघि पनि स्वर्णद्वार अगाडि पुगेर तुलजा भवानीको पूजाआजा तथा दर्शन गर्ने प्रचलन रहँदै आएको मूल नाइके जोशी बताउँछन्।
अरु बेला पायो जात्रा तथा नवदुर्गा देवगण र तुलजा भवानीको दर्शन भेट रातीमात्रै हुन्थ्यो तर यस वर्ष कोरोना भाइरस संक्रमण नियन्त्रण एवं व्यवस्थापनको कारण दिउँसै पायो जात्रा र तुलजा भवानी तथा नवदुर्गा देवगणको दर्शनभेट सम्पन्न गरिएको छ।
तलेजुको टीका जमरा ग्रहण
यसैबीच सोमबार भक्तपुर तलेजुका राजोपाध्याय, जोशी तथा कर्माचार्य पुजारी नाइकेसँगै अन्य रकमीहरुले बडा दसैंको टीका, जमरा तथा मोहनी ग्रहण गरेका छन्।
विजया दशमीको टीकाको साइटमै तलेजुका पुजारी नाइके तथा रकमीहरुले दसैंघरको टीका, जमरा र मोहनी ग्रहण गरेको मूल नाइके जोशीले बताए।
उनका अनुसार यस वर्ष भक्तपुर तलेजुमा सर्वसाधारणलाई प्रवेश निषेध गरिएकाले सर्वसाधारणलाई दसैंको टीका, जमरा र मोहनी प्रसादस्वरुपवितरण गरिएन।