भित्तामा भविष्य खोज्दै
स्याङ्जा : दृढ इच्छाशक्ति र परिश्रमले सिर्जनशीलता जन्माउँछ। सोही सिर्जनशीलताले जन्माएको कलाले सोैन्दर्य र मनोरञ्जन भरिदिन्छ भनेझैं पोखरा महानगरपालिका–१४ की ३५ वर्षीया पार्वती अधिकारी (परू)ले फुर्सदको समय सदुपयोग गर्दै भित्ते आर्ट सुरु गरिन्।
उनले छोटो समयमै निकै राम्रा चित्र बनाएकी छन्। लकडाउनअघि खाली रहेका घरका भित्ता र भर्याङ अहिले कलात्मक चित्रले भरिएका छन्। पंखा झुन्ड्याउने ठाउँ होस् वा बिजुलीको बल्ब भएको ठाउँ, सबै उनको कलाले भरिएको छ।
सेता रङ पोतिएका ती भर्याङ र घरको भित्तामा अहिले सूर्योदयदेखि हिमाल र बुद्ध चिनाउने गरी आकर्षक चित्र कोरिएका छन्।
सानै उमेरदेखि कागजका चित्र बनाउने परूले अहिले भित्ते कला (वाल आर्ट) गर्न थालेकी हुन्। वाल आर्ट निकै गाह्रो र चुनौतीपूर्ण काम भएको उनले बताइन्। ‘वाल आर्ट मिलाउन र सेप दिन निकै कठिन हुन्छ, त्यसमा पनि महिलाका लागि गाह्रो काम भएकाले यस क्षेत्रमा महिला निकै कम छन्’, परू भन्छिन्।
घरको मूलढोकाबाट निस्केर भर्याङ चढेपछि देखिने सूर्योदयसँगै रूखका हाँगामा बसेका जोडी र बेजोडी चरा अनि दिन र रातको प्रतीकात्मक चित्र देख्न पाइन्छ। अधिकारीले भनिन्, ‘जसरी सूर्योदयसँगै नयाँ बिहानीको जन्म हुन्छ, त्यसरी नै म पनि वाल आर्टमा आउन चाहेकी हुँ।’
‘दिनभरको थकान र मनभरिको दुःख र व्यथालाई भित्ताका कलाले क्षणभरमै खुसीमा परिणत गरिदिन्छन्’, उनले भनिन्। ‘जहाँ इच्छा त्यहीँ उपाय’ भनेझैं पहिलो वाल आर्ट बनाउँदा बचेका रङ प्रयोग भएका छन्। लकडाउनका बेला पसल बन्द थिए। बजारमा ब्रस किन्न पाइएन। कान सफा गर्ने एअर बड प्रयोग गर्दै सूर्योदयको चित्र बनाएँ। राम्रो प्रतिक्रिया पाएपछि अहिले अरू पनि बनाउन थालेको उनले थपिन्।
विश्वको अग्लो चुचुरो सगरमाथा र शान्तिका दूत गौतम बुद्ध पनि नेपालकै हुन् भनी विश्वसामु चिनाउन दुवैलाई एकै ठाउँमा राखेर चित्र बनाएकी छन् उनले। नेपालको नक्सासहित सगरमाथा र बुद्धलाई अटाएको भित्तेचित्र बनाएको उनको भनाइ छ। उनले बनाएका चित्रमा इनामेल, एक्रेलिक, पानी रङ, मार्कर, स्केल, पेन्सिल, इरेजर र ब्रस प्रयोग भएका छन्। बिहान बेलुका घरधन्दा सकेर ससाना नानीबाबुलाई सुताएपछि उनको भित्तेचित्र लेखन सुरु हुन्छ।
उनले सुरुमा रातमा २/३ घण्टा बसेर चित्र बनाउने गरिन्। पछिल्लोपटक सगरमाथा र गौतम बुद्धको चित्र बनाउन उनलाई झन्डै दुई साता लाग्यो।