मुस्कुराएका हिमाल (फोटो फिचर)
पोखरा : बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस।
यी हातले सँधैसँधै नेपाल लेख्न पाइयोस्।
कालीप्रसाद रिजालको शब्द र रामकृष्ण ढकालको स्वर रहेको यो गीत निकै चर्चित छ। पोखरा त्यही सहर हो, जहाँबाट उठ्ने बित्तिकै हिमालको दर्शन गर्न पाइन्छ। यहाँबाट ८ हजार मिटरभन्दा अग्ला तीनवटा हिमाल देखिन्छन्।
अन्नपूर्ण प्रथम, धौलागिरी, मनास्लु हिमाल ८ हजार मिटरभन्दा अग्ला हिमाल हुन्। पोखराबाट हिमालको सजिलै दर्शन गर्ने सबैभन्दा उपयुक्त समय कात्तिक, मंसिर महिना हो। अरु बेला अकलझुकल बादल हटाएर चियाउने हिमाल यी महिनामा कहिलेकाहीँ २४ सै घण्टा पनि मुस्कुराइदिन्छन्।
यति बेला अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरी लगायतका हिमाल २४ सै घण्टा मुस्कुराइरहेका छन्। विगत तीन दिनदेखि बिहान र दिनमा मात्र होइन रातमा चन्द्रमाको प्रकाशमा पनि हिमाल हिरा झै टल्किएका छन्।
पोखरा विश्व पर्यटन बजारमा परिचित भएको पनि यिनै सुन्दर हिमालले गर्दा नै हो। पोखराका घर घरबाटै देखिन्छन् हिमाल। पोखरामा विदेशी पर्यटकको आगमनको वृद्धि भएकै हिमालको कारण हो। फ्रान्सेली नागरिक मौरिस हार्जोग, फ्रान्सकै लुइस लेकेनल सहितको टोलीले सन् १९५० को जुन महिनाको ३ तारिखमा ८ हजार ९१ मिटर उच्च अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेका थिए। विश्वमा ८ हजारभन्दा अग्लो हिमालमा पहिलो पाइला टेक्ने रेकर्ड गण्डकी प्रदेशमा रहेको हिमाल हुन पुगेको थियो।
मौरिसले अन्नपूर्ण प्रथमको सफल आरोहणपछि विश्व पर्यटन बजारनै तरंगित भएको थियो। यहीबाट नेपालका हिमालको बारेमा चर्चा परिचर्चा विश्वमै भयो। मौरिसले आरोहण गरेको हिमाल हेर्न पर्यटक पदयात्रामा आउन थालेका हुन्। यसरी अन्नपूर्ण पदयात्रा मार्गमा वर्षेनी विदेशी पर्यटकको आगमन बढ्दै गयो। यसरी पोखरामा विदेशी पर्यटकको आगमन बढ्दै गएको हो। अन्नपूर्ण प्रथम हिमालको आरोहण भएको तीन वर्षपछि मात्र नेपालका तेन्जि नोर्गे शेर्पा र न्युजिल्याण्डका एडमन्ड हिलारीले विश्वको उच्च शिखर सगरमाथा (८,८४८ मिटर) को सफल आरोहण गरेका थिए। यसैले आरोहणको हिसाबले अन्नपूर्ण प्रथम हिमाललाई जेठो हिमाल पनि भनिन्छ।
यति बेला हिमाल मुस्कुराइ रहेपनि विश्वभर डडेलोको रुपमा फैलिएको कोरोना भाइरसको कारण पर्यटन क्षेत्र भने सुनसान छन्। आन्तरिक पर्यटक केही संख्यामा मर्दी हिमाल, मनाङ क्षेत्रका पदयात्रामा जाने क्रम सुरु भएपनि अन्य पदयात्रा क्षेत्र भने सुनसान छन्। कोरोना कहरमा पोखरेली नै पदयात्रामा निस्कन थालेका छन्। प्याराग्लाइडिङ गर्न पनि थालेका छन्। कोभिडले फुर्सद मिलेपछि पहिलो पटक यसै हप्ता प्याराग्लाइडिङ् गरेको पोखरा -२ मिरुवाका दिपेन्द्रराज रेग्मीले सुनाए। मर्दी हिमालमा आन्तरिक पर्यटकको चहलपहल सुरु भएको अन्नपूर्ण संरक्षण क्षेत्रका सूचना अधिकारी ऋषि बरालले बताए। काठमाडौंलगायत देशका विभिन्न शहरबाट फाट्फुट्ट पर्यटक मर्दी हिमालको पदयात्रा क्षेत्रमा देखिएको हालै त्यस क्षेत्रको पदयात्रा गरेर फर्केका बरालले सुनाए।
सामान्य अवस्थामा अन्नपूर्ण पदयात्रा क्षेत्रको अन्नपूर्ण आधार शिविर, थोरङलापास, मुस्ताङमा स्वदेशी र विदेशी पर्यटकको चापको कारण यति बेला कोठा पाउन पनि मुस्किल पथ्यो। कोरोना भाइरसको कारण यति बेला यी पर्यटकीय स्थलमा जान अझै पनि रोक लगाइएको छ। खुला भएका पनि सुनसान छन्। पोखरामा दसैं, तिहारको छुट्टीमा आन्तरिक पर्यटकको ओइरो लाग्थ्यो। विद्यार्थीहरु शैक्षिक भ्रमणमा आउँथे। विदेशी पर्यटक पदयात्राका लागि आउँथे। कोरोनाले विश्व पर्यटन बजार नै ठप्प छ। यसको प्रभाव नेपालमा नपर्ने कुरै रहेन। कोरोनाले पर्यटन उद्योगमा शुन्यता छाएपनि प्रकृतिले आप्नो सुन्दरता प्रदर्शन गर्न छाड्ने कुरै रहेन।
यसरी मुस्कुरारहेका छन २४ सै घण्टा अन्नपूर्ण, माछापुच्छ्रे हिमाल।