आएन भत्ता
![आएन भत्ता](https://annapurnapost.prixacdn.net/media/albums/vatte-napaune-ko-photo_20201103020030_AvKIAnj8bN.jpg)
ताप्लेजुङ : पाँचथर याङ्वरक गाउँपालिकाकी दुर्छीमाया बराइली ताप्लेजुङमा गिट्टी कुट्ने काम गर्छिन्। फुङलिङ बजार छेउको सडक किनारमा छोरी र नातिनातिनासहित गिट्टी कुट्नु उनको दैनिकी हो भने गिट्टी बेचेर आउने पैसा र सरकारले दिने सामाजिक सुरक्षा भत्ता गुजारा चलाउने माध्यम। दुवैबाट पैसा नआएपछि परिवारको यस वर्षको दसैं खल्लो बन्यो।
एकातिर सरकारले सामाजिक सुरक्षा भत्ता दिएन अर्कोतिर गिट्टी बिक्री भएन। भत्ता लिन दुई पटकसम्म धाएर पाँचथरको थर्पुसम्म पुगिन्। तर पाइनन्। ‘अरू ठाउँमा दिन थालेपछि म पनि थर्पुमा रहेको बैंकमा गएँ, पछि आउनु भनेर फर्काए’, उनले भनिन्, ‘पहिले वडामै दिन्थे, अहिले दसैंको मुखमा दुई पटक धाउँदा पनि पाइनँ।’ दुई नाति नातिनालाई नयाँ लुगासमेत किनिदिन नसकेको उनले सुनाइन्।
ताप्लेजुङ मिक्वाखोला गाउँपालिका–२ खोक्लिङका १०२ वर्षीय कालीबहादुर सुब्बाले पनि दसैंको मुखमा भत्ता पएनन्। ‘वडाध्यक्ष र सचिवले घरमै ल्याएर दिन्थे,’ सुब्बाले भने, ‘किन हो, यसपालि दिएनन्।’ सरकारले यस वर्षदेखि बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने नियम बनाएपछि धेरै लाभग्राहीले पहिलो चौमासिकको भत्ता पाउन सकेका छैनन्।
स्थानीय तह र बैंकले बैंक खाता व्यवस्थापनमा ढिलाइ गरेपछि लाभग्राहीले पैसा नपाएका हुन्। ताप्लेजुङको मिक्वाखोला, आठराई त्रिवेणी, फक्ताङलुङ र मैवाखोला गाउँपालिकाले दसैंअघि भत्ता नै वितरण गर्न सकेनन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)