सिन्धुलीमा पहिलोपटक कोरोना संक्रमित एक वृद्धाको मृत्यु
सिन्धुली : सिन्धुलीमा कोरोना भाइरस (कोभिड १९) संक्रमित एक वृद्धाको मृत्यु भएको छ। कोरोना भाइरस संक्रमणबाट सिन्धुलीको कमलामाई नगरपालिका ६ पानीटंकीकी एक ८४ वर्षीया वृद्धा महिलाको मृत्यु भएको हो।
सिन्धुली अस्पतालमा उपचारका क्रममा उनको आइतबार राति मृत्यु भएको जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहले जानकारी दिए। श्वासप्रश्वासमा समस्या भएपछि गत शुक्रबार उपचारका लागि धुलिखेल लगिएको भएपनि उनको त्यहाँ उपचार सम्भव नभएपछि फर्काएर सिन्धुली अस्पतालमै ल्याइएको थियो। ‘उनको अवस्था गम्भीर भएकाले कोरोना चेकजाँच गरिएको थियो। आइतबार साँझ आएको रिपोर्टमा वृद्धालाई कोरोना संक्रमण भएको पुष्टि भएका हो,’ शाहले भने।
उता मृतक महिलाको शव आइतबार मध्येरातिनै व्यवस्थापन गरिएको छ। मृतकको शव सिन्धुलीमा रहेको नेपाली सेनाको वर्दबहादुर गणले कमलामाई नगरपालिका- ७ स्थित गडौली दोभानमा अन्त्येष्टि गरेको हो।
मृतक महिलालाई सिन्धुली अस्पतालको ईमरजेन्सी कक्षमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएपछि सोमबारसम्मका लागि अस्पतालको इमरजेन्सी कक्ष बन्द गरिएको अस्पतालका व्यवस्थापक विमल श्रेष्ठले जानकारी दिए।
३८४४ जनाको पीसीआर परीक्षण, २९१ मा कोरोना संक्रमण पुष्टि
सिन्धुलीमा हालसम्म ३ हजार ८ सय ४४ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिएको छ। त्यसमध्ये २ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ। उनीहरुमध्ये सक्रिय संक्रमित २६ जना छन्।
जिल्लाको कमलामाई नगरपालिका कोरोना संक्रमणमा अत्यन्तै उच्च जोखिममा रहेको नगर हो। कोरोना संक्रमण उच्च रहेका देशका २२ स्थानीय तहमध्ये सिन्धुलीको कमलामाई नगर पनि परेको छ। यस्तै दुधौली नगरसहित सुनकोसी गाउँपालिका र तीनपाटन गाउँपालिका कोरोनाको उच्च जोखिममा छन्।