झरनामा सेल्फी खिच्दै जिपलाइनमा सरर....
बेंसीसहर : परिपट्टी सेता हिमाल । तल सुन्दर स्याँगे बजार । झरनाको चिसो सिरेटोसँगै रमणीय दृश्य हेर्दै, सेल्फी खिच्दै जिपलाइनमा हुँइकिनुको छुट्टै मज्जा छ । विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा पर्ने लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ स्याँगेमा निर्माण गरिएको जिपलाइनले आन्तरिक पर्यटकहरुलाई मोहित बनाएको छ । निर्माण सम्पन्न हुनासाथ आन्तरिक पर्यटक भरिन थालेको ४ का अध्यक्ष सुमन गुरुङले बताए ।
साहासिक पर्यटकहरूलाई आकर्षण गर्ने उद्देश्यसहित निर्माण भएको जिपलाइनको औपचारिक सुरुवात भने भएको छैन् । ‘निर्माण सकेर औपचारिक उद्घाटन गर्न पाएकै छैन्’ गुरुङले भने, ‘पर्यटकहरु भने दिनदिनै आउन थाल्नुभएको छ ।'
कोरनाको कहरमा पनि पर्यटकहरु आएको देख्दा भोलीको दिनमा यसले ठूलो सफलता मिल्ने उनले बताए । गुरुङका अनुसार जिपलाइन निर्माणमा ८ लाख रुपैयाँ खर्च भएको छ ।जिपलाइन बनाउन मस्र्याङ्दी गाउँपालिकाले ५ लाख, स्याँगे हाइड्रोपावरले २ लाख र स्थानीयले १ लाख रुपैयाँ बराबरको श्रम गरेका छन् । जिपलाइनको दुरी १ सय ३० मिटर रहेको छ । जिपलाइन चढ्ने यात्रुकालागि विमाको काम सकिएपछि औपचारिक सुरुवात गरिने गुरुङले बताए । सञ्चाक समिति बनाएर टिकट स्टिमबाट सञ्चालन गर्ने उनले बताए ।
जिपलाइन चढ्न आउने पर्यटकहरु स्याँगे झरनासँगै जगतको तातोपानी, अक्टोपस झरनालगायतका मनोरम स्थानमा घुम्न पाउनेछन् । मस्र्याङ्दी गाउँपालिका टेकेपछि पावरहाउस, सुरुङमार्ग, ड्यामसाइड, झरना, पार्क, जिपलाइन आदिको मज्जा लिन सकिने गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए ।
साहसिक पर्यटकहरूका लागि क्यानोइङ स्पोर्टसमेत रहेको स्याँगेमा जिपलाइन निर्माण भएपछि साहसिक पर्यटकको गन्तब्य बन्ने उनले बताए ।सडक सञ्जालले मनाङ जोडिएपछि ओझेल पर्दै गएको अन्नपूर्ण पदमार्गमा यस्ता पर्यटकिय सम्पदाहरुले पदमार्गको साख जोगाउने पर्यटन व्यवसायीहरूले आशा गरेका छन् ।
यसअघि दक्षिण एसियामै पहिलोपटक नेपाल क्यानोनिङ संघले मस्र्याङ्दी गाउँपालिकाको विभिन्न झरनामा क्यानोनिङ महोत्सव गरेको थियो । दर्जनौं उत्कृष्ट झरनाहरू रहेको यहाँ अन्तर्राष्ट्रिय क्यानोनिङ केन्द्र बनाउन सकिने गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले बताए ।