जुवा खेलिरहेका पाँचजना नगदसहित पक्राउ
नुवाकोट : चाडपर्वको वहानामा नुवाकोटको पिपलटारमा जुवा खेलिरहेको विशेष सूचनाको आधारमा प्रहरीले बिहीबार एक घरमा छापा मारेको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट गएको टोलीले एक घरमा छापा मार्दा तास खेलिरहेका पाँच जनालाई नगदसहित पक्राउ गरेको हो ।
विदुर नगरपालिका–५ का गोविन्द न्यौपानेको घरबाट तास खेलिरहेका पाँच जनालाई नगद १२ हजार रुपैयाँसहित पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए । उनीहरुलाई नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा स्वास्थ्य परीक्षण गरेर हिरासतमा राखिएको वलीले जानकारी दिए ।
डीएसपी वलीका अनुसार तास खेलिरहेका बेला पक्राउ पर्नेमा घरधनी गोविन्द न्यौपाने, स्थानीय रामबहादुर कुमाल, मुनिराज गजुरेल र श्याम चित्रकार रहेका छन् । उनका अनुसार घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
चाडपर्वको समयमा तास खेलिरहेका विशेष सूचनाका आधारमा प्रहरीले न्यौपानेको घरमा छापा मारेको थियो । डीएसपी हरिबहादुर वलीका अनुसार घरधनी गोविन्द न्यौपानेकी पत्नी वडा सदस्य हुन् ।
न्यौपानेले आफ्नै घरमा लामो समयदेखि तास खेलाउने गरेको भन्दै स्थानीयले प्रहरीमा उजुरी दिएका थिए । पक्राउ परेका जुवाडेहरुलाई जिल्ला प्रहरी कार्यालय विदुर लगिएको छ ।
जुवाडेलाई समात्न गएको प्रहरीको टोलीलाई केही व्यक्तिले अवरोध गरेको प्रहरीले जनाएको छ ।
यसअघि, पनि न्यौपानेको घरमा दुइ वर्ष अघि जुवाडेको टोली पक्राउ परेको स्थानीयको भनाइ छ । सो समयमा विभिन्न पद र शक्तिको आडमा जुवाडेलाई छाडिएको स्थानीयले गुनासो गरेका थिए ।