सिन्धुलीमा ५० बेडको कोभिड -१९ युनिट अस्पताल सञ्चालनमा (फोटोसहित)
सिन्धुली : सिन्धुलीमा जनस्तरबाटै सहयोग जुटाएर निर्माण गरिएको सुविधा सम्पन्न कोभिड–१९ युनिट (आइसोलेसन) अस्पताल संचालनमा आएको छ । कमलामाई नगरपालिका ६ शिवनगरमा निर्माण गरिएको ५० बेडको कोभिड–१९ युनिट (आइसोलेसन) अस्पताल सोमबार रातीबाट सञ्चालनमा आएको हो ।
केही सरकारी अनुदान बाहेक अधिकांश रकम सहयोग र जनश्रमदानबाटै जुटाएर निर्माण गरिएको अस्पतालमा दुईजना कोरोना भाइरस (कोभिड–१९) संक्रमितलाई भर्नागरेर संचालनमा ल्याइएको सिन्धुली अस्पतालका व्यवस्थाक बिमल श्रेष्ठले जानकारी दिए ।
प्रदेश सरकार स्थानीय राजनीतिक दल, निर्माण व्यवसायी, विभिन्न संघसंस्था तथा व्यक्तिहरुको सक्रियतामा करिब दुई महिनामा निर्माण सम्पन्न गरि त्यसको संचालन जिम्मा सिन्धुली अस्पताललाई दिइएको थियो ।
‘१ करोड २२ लाख ३७ हजार नगद र ४७ लाख रुपैयाँ जिन्सी सहयोग गरी हालसम्म १ करोड ६९ लाख रुपैयाँ खर्च गरेर निर्माण गरिएको उक्त अस्पतालमा आइसियु, भेन्टीलेटर, अक्सिजन प्लान्ट (एचवियू) समेत जडान गरेर संचालनमा ल्याइएको हो,’ श्रेष्ठले भने ।
अस्पतालमा हाल पाँच बेडको आइसियु, २ वेडको भेन्टीलेटर, १२ वेडको एचवियू जडान गरिएको छ । अस्पतालका ५० वटै वेडमा केहीदिनमा अक्सिजन जडान गरिसकिने छ । उक्त अस्पतालमा ३० वेड कोरोना संक्रमितिहरुका लागि २० वेड कोभिडका संकास्पत विरामीको उपचारमा प्रयोग गरिने छ । अस्पतालमा सुरक्षाका लागि कम्पाउण्ड, सिसिक्यामेरा जडान, खानेपानी, शौचालयका साथै वाईफाई, टेलीफोन समेत जडान गरिएको छ ।
‘अस्पतालमा चार जना मेडिकल डक्टर, ६ जना नर्स, ३ जना ल्याब टेक्नीसियन, ३ जना एक्सरे तथा अन्यक कर्मचारीहरु चौविसै घण्टा खटिने व्यवस्था मिलाइएको छ,’ उनले थपे । अस्पताल संचालनमा आएसंगै अव सिन्धुली अस्पतालमा उपचार गराउन आउने ज्वरोका विरामी र कोरोना संक्रमण आशंका गरिएका विरामीहरुको समेत कोभिड–१९ युनिट अस्पतालमै उपचार गरिने छ ।
राजधानी र ठुला सहरबाहेक कोभिडका बिरामीहरुको उपचारका लागि निर्माण गरिएको यो सम्भवत नेपालकै पहिलो र सुविधा सम्पन्न अस्पताल हो । कोभिड–१९ युनिट अस्पताल डब्लुएचओको मापदण्ड अनुसार निर्माण गरिएको प्रदेशसभा सदस्य राजन दाहालको दावी छ ।
उनले भने, 'हामीले पीसीआर परिक्षण, ल्याब, एक्सरेसहित दक्ष चिकित्सक राखेर आइसीयु र भेन्टीलेटरसहितको उपचार गर्नेगरी जनस्तरबाटै सहयोग जुटाएर अस्पताल निर्माण गर्न सफल भएका हौं, सम्भवत यो राजधानी र ठूला सहरबाहेकको पहिलो अस्पताल हुनुपर्दछ।'
कोरोना संक्रमितको संख्या बढ्दै जाँदा जिल्लामा आइसोलेसन वेड अभाव भएपछि नेकपा सिन्धुलीका अध्यक्ष समेत रहेका दाहाललगायत जिल्लाका संसदहरु, राजनीतिक दल, सुरक्षा निकाय, सामाजिक संघ संस्था, ब्यपारी, शिक्षक, व्यवसायीहरु कोभिड अपताल नै निर्माणमा जुटेका थिए ।
दुईवटा बल्कमा निर्माण गरिएको अस्पताल निर्माणले सिन्धुलीका अलवा महोत्तरी, उदयपुर, रामेछापका कोरोना संक्रमित विरामहीहरुको समेत उपचारमा सहयोग पुग्ने अस्पताल निर्माण समितिका अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका सभापति अशोक श्रेष्ठको भनाइ छ ।
श्रेष्ठका अनुसार अस्पताल निर्माणमा बागमती प्रदेश सरकारबाट ९७ लाख रुपैयाँ, जिल्लाका स्थानीय तह, संघ संस्था र व्यक्तिबाट २ करोड २१ लाख ३ हजार १ सय रुपैयाँ र ४७ लाख रुपैयाँ बराबरको रर्ड, सिमेन्ट, इट्टा, ढुङ्गा, बालुवा लगायतका निर्माण समाग्री सहयोग प्राप्त भएको छ ।
'उक्त रकममध्ये अस्पताल निर्माणमा अक्सिजन प्लान्ट जडान बाहेक हालसम्म १ करोड २२ लाख बढी नगद र ४७ लाख रुपैयाँ बराबरको प्राप्त जिन्सी सामाग्री खर्च भएको छ । हामीसँग ७० लाख रुपैयाँ बैंकमा नगद नै बाँकी छ,’ उनले भने ।