कृषि ज्ञान केन्द्रमा कर्मचारी अभाव
परासी : अधिकृत कर्मचारीको कमिका कारण कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । पश्चिम नवलपरासीमा कार्यालय रहेको ज्ञान केन्द्रलाई रुपन्देही जिल्लाको समेत जिम्मेवारी दिइएको छ ।
केन्द्रमा ११ जना अधिकृतको दरबन्दी हो । कार्यालय प्रमुखसहित अहिले ६ जना मात्र छन् । अन्य अधिकृत नहुँदा खाद्यान्न बाली, रोग किरा नियन्त्रण, मौरी पालन, च्याउ खेती, कृषि प्रचार प्रसार र योजनाका काम गर्न समस्या भएको केन्द्र प्रमुख देवेश कुमार मिश्रले बताए । कार्यालयमा बाली विकास अधिकृत, बाली संरक्षण अधिकृत, योजना अधिकृत र कृषि प्रसार अधिकृतको दरबन्दी खाली छ । उ
नीहरु नहुँदा प्राविधिक सहायकबाट काम चलाउनु परेको मिश्रले बताए । योजना अधिकृत नहुँदा कृषिका योजना बनाउ नै समस्या भएको उनको भनाइ छ । केन्द्रले दुई जिल्लामा ब्लक विकास कार्यक्रम, स्मार्ट कृषि गाउँ कार्यक्रम, मिसन कृषि ब्लक कार्यक्रम सञ्चालन गर्दै आएको छ भने किसानहरुका लागि कृषि यन्त्र, औजार, बिउ बिजन वितरण गर्नुका साथै विभिन्न अनुदान उपलब्ध गराउँदै आएको छ ।
‘रुपन्देहीबाट सेवा लिन आउने किसानलाई समस्या भएको छ । कर्मचारी पठाए रुपन्देहीमा सम्पर्क कार्यालय खोल्ने सोँच बनाइएको छ,' मिश्रले भने । कर्मचारीका लागि प्रदेश सरकारसँग माग गरेपनि अहिलेसम्म नपठाएको उनको भनाइ छ ।