अस्पतालमै चाड

अस्पतालमै चाड

बुटवल : दसैँको दिन बिहान साइतमै बुटवलकी नर्स लक्ष्मी ज्ञवालीले टीका र जमरा थापिन्। नजिकै सहकर्मी नर्स थिइन्, निधारमा टीका लगाइदिइन्। उनको घर बुटवल–४, लक्ष्मीनगर हो। घर नजिकै भए पनि उनका साथमा परिवारका सदस्य थिएनन्। ‘भिडियो कल’ मै घरमा भइरहेको रमाइलो हेरिन्। आँखामा आँसु टलपल टलपल गरिरहे। मन सम्हालिन्।

‘जीवनमा पहिलो पटक दसैँमा परिवारभन्दा बाहिर बसें’ २७ वर्षीया लक्ष्मीले भनिन्, ‘चाडबाडमा एक्लै हुँदा नरमाइलो हुँदो रहेछ।’ दसैँभन्दा पनि उनका लागि अहिले कोरोना संक्रमित बिरामीको ज्यान महŒवूर्ण छ।

कोरोना अस्पतालको ड्युटी कडा छ। जोखिम उत्तिकै। सुरक्षा उपकरण लगाएपछि कोरोनाबाट त जोगिन्छ। तर, त्यहाँ काम सुरु भएपछि लक्ष्मी परिवारबाट टाढिइन्। तीन वर्षको छोरा घरमै छाडेर उनलाई बुटवलकै एक होटलमा बस्नुपर्छ। त्यसो गर्नु परिवारको सुरक्षाकै लागि हो। सुरुआती जागिरमा दुई साता काम र दुई साता क्वारेन्टाइन थियो। त्यही बीचमा एक पटक घरमा पुगेर छोरासँग रमाउँथिन्। अहिले ड्युटी अवधि तीन साताको भएको छ। लगातार तीन साता काम गरेपछि एक साताको क्वारेन्टाइन, अनि मात्रै घर।

‘अहिले त एक महिनामा मात्रै छोरा र परिवारसँग भेटघाट हुन्छ’, उनले भनिन्। अस्पतालमा बिरामीको सेवा गर्न पाउँदा उनी उत्साहित छन्। परिवारका सदस्यले हौसला थपिरहेका छन्। केही आफन्त भने जागिर छाड्न भन्छन्। तर, उनी महामारीबाट भागेर नभई डटेर मात्रै पार लाग्न सकिनेमा विश्वस्त छिन्। ‘सबै जना भाग्ने हो भने बिरामीलाई कसले हेर्छ’, उनी भन्छिन्। दसैँभन्दा उनी हुरुक्कै हुन्थिन्। यो पटकको दसैँ कोरोना बिरामीकै उपचारमा बित्यो। उनीजस्तै बुटवलको कोरोना अस्पतालमा ३५/३६ जना चिकित्सक/नर्स बिरामीको उपचारमा खटिएका छन्। दसैँमा आधाले विदा लिएर पर्व मनाए। लक्ष्मीको भागमा तिहार मनाउने पालो परेको छ। ‘एउटा चाड त मनाउनुप¥यो भनेर ड्युटी बाँडेर काम गरेका छौं’, उनले भनिन्।

बुटवलको कोरोना विशेष अस्पतालमा दैनिक मृत्यु भइरहेको छ। लक्ष्मीजस्तै धेरै चिकित्सकको मनमा त्रास छ। सुरुमा यस्तो भयावह थिएन। ‘पहिले त मैले घरमा पनि डराउनु पर्दैन, कोरोना केही रहेनछ भनेर भनँे तर अहिले पो बल्ल थाहा भयो। यो त निकै डरलाग्यो भाइरस रहेछ’, उनले थपिन्, ‘मान्छे बोल्दाबोल्दै मृत्युको मुखमा पुगिरहेको देखिरहेका छौं।’

बोलिरहेको मान्छेलाई भेन्टिलेटरमा राख्दा उनलाई नमज्जा लाग्छ। ‘अरू बिरामी त बोलिरहेको अवस्थामा भेन्टिलेटरमा पुग्दैनन् तर कोरोना पोजिटिभ त पुगिरहेका छन्। शरीरमा अक्सिजन  कम भएपछि भेन्टिलेटर नै सहारा छ’, उनले भनिन्। कोरोना विशेष अस्पतालमा जटिल भएपछि आएका बिरामीको मात्रै मृत्यु भएको उनको अनुभव छ। ‘लास्टै भएपछि अस्पताल आउँदा बच्ने सम्भावना कम हुँदो रहेछ’, उनी भन्छिन्।

क्वारेन्टाइन अवधि सकेर महिनाको एक दिन घरमा पुग्दा उनले बाटोमा मास्क नलगाएका मान्छे देख्छिन्। बजारमा चहलपहल। गाडीमा भीडभाड। न मास्क, न सेनिटाइजर। यो देख्दा 

उनलाई रिस उठ्छ। ‘मान्छेले कति लापरबाही गरेका। यिनीहरूलाई मर्ने डर रै’नछ कि क्या हो ?’, उनी सोच्छिन्। 

कोरोना अस्पतालमा सुरक्षा उपकरणको अभाव नभएकाले उनलाई संक्रमण होला भन्ने डर छैन। तर, त्यही अस्पतालमा कार्यरत १४ जना संक्रमित भए। उनीहरू त्यहाँ नभई लुम्बिनी प्रादेशिक अस्पतालमा सुरक्षा उपकरण (पीपीई) बिना काम गर्दा संक्रमित भएका थिए। लक्ष्मी र उनका साथीहरू हरेक समय सतर्क हुन्छन्। आठ घण्टा ड्युटीमा बस्छन्, बिरामीको रेखदेख गर्छन्। त्यसपछि होटलमा बस्छन्। होटलबाट फेरि अस्पताल पुग्छन्। सात महिना भयो, उनीहरू बिरामी बोक्ने एम्बुलेन्सबाटै होटल–अस्पताल गरिरहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.