महाकालीको पानी गाउँमा पुगेपछि स्थानीय खुसी
बैतडी : पहिलो पटक महाकाली नदीबाट पानी लिफ्ट सिंचाइ प्रविधिबाट बैतडीको दशरथचन्द नगरपालिका १० तिरखडेनी गाउँमा पुगेपछि स्थानीय खुसी भएका छन्। गाउँमा पानी पुगेपछि बाँझो खेतमा स्थानीयले लटरम्म तरकारी फलाएका छन् ।
दशरथचन्द नगरपालिका–१०, तिरखडेनी गाउँको बाँझो खेतमा सिंचाइ गर्न बिजुलीबाट १० हर्स पावरको मोटर चलाएर तिरखडेनी गाउँमा पानी पुगेको हो । चार इन्च मोटो पोलेथिन पाइपमा महाकाली नदीको पानी गाउँमा पुगेपछि स्थानीयबासी खुसी भएका छन् ।
गाउँमा पानी पुगेपछि आफूलाई निकै खुसी लागेको स्थानीय ७३ वर्षीय मानबहादुर चन्दले बताए । उनले भने, 'पारीपट्टी भारतमा हरियाली खेत हुँदा हाम्रो यता सिंचाइको अभाव जमीन बाँझै रहन्थ्यो । अहिले सिंचाइ योजना बनेपछि धेरै खुसी लागेको छ ।'
गाउँमा मोटरबाट महाकालीको पानी तानेर सिंचाइ हुन थालेपछि आफूहरुले बारीमा तरकारी फलाउन थालेका स्थानीय शान्ति बुडालले बताइन् । उनले भनिन् 'हाम्रो गाउँ तलतिर कलकल महाकाली बगिरहन्थ्यो । त्यो पानी गाउँमा ल्याउन पाए हाम्रो पनि जिविकोपार्जनमा सहयोग पुग्थ्यो भनेर सोच्थ्यौं । अहिले हाम्रो सपना साकार भएको छ । यसले हामी धेरै खुसी भएका छौं ।'
महाकालीबाट पानी तानेर बैतडीमै पहिलो पटक दशरथचन्द नगरपालिकामा सिंचाइ योजना बनेकोमा निकै खुसी लागेको उपप्रमुख मीना चन्दले बताइन् । उनले भनिन् ,' महाकालीबाट लिफ्ट सिंचाइ प्रणाली अन्तर्गत पानी तानेर सिंचाई योजना बनेको नगरपालिकामा यो पहिलो योजना हो । यसले हामी जनप्रतिनिधिहरु पनि खुसी भएका छौं ।'
महाकाली नदीबाट पहिलोबाट पानी तानेर सिँचाई योजना निर्माण गर्न दशरथचन्द नगरपालिका र रुडेस बैतडीको साझेदारी रहेको रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले बताए । उनले भने, 'हामीले तटीय क्षेत्रका नागरिकका समस्याका बारेमा पैरवी गर्ने र उनीहरुका समस्या समाधानका लागि स्थानीय सरकारसँग मिलेर काम गरिरहेका छौं । वर्षौंदेखि सिंचाइको अभावमा बाँझो रहेको खेतमा सिंचाइ हुन थालेको छ । अहिले स्थानीबासीहरु पनि निकै खुसी भएका छन् ।'
७५ मिटर भर्टिकल हाइट र १३ सय मिटर लम्बाई रहेको सिंचाइ योजनाले तिरखडेनी गाउँको १८ सय रोपनी खेतमा सिंचाइ पुगेको रुडेस बैतडीका कार्यक्रम अधिकृत तेजराम लोहारले बताए ।
किसानलाई थप हौसला दिन दशरथचन्द नगरपालिकाले पनि सक्दो सहयोग गर्ने दशरथचन्द नगरपालिकाका उप प्रमुख मीना चन्दले प्रतिबद्धता जनाइन् । उनले भनिन्, 'गाउँमा सिंचाइ योजना पुगेको छ । किसानले व्यवसायिक तरकारी खेती सुरु गर्ने जमर्को गरेका छन् । यसमा नगरपालिकाका तर्फबाट हुने सहयोग हुन्छ ।'